शीतल गिरी लेखक र अनुसन्धाता हुन् । गहन पुस्तक पढ्न र गहन विषयमा कलम चलाउन रुचाउँछन् उनी । प्रागइतिहास, दर्शन र संस्कृतिमाथि लेख्न पनि रुचाउँछन् । उनका एकल र सहलेखन गरेर हालसम्म आठ वटा कृति प्रकाशन भएका छन् । ‘तपोधन’ उपन्यासका कारण उनी चर्चामा छन्, अहिले । पौराणिक विषयमाथि लेखिएको आख्यान तपोधन वरिपरि बसेर गिरीसँग नेपाल समयका राज सरगमले गरेको कुराकानी :
बीपीको जस्तो यौन मनोविज्ञानमा आधारित आख्यान छुटिरहेको अवस्थामा तपाईंको ‘तपोधन’ आयो । यो अवस्थामा तपोधनलाई कसरी नियाल्नुहुन्छ ?
यौन मानवीय जन्म र उत्पादनदेखि नै अत्यन्त आवश्यक र महत्वपूर्ण कुरा हो । जस्तो : मान्छेलाई खाना, पानी वा हावा चाहिन्छ । हामी सबै यौनबाट आएका हौं, यौनको चाहना गर्छौं र यौनबाट आफ्नो वंश परम्परालाई अगाडि बढाइरहेका छौं । बीपीले मान्छेको प्राचीन इतिहास पढ्नुभएको थियो । त्यहाँ यौन खुला, आकर्षक र स्वतन्त्र रहेको पाउनुभएको थियो । यौनलाई जति दबाइन्छ, लुकाइन्छ वा मोड्न खोजिन्छ, त्यो उतिकै भ्रामक, संहारक र विकृत भएर आउँछ भन्ने मनोविज्ञान उहाँले बुझ्नुभएको थियो ।
यथार्थमा तपोधन पुराण, रामायण र महाभारतले बोलेजस्तै उपन्यास भने होइन । निश्चय नै पौरस्त्य साहित्यका धेरै सन्दर्भ छन् । यो विश्वामित्रको चरित्रमा आधारित उपन्यास हो । उनी यथार्थ जगतका वैज्ञानिक ऋषिहरूमध्ये एक हुन् । उनी यथार्थ संस्कृति परम्पराका स्रोत-पुरुष हुन् ।
उनले धरतीलाई स्वर्ग बनाउन चाहेका थिए । उनी देव जातिको एकाधिकार समाप्त गर्न चाहन्थे । यसकारण राजाहरू उनका विरोधी भए । स्वर्गको सुख भोगिरहेकाहरू विरोधी हुनु स्वाभाविकै हो । सबैले स्वर्गको सुख प्राप्त गरून् भन्ने चाहन्नथे । हिमालयको सुन्दर, शान्त र शीतल काखमा रहेको नेपाल हिमाली सभ्यता र संस्कृतिको केन्द्र हो र बहुजातीय एवम् बहुभाषिक राष्ट्र हो । अनेकतामा एकताको यसै आदर्शअनुरूप यहींको माटोको प्राचीन गाथा-भाका-चिन्तन आज पनि यो मुलुकमा फलाउन फुलाउन उपयोगी हुने विश्वास लिएर तपोधन तयार गरेको हुँ । यसबाट नेपाली भाषा र साहित्यको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास छ । यो उपन्यासमा यहींको माटोको प्राचीन गाथा छ ।
प्रेमसँग यौन जोडिएर आउँछ भन्छन् । तर, अहिलेको समयमा प्रेममा यौन हाबी र अमर्यादित भयो भन्ने गुनासो सुनिन्छ । यसलाई कसरी लिनुहुन्छ ?
हाम्रो संस्कृति र धर्मले यौनलाई अत्यन्त महत्त्व दिएको छ । हाम्रा पौराणिक ग्रन्थहरूमा यौनलाई मूल्यवान् र उक्तिपूर्ण बनाएको छ । हाम्रो धर्मशास्त्रमै ‘आहार निद्रा भय मैथुनञ्चः’ भनेर मानिसका लागि अति आवश्यक भनेको छ । यसको अर्थ प्रेमसँग जोडिएको हो । यसो त भन्ने गरिन्छ- प्रेम र यौनको परम्परावादी अर्थ अव आएर अर्थहीन भइसके ।
यौनका सबल र दुर्बल पक्षहरू, स्वीकृत र विकृत पक्षहरू छन् । हो इतिहासमा जहिले पनि यौनलाई विकृति बनाउने प्रयास नभएको होइन र अहिले पनि छ । यौन भनेको हाम्रो जीवन हो, प्रकृतिको नियम हो, सृष्टि हो र सिर्जना हो । यसलाई कसरी लिने अपनाउने कुरो यति मात्र हो ।
हामी हिन्दुहरूको शिव र शक्तिको प्रतीक शिवलिंग समागम अवस्थाको प्रकृतिस्थ साधना हो । हामीले स्वीकारेकै छौं, पूजा गर्दैछौं, हाम्रो आस्था बन्न गएको छ । मन्दिरका टुँडालका कामकला धार्मिक र प्राचीन कलाको उत्कृष्ट नमूना हो, होइन भनेर कसले भन्न सक्छ । पुराणमा वर्णित यौनकथा पचाएकै छौं । तर, हाम्रो सोचाइ यौनप्रति संकिर्ण छ, त्यसैले हाम्रो समाजको अपेक्षित विकास हुन सकेको छैन ।
यौन मर्यादा हो र मर्यादाको नाममा अति गर्नु भएन । जेमा पनि अति राम्रो होइन । मर्यादा भनेको सीमा हो, सीमाभित्र रहेर प्रेममा यौन स्वाभाविक हो । सीमा नाध्नुभएन, विकृत बनाउनुभएन । यति कुरा ध्यानमा राखे पुग्छ । यौनले सामाजिक विकृति र पारिवारिक खतरा पनि ल्याउँछ । मर्यादा र शालीनतापूर्वकको सम्बन्ध समाजले, धर्मले, कानूनले स्वीकारेको छ र छलकपटपूर्ण यौनसम्बन्ध राम्रो होइन यसले खतरा निम्त्याउँछ ।
नेपाली मान-मर्यादामा यौन उदांगो छैन । तर, अहिलेका युवा-युवतीले उदांगो बनाइदिए भन्ने आरोप लाग्ने गरेकामा कत्तिको सहमत हुनुहुन्छ ?
