बिहीबार, असार ३२, २०८३

सामाजिक सद्भाव स्थिर राख्न यौनको भूमिका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

शीतल गिरी लेखक र अनुसन्धाता हुन् । गहन पुस्तक पढ्न र गहन विषयमा कलम चलाउन रुचाउँछन् उनी । प्रागइतिहास, दर्शन र संस्कृतिमाथि लेख्न पनि रुचाउँछन् । उनका एकल र सहलेखन गरेर हालसम्म आठ वटा कृति प्रकाशन भएका छन् । ‘तपोधन’ उपन्यासका कारण उनी चर्चामा छन्, अहिले । पौराणिक विषयमाथि लेखिएको आख्यान तपोधन वरिपरि बसेर गिरीसँग नेपाल समयका राज सरगमले गरेको कुराकानी :

बीपीको जस्तो यौन मनोविज्ञानमा आधारित आख्यान छुटिरहेको अवस्थामा तपाईंको ‘तपोधन’ आयो । यो अवस्थामा तपोधनलाई कसरी नियाल्नुहुन्छ ?

यौन मानवीय जन्म र उत्पादनदेखि नै अत्यन्त आवश्यक र महत्वपूर्ण कुरा हो । जस्तो : मान्छेलाई खाना, पानी वा हावा चाहिन्छ । हामी सबै यौनबाट आएका हौं, यौनको चाहना गर्छौं र यौनबाट आफ्नो वंश परम्परालाई अगाडि बढाइरहेका छौं । बीपीले मान्छेको प्राचीन इतिहास पढ्नुभएको थियो । त्यहाँ यौन खुला, आकर्षक र स्वतन्त्र रहेको पाउनुभएको थियो । यौनलाई जति दबाइन्छ, लुकाइन्छ वा मोड्न खोजिन्छ, त्यो उतिकै भ्रामक, संहारक र विकृत भएर आउँछ भन्ने मनोविज्ञान उहाँले बुझ्नुभएको थियो । 

यथार्थमा तपोधन पुराण, रामायण र महाभारतले बोलेजस्तै उपन्यास भने होइन । निश्चय नै पौरस्त्य साहित्यका धेरै सन्दर्भ छन् । यो विश्वामित्रको चरित्रमा आधारित उपन्यास हो । उनी यथार्थ जगतका वैज्ञानिक ऋषिहरूमध्ये एक हुन् । उनी यथार्थ संस्कृति परम्पराका स्रोत-पुरुष हुन् । 

उनले धरतीलाई स्वर्ग बनाउन चाहेका थिए । उनी देव जातिको एकाधिकार समाप्त गर्न चाहन्थे । यसकारण राजाहरू उनका विरोधी भए । स्वर्गको सुख भोगिरहेकाहरू विरोधी हुनु स्वाभाविकै हो । सबैले स्वर्गको सुख प्राप्त गरून् भन्ने चाहन्नथे । हिमालयको सुन्दर, शान्त र शीतल काखमा रहेको नेपाल हिमाली सभ्यता र संस्कृतिको केन्द्र हो र बहुजातीय एवम् बहुभाषिक राष्ट्र हो । अनेकतामा एकताको यसै आदर्शअनुरूप यहींको माटोको प्राचीन गाथा-भाका-चिन्तन आज पनि यो मुलुकमा फलाउन फुलाउन उपयोगी हुने विश्वास लिएर तपोधन तयार गरेको हुँ । यसबाट नेपाली भाषा र साहित्यको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास छ । यो उपन्यासमा यहींको माटोको प्राचीन गाथा छ ।

प्रेमसँग यौन जोडिएर आउँछ भन्छन् । तर, अहिलेको समयमा प्रेममा यौन हाबी र अमर्यादित भयो भन्ने गुनासो सुनिन्छ । यसलाई कसरी लिनुहुन्छ ?

हाम्रो संस्कृति र धर्मले यौनलाई अत्यन्त महत्त्व दिएको छ । हाम्रा पौराणिक ग्रन्थहरूमा यौनलाई मूल्यवान् र उक्तिपूर्ण बनाएको छ । हाम्रो धर्मशास्त्रमै ‘आहार निद्रा भय मैथुनञ्चः’ भनेर मानिसका लागि अति आवश्यक भनेको छ । यसको अर्थ प्रेमसँग जोडिएको हो । यसो त भन्ने गरिन्छ- प्रेम र यौनको परम्परावादी अर्थ अव आएर अर्थहीन भइसके । 

यौनका सबल र दुर्बल पक्षहरू, स्वीकृत र विकृत पक्षहरू छन् । हो इतिहासमा जहिले पनि यौनलाई विकृति बनाउने प्रयास नभएको होइन र अहिले पनि छ । यौन भनेको हाम्रो जीवन हो, प्रकृतिको नियम हो, सृष्टि हो र सिर्जना हो । यसलाई कसरी लिने अपनाउने कुरो यति मात्र हो । 

हामी हिन्दुहरूको शिव र शक्तिको प्रतीक शिवलिंग समागम अवस्थाको प्रकृतिस्थ साधना हो । हामीले स्वीकारेकै छौं, पूजा गर्दैछौं, हाम्रो आस्था बन्न गएको छ । मन्दिरका टुँडालका कामकला धार्मिक र प्राचीन कलाको उत्कृष्ट नमूना हो, होइन भनेर कसले भन्न सक्छ । पुराणमा वर्णित यौनकथा पचाएकै छौं । तर, हाम्रो सोचाइ यौनप्रति संकिर्ण छ, त्यसैले हाम्रो समाजको अपेक्षित विकास हुन सकेको छैन । 

