दक्षिण एसियामा एउटा सुन्दर खेल छ, कबड्डी। दुई टिममा बाँडिएका छन्, सात–सात खेलाडी। अनि बीचमा एउटा रेखा हुन्छ। एउटा टिमको खेलाडी त्यही रेखा नाघेर ‘कबड्डी-कबड्डी-कबड्डी’ भन्दै विपक्षीको मैदानमा पुग्छ। विपक्षीका खेलाडीलाई ऊ छोएर फर्किन खोज्छ, विपक्षी उसलाई पक्रन खोज्छन्।
जसरी अर्काको एरियाभित्र छिरेर जतिसक्दो धेरै उसका सदस्यलाई छोएर ‘आउट’ गर्न खोज्नु एउटा खेलाडीको रणनीति हुन्छ, उति नै आफ्नो एरियामा छिर्नेलाई रोक्न खोज्नेको हुन्छ। एउटाले छुन खोज्नु, अर्को पकड्न, यही नै ‘कबड्डी’को सौन्दर्य हो। यहाँ यसरी जसले बढी अंक जोड्न सक्छ, खेल उसैले जित्छ।
निर्देशक रामबाबु गुरुङ नेपाली फिल्मका यस्तै एक खेलाडी हुन्, जो चौथोपटक दर्शकसँग कबड्डी खेलिरहेका छन्। तर, विडम्बना उही पुरानै रणनितीसहित।
एकछिन सोचौँ त, कोही खेलाडी विपक्षीलाई पछार्न सधैँ उही रणनिती बनाउँछ भने खेलको परिणाम के आउँला?
पक्कै उसले हार्छ। यद्यपि कहिलेकाहीँ अपवादमा टिमले जित्न पनि सक्छ तर त्यो खेलाडीले नि? पक्कै उसले जितेको महसुस गर्दैन।
‘कबड्डी–४’ हेरेपछि लाग्यो, यो रामबाबुले दर्शकसँग खेलेको यस्तै एउटा फिल्म हो, जहाँ सिक्वेलले त जित्यो होला तर सर्जकले हारेका छन्। अर्थात्, बक्सअफिसमा पैसा त थुप्रियो होला तर नेपाली फिल्मको सिर्जनात्मक श्रीवृद्धिमा योगदान गर्न सकेन।
‘कबड्डी’ चौथो सिक्वेलसम्म आइपुग्दा निर्देशक रामबाबु गुरुङले यो फिल्मबाट पैसाबाहेक प्राप्त गरेका अर्को ठूलो सफलता के हो?
सायद यो फिल्मको प्रमुख पात्र वीरकाजी (दयाहाङ राई)प्रति बटुल्न सकिएको बलियो सहानुभुति नै हो। हरेक भागमा काजीको बिहेको कबड्डी चलिरह्यो तर उनले मनपराएका सोल्टिनीहरु सधैँ अर्कैसँग भागिरहे। तैपनि काजीप्रति दर्शकको सहानुभुति घटेन। बरु हरेक भागमा काजीको बिहे सोल्टिनीसँग भएको देख्न चाहिरहे।
‘कबड्डी–४’ हेरेपछि लाग्यो, यो रामबाबुले दर्शकसँग खेलेको यस्तै एउटा फिल्म हो, जहाँ सिक्वेलले त जित्यो होला तर सर्जकले हारेका छन्। अर्थात्, बक्सअफिसमा पैसा त थुप्रियो होला तर नेपाली फिल्मको सिर्जनात्मक श्रीवृद्धिमा योगदान गर्न सकेन।
तर निर्देशक गुरुङले यही सहानुभूतिलाई दर्शकको कमजोरी ठाने। यसैलाई फिल्म चलाउने बलियो अस्त्र बनाए। परिणाम हाम्रैसामु छ, कबड्डी १, २, ३ हुँदै ‘कबड्डी–४’।
यो पटक पनि दर्शक हलमा जानुको मुल अपेक्षा उही हो– काजीको बिहे।
फाइनल म्याच भनिएको यो कबड्डीमा काजीको बिहे हुन्छ/हुँदन, त्यो त यहाँ नभनौं। तर, यत्ति भन्न सकिन्छ, ‘यसपटक वीरकाजीप्रति सहानुभुति राख्ने दर्शक पक्कै निराश हुनुपर्दैन।’
‘कबड्डी–४’ को क्लाइमेक्समा कुनै सरप्राइज छैन, दर्शकले सहजै अनुमान गर्न सक्छन्।
