काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ। जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र रु ४० हजार जरिवाना तोकेको हो।
न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र रु २० हजार जरिवाना तोकेको छ। उनीहरुलाई सरकारी लिखत कृते कसुर, ठगी र सङ्गठितमा सो सजाय तोकिएको हो।
सोही मुद्दामा सरकारी लिखत कृते कसुर, ठगी र सङ्गठित अपराधमा टेकनाथ रिजलालाई दुई वर्ष कैद र रु २० हजार जरिवाना तोकिएको छ। यस्तै केशवप्रसाद दुलाल, ज्ञानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङदेवा शेर्मा र टङ्क नारायाण पाण्डेलाई चार वर्ष कैद तथा रु ४० हजार जरिवाना तोकिएको छ।
यसैगरी शमशेर मिया, हरिभक्त महर्जन, नीरञ्जनकुमार खरेल र नरेन्द्र केसीलाई एक वर्ष कैद र रु १० हजार जरिवाना तोकिएको छ।
को–को भए दोषी ठहर ?
अदालतले यस प्रकरणमा मुख्य योजनाकार र मतियारका रूपमा रहेका व्यक्तिहरूलाई फरक–फरक कसुरमा दोषी ठहर गरेको छ:
१. टोपबहादुर रायमाझी (पूर्व उपप्रधानमन्त्री) : सङ्गठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
२. बालकृष्ण खाण (पूर्व गृहमन्त्री) : सङ्गठित अपराधको ‘मतियार’ का रूपमा दोषी ठहर।
३. टेकनारायण पाण्डे (पूर्व गृहसचिव) : सरकारी लिखत किर्ते, सङ्गठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
४. इन्द्रजित राई (तत्कालीन गृहमन्त्री बादलका सल्लाहकार) : सङ्गठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
५. केशव प्रसाद दुलाल (बिचौलिया) : मुख्य योजनाकारको रूपमा ठगी, किर्ते र सङ्गठित अपराधमा दोषी।
६. टेकनाथ रिजाल (शरणार्थी नेता) : किर्ते र सङ्गठित अपराधको मतियारका रूपमा दोषी ठहर।
७. आङटावा शेर्पा :सङ्गठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
८. सानु भण्डारी : किर्ते, सङ्गठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
९. बेचन झा : ठगी
१०. निरञ्जन कुमार खरेल : ठगी तथा सङ्गठित अपराध मतियारका रूपमा
११. हरिभक्त महर्जन : ठगी तथा सङ्गठित अपराध मतियारका रूपमा
१२. नरेन्द्र केसी : ठगी, सङ्गठित अपराध (मतियार)
१३. शमशेर मियाँ : ठगी, सङ्गठित अपराध (मतियार)
१४. सन्देश शर्मा : सङ्गठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
१५. सागर राई : सङ्गठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर).
१६. गोविन्द चौधरी : सङ्गठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
१७. सानु भण्डारी (बिचौलिया): मुख्य योजनाकारको रूपमा ठगी, किर्ते र सङ्गठित अपराधमा दोषी।
सफाइ पाउनेहरू
अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै टोपबहादुर रायमाझीका छोरा सन्दिप, रामबहादुर थापाका छोरा प्रतीक थापा, रामशरण केसी, टंककुमार गुरुङ, लक्ष्मी महर्जन, केशव तुलाधर र आशीष बुढाथोकीसमेत ७ जनालाई सफाइ दिएको छ।
यस मुद्दामा फरार रहेका अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाईं, निरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावेदेन लिम्बु र सुनील बुढाथोकीको हकमा मुद्दा ‘मुलतवी’ (थाँती) मा राख्ने आदेश भएको छ। दोषी ठहर भएका प्रतिवादीहरूलाई हुने कैद तथा जरिवाना सजाय निर्धारण भने आगामी असार २९ गते हुने गरी तोकिएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने नाममा राज्यका संयन्त्र र उच्च पदस्थ व्यक्तिहरूको मिलेमतोमा सरकारी लिखत कीर्ते गरिएको र अन्तर्राष्ट्रिय छविमा आँच पुऱ्याइएको फैसलामा उल्लेख छ।