यौन मर्यादा हो र मर्यादाको नाममा अति गर्नु भएन । जेमा पनि अति राम्रो होइन । मर्यादा भनेको सीमा हो, सीमाभित्र रहेर प्रेममा यौन स्वाभाविक हो । सीमा नाध्नुभएन, विकृत बनाउनुभएन । यति कुरा ध्यानमा राखे पुग्छ । यौनले सामाजिक विकृति र पारिवारिक खतरा पनि ल्याउँछ । मर्यादा र शालीनतापूर्वकको सम्बन्ध समाजले, धर्मले, कानूनले स्वीकारेको छ र छलकपटपूर्ण यौनसम्बन्ध राम्रो होइन यसले खतरा निम्त्याउँछ ।

नेपाली मान-मर्यादामा यौन उदांगो छैन । तर, अहिलेका युवा-युवतीले उदांगो बनाइदिए भन्ने आरोप लाग्ने गरेकामा कत्तिको सहमत हुनुहुन्छ ?

नेपाली समाजमा पनि यौनमा प्रशस्त परिवर्तन आएको छ । पहिले यौनलाई वर्जित विषयको रूपमा लिइन्थ्यो । अहिले सहज रूपमा लिएको पाएको छु । नारी शोषणविरुद्ध चेतना आएको छ । नारीमा स्वाभिमान, आत्मसम्मान बढेको छ । स्वाभाविक तर मर्यादित परिवर्तनलाई म आत्मसात् गर्छु । 

किनभने यौन कुण्ठालाई दबाएर राख्नु पनि राम्रो कुरो होइन । हो समयले लवाइखवाइ, रीतिरिवाज, व्यवहार धेरै कुरामा परिवर्तन ल्याइदिएको छ । आजभन्दा ६० वर्ष पहिलेकै व्यवहार आजको पुस्तामा देखिनुपर्छ भन्ने पक्षमा म छैन । समयअनुसारको मर्यादालाई भने कायम राख्नै पर्छ । अहिलेको समयअनुसारको सामाजिक मर्यादा आजका युवा–युवतीले पालन गरून् भन्ने कुरामा म सहमत छु ।

अहिले पनि नेपाली समाजमा यौनको लामो कुण्ठापछि अचानक विष्फोट हुने गरेको पाइन्छ । यसले नेपालको सन्दर्भमा पारिवारिक समस्या कति चर्काइरहेको छ ?

एउटा यथार्थ के हो भने नेपाली समाज यौनमा अडेको छ । यहाँ अन्तरजातीय विवाह निकै पहिलेदेखि चल्दै आएको छ । यसको प्रमाण पौरस्त्य साहित्यमै छ । साथै, हाम्रै समाजमा अन्तरजातीय विवाह कहिल्यै रोकिएको छैन । चाहेर होस् वा नचाहेर जुनसुकै समयमा पनि भएकै छ । बरू यसो भन्न सकिन्छ यसको अनुपात निकै थोरै छ । छन त छ, हो सकारात्मक कुरा हो यसैले यहाँ जातीय र नश्लीय द्वन्द्व भएको छैन । 

समाज अध्ययनको क्रममा यसबारे गहिरो अध्ययन पनि भएकोजस्तो लाग्दैन । भनाइको अर्थ नेपाली समाजमा यौन दुर्बलता र सबलता, यौनतृप्ति र अतृप्ति-हलो यहीं अड्केको छ । आज पनि एउटी महिला घरबाट निस्कन पाएकी छैन । सामूहिक बलात्कारको शिकार बनेको समाचार प्रायः सुन्न पाइन्छ । यो भनेको यौन कुण्ठाको विष्फोट हो । 

हाम्रो विकास रोकिनुमा यौनलाई बुझ्न नसक्नु पनि हो । जुन परिवारले यौनको यथार्थ बुझ्न सकेको छैन, बुझ्न चाहँदैन र महिलालाई यौनदासी ठान्छ, त्यो परिवार विखण्डन हुनु स्वाभाविक हो । यौन भनेको शारीरिक भोक मात्र होइन, मानसिक शान्ति पनि हो । यही मानसिक शान्ति बुझ्न नसकेर वैदेशिक रोजगारीमा गएका कतिपयको परिवार विघटन भएको यथार्थ हाम्रोसामु छ ।

सामाजिक सद्भावलाई स्थिर राख्न यौनको भूमिका रहन्छ कि रहँदैन ?

जीवनको एउटा महत्वपूर्ण भाग यौन पनि हो । जाति र नश्लको छेकवार यौनले मात्र तोड्न सक्छ । जब युवापुस्ताले मानव एक जात हो भन्ने कुरालाई भनाइमा मात्र नभएर व्यवहारमा लागू गर्छ । विवाहको पहिलो शर्त जब जात र नश्ल बन्न छाड्छ । युवा-युवतीले एकअर्कालाई बुझेर जीवनसाथी निर्धक्क रोज्ने वातावरण बन्छ, तब मात्र वास्तविक सामाजिक सद्भाव कायम हुन्छ । यथार्थमा भन्ने हो भने सामाजिक सद्भाव स्थिर राख्नमा यौनको ठूलो भूमिका छ । आज होस् या भोलि अवश्य जातीय पर्खाल भत्कन्छ, यो भत्काउने श्रेय सो समयको युवा पुस्तालाई जानेछ । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।