संसारभर सिक्वेलको सबैभन्दा ठूलो समस्या भनेको पहिलो फिल्मकै कथानकको नक्कल गर्न खोज्नु हो। र, ‘कबड्डी–४’ सम्म आइपुग्दा पनि रामबाबु यो धङधङीबाट मुक्त देखिएनन्।
‘कबड्डी’को पहिलो सिरिज ल्याउँदा समीक्षकदेखि दर्शक सबैले रामबाबुको खुब प्रशंसा गरेका थिए। किनभने परम्परागत कथ्यशैलीको ‘ह्याङ’मा रमाइरहेको नेपाली फिल्मलाई त्यतिबेला उनले मुस्ताङको सेटिङमा उनेर मौलिक स्वादको फिल्म दिएका थिए।
वीरकाजीको मण्डपबाट बेहुली भागेको दृश्यसँगै यो फिल्मको सुरुवात हुन्छ। पटकपटक आफूले रोजेको सोल्टिनी अर्कैले भगाएपछि वीरकाजी प्रेमसँग थाक्छन्।
थकाली संस्कार र परिवेश, फूपुचेला मामाचेली सम्बन्ध, काजी– मैयाँ दौडधुपले ‘कबड्डी’को पहिलो संस्करणलाई साँच्चै रैथाने आभाष गराएको थियो। दर्शकलाई नयाँ र फरक लागेको थियो। त्यसपछि प्रेममा राजनीति घुसाएर दोश्रो संस्करण ल्याए तर पहिलेभन्दा कमजोर देखियो। तैपनि बक्सअफिसमा व्यापार नघटेपछि सिक्वेलैपिच्छे नयाँ नयाँ सोल्टिनी थपेर उनले सिक्वेल बनाइरहे। तर दर्शकलाई सोल्टिनीबाहेक अर्को नयाँ केही दिन सकेनन्।
यसपटक पनि नयाँ भनेको सोल्टिनी नै हुन्, मास्टर्नी शान्ति (मिरुना मगर)। वीरकाजीको मण्डपबाट बेहुली भागेको दृश्यसँगै यो फिल्मको सुरुवात हुन्छ। पटक पटक आफूले रोजेको सोल्टिनी अर्कैले भगाएपछि वीरकाजी प्रेमसँग थाक्छन्। विरक्तिएर उनी घर छाडेर भिक्षु बन्न जान्छन्। केटीप्रतिको आशक्ति पुरै हट्छ। माछामासु, मद्यपानसँगै झैझगडा सबै त्याग्छन्।
यही क्रममा ठोक्किन आइपुग्छिन्, नयाँ सोल्टिनी। त्यो पनि काजी व्यवस्थापन समितीको अध्यक्ष रहेको विद्यालयमा ‘मास्टर्नी’ बनेर। तर यसपटक काजी होइन, सोल्टिनी उनको पछि लाग्छिन्। अनि सोल्टिनीको पछि बमकाजी। जो शहरबाट भर्खरै मास्टर्स गरेर फर्किएका छन्। एकातिर छन्, बिहे नै नगर्ने निष्कर्षमा पुगेका काजी। अर्कातिर सोल्टिनीलाई पाउन मरिहत्ते गर्ने बमकाजी। यो अवस्थामा सोल्टिनी कसकी हुन्छिन्, यही नै यो फिल्मको कथा हो।
पटकथा कमजोर हुँदा फिल्ममा न नयाँपन छ, न रोमाञ्चकता। उही पहिलेझै संवादको आडमा दर्शक हसाएर कमजोरी ढाक्न खोजिएको छ। कबड्डीको दोस्रो सिरिजमा आफ्नै दाइले मनपराएको सोल्टिनीलाई भगाउने बमकाजीलाई वीरकाजीले सहजै जागिर दिनुपनि विश्वसनिय लाग्दैन। त्यस्तै झाक्रीलाई कथाको आवश्यकताभन्दा बढी स्थान दिइएको छ। सिन लम्ब्याउने नाममै उनलाई मुखियाको घरमा जर्बजस्ती रहन बाध्य पारिन्छ।
सिक्वेलसँगै समय परिवर्तन देखाउन निर्देशकले पात्रहरुलाई गाडी त चढाएका छन्, फोन पेबाट बिल त तिराएका छन् तर प्रेम प्रस्तावका लागि चाँहि उही परम्परागत शैलीमा ‘लभ लेटर’ नै लेखाएका छन्। फोन-पे पुगेको गाउँमा सोसियल मिडिया कसरी पुगेन होला, यो देख्दा सोच्न बाध्य बनाउँछ।
