काठमाडौं- जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ।
सोमबार बिहान ८:४५ बजेदेखि आज बिहान ८:४५ बजेसम्म ३३५ वटा वर्षा मापन केन्द्रहरु (मानव सञ्चालितः ४५ र स्वचालितः २९०) मा वर्षा मापन गरिएको छ। जसअनुसार गत २४ घण्टामा २४३ वटा केन्द्रमा वर्षा भएको छ।
केन्द्रहरूमध्ये सबैभन्दा बढी वर्षा (३१९.८ मि मि) चितवन जिल्लाको नारायणी फिल्ड अफिस केन्द्रमा मापन भएको छ। सोही केन्द्रका आसपासका तीन वटा केन्द्रहरूमा २०० मिमीभन्दा बढी वर्षा भएको छ भने देशभरि १०० मिमीभन्दा बढी वर्षा २३ वटा केन्द्रहरूमा भएको छ।
विपद् व्यवस्थापनविद् उज्ज्वल उपाध्यायले सोमबार रातिदेखि न्यूनचापीय रेखा मध्य तथा पूर्वी तराईतर्फ सर्दै गरेको जानकारी दिए। काठमाडौँलगायत अन्य क्षेत्रमा भइरहेको लगातारको झरी सोमबार रातिदेखि रोकिएको र आजको मौसम सोमबारभन्दा केही घमाइलो र तातो हुने उनको भनाइ छ । उपाध्ययका अनुसार सप्तकोशी तथा नारायणी नदी वरिपरि डुबानको जोखिम आज मध्याह्नसम्म रहने छ।
विभागका अनुसार अहिले चितवन भरतपुर आसपासका क्षेत्रहरु डुबानमा परेको छ।