नेपाली समाजमा पनि यौनमा प्रशस्त परिवर्तन आएको छ । पहिले यौनलाई वर्जित विषयको रूपमा लिइन्थ्यो । अहिले सहज रूपमा लिएको पाएको छु । नारी शोषणविरुद्ध चेतना आएको छ । नारीमा स्वाभिमान, आत्मसम्मान बढेको छ । स्वाभाविक तर मर्यादित परिवर्तनलाई म आत्मसात् गर्छु ।
किनभने यौन कुण्ठालाई दबाएर राख्नु पनि राम्रो कुरो होइन । हो समयले लवाइखवाइ, रीतिरिवाज, व्यवहार धेरै कुरामा परिवर्तन ल्याइदिएको छ । आजभन्दा ६० वर्ष पहिलेकै व्यवहार आजको पुस्तामा देखिनुपर्छ भन्ने पक्षमा म छैन । समयअनुसारको मर्यादालाई भने कायम राख्नै पर्छ । अहिलेको समयअनुसारको सामाजिक मर्यादा आजका युवा–युवतीले पालन गरून् भन्ने कुरामा म सहमत छु ।
अहिले पनि नेपाली समाजमा यौनको लामो कुण्ठापछि अचानक विष्फोट हुने गरेको पाइन्छ । यसले नेपालको सन्दर्भमा पारिवारिक समस्या कति चर्काइरहेको छ ?
एउटा यथार्थ के हो भने नेपाली समाज यौनमा अडेको छ । यहाँ अन्तरजातीय विवाह निकै पहिलेदेखि चल्दै आएको छ । यसको प्रमाण पौरस्त्य साहित्यमै छ । साथै, हाम्रै समाजमा अन्तरजातीय विवाह कहिल्यै रोकिएको छैन । चाहेर होस् वा नचाहेर जुनसुकै समयमा पनि भएकै छ । बरू यसो भन्न सकिन्छ यसको अनुपात निकै थोरै छ । छन त छ, हो सकारात्मक कुरा हो यसैले यहाँ जातीय र नश्लीय द्वन्द्व भएको छैन ।
समाज अध्ययनको क्रममा यसबारे गहिरो अध्ययन पनि भएकोजस्तो लाग्दैन । भनाइको अर्थ नेपाली समाजमा यौन दुर्बलता र सबलता, यौनतृप्ति र अतृप्ति-हलो यहीं अड्केको छ । आज पनि एउटी महिला घरबाट निस्कन पाएकी छैन । सामूहिक बलात्कारको शिकार बनेको समाचार प्रायः सुन्न पाइन्छ । यो भनेको यौन कुण्ठाको विष्फोट हो ।
हाम्रो विकास रोकिनुमा यौनलाई बुझ्न नसक्नु पनि हो । जुन परिवारले यौनको यथार्थ बुझ्न सकेको छैन, बुझ्न चाहँदैन र महिलालाई यौनदासी ठान्छ, त्यो परिवार विखण्डन हुनु स्वाभाविक हो । यौन भनेको शारीरिक भोक मात्र होइन, मानसिक शान्ति पनि हो । यही मानसिक शान्ति बुझ्न नसकेर वैदेशिक रोजगारीमा गएका कतिपयको परिवार विघटन भएको यथार्थ हाम्रोसामु छ ।
सामाजिक सद्भावलाई स्थिर राख्न यौनको भूमिका रहन्छ कि रहँदैन ?
जीवनको एउटा महत्वपूर्ण भाग यौन पनि हो । जाति र नश्लको छेकवार यौनले मात्र तोड्न सक्छ । जब युवापुस्ताले मानव एक जात हो भन्ने कुरालाई भनाइमा मात्र नभएर व्यवहारमा लागू गर्छ । विवाहको पहिलो शर्त जब जात र नश्ल बन्न छाड्छ । युवा-युवतीले एकअर्कालाई बुझेर जीवनसाथी निर्धक्क रोज्ने वातावरण बन्छ, तब मात्र वास्तविक सामाजिक सद्भाव कायम हुन्छ । यथार्थमा भन्ने हो भने सामाजिक सद्भाव स्थिर राख्नमा यौनको ठूलो भूमिका छ । आज होस् या भोलि अवश्य जातीय पर्खाल भत्कन्छ, यो भत्काउने श्रेय सो समयको युवा पुस्तालाई जानेछ ।