समग्र सिक्वेलकै समीक्षा गर्दा चाँहि ‘क्यारेक्टर आर्क’ निर्माण गर्न रामबाबु केही हदसम्म सफल देखिन्छन्।
उही डाँडापाखाको सेटिङ, उही पात्रहरु, उही कथ्य शैली, खासमा केही नयाँ छैन फिल्ममा। दुःखको कुरा त चौथो सिक्वेलसम्म आउँदा पनि यो थकाली समाजमा महिलाहरु सधैँ कमजोर नै देखिए। पुरुषहरुका लागि उनीहरु बिहे र प्रेमको ‘वस्तु’मात्रै भए। उनीहरु मास्टर्नी त भए तर बाटैमा छोपेर गरिने ‘अपहरण विवाह’ पनि संस्कार सम्झेर चुपचाप सहन बाध्य भए। ‘हिरो’ स्टाइलमा कसैले बचाउन आउनुलाई त प्रतिकार गरेको भन्नै मिलेन।
यो फिल्ममा ‘केशरी’ गीतको प्रयोग चाँहि कथाको मर्मअनुसार नै छ। भनिन्छ, सिक्वेल फिल्ममा ‘क्यारेक्टर आर्क’को महत्वपूर्ण भूमिका रहन्छ। पात्रहरुमा पैदा हुने परिवर्तन, द्वन्द्व र रोमाञ्चकताले फिल्मलाई बलियो बनाउँछ। समग्र सिक्वेलकै समीक्षा गर्दा चाँहि ‘क्यारेक्टर आर्क’ निर्माण गर्न रामबाबु केही हदसम्म सफल देखिन्छन्। कुनैबेला घरभित्र पस्न नपाउने विके (विजय बराल) चौथो सिक्वेलसम्म आइपुग्दा मुखियाको चुल्होसम्म पुगेको छ। कुनैबेला सोल्टिनी भनेपछि मरिहत्ते गर्ने काजी अहिले साधु भएको छ। समग्र सिक्वेललाई हेर्दा योचाँही राम्रै पक्ष हो।
हुन त रामबाबुका अधिकांशका फिल्ममा दयाहाङको अभिनय र चरित्रचत्रण उस्तै उस्तै लाग्छ। चाहे त्यो ‘मिस्टर झोले’, ‘साँइली’ या ‘पुरानो डुङ्गा’ नै किन नहोस्। तर, अरु फिल्मलाई बिर्सने हो भने दयाहाङ ‘कबड्डी’ को यो सिरिजसम्म आइपुग्दा आफूलाई अभिनयमा कायम राख्न सफल छन्। पहिलेझै वीरकाजीमार्फत ‘ह्युमर’ सिर्जना गरेर दर्शक हँसाउन सकेका छन्।
प्रायः सिनेमाको पर्दामा बलियो देखिने सौगात मल्ल यो सिनेमामा भने नाटकको स्टेजमा झै ‘लाउड’ देखिएका छन्। यतिबेला समीक्षक नविन सुब्बाको भनाइ सम्झिन मन लाग्छ, ‘नाटक र सिनेमाबीचको अभिनय फरक हुन्छ। तर, नाटकबाट आएका कलाकारले यो भिन्नता ठम्याउन नसकेर फिल्मलाई बिगारिरहेका छन्।’ मास्टर्नी सोल्टिनी बनेकी मिरुना मगरले आफ्नो पात्रमा इमान्दार प्रयत्न गरेकी छन्। गौमाया गुरुङले निभाएको भट्टी पसल्नीको पात्रलाई पनि दर्शकले ‘इन्जोय’ गर्छन्। विजय बराल र बुद्धि तामाङको अभिनय उही अघिल्ला सिरिजको जस्तै हो।
सधैँ फिल्म समीक्षा गर्दा अन्त्यमा दर्शकलाई केही भन्न मन लाग्छ। यसपटक भने फिल्मकर्मीलाई भन्न मन लाग्यो, ‘के तपाई फिल्मकर्मी हो र पैसा कमाउन चाहनुहुन्छ? त्यसोभए सिक्वेल बनाउनुस्। तर, यदि तपाई त्यस्तो फिल्मकर्मी जो दर्शकलाई सुन्दर सिर्जना दिन चाहनुहुन्छ, त्यसोभएचाँही ओरिजिनल फिल्म नै बनाउनुस्।