बिहीबार, असार ३२, २०८३

कहिले रोकिएला बालविवाह ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुर-८ की रुबिना (नाम परिवर्तन) को बिहे गर्न परिवारले सबै जोरजाम पूरा गरिसकेको थियो । कमजोर आर्थिक अवस्था भए पनि छोरीको विवाह गर्न उनका बाबुले तयारीमा कुनै कसर छाडेका थिएनन् । एक सरकारी विद्यालयमा कक्षा-९ पढ्दै गरेकी उनी भने विवाहका लागि शारीरिक-मानसिक दुवै हिसाबबाट तयार थिइनन् । 

क्याम्पस पढ्ने ठूलो रहर थियो, रुबिनाको । तर, बाबुआमाको जिद्दीका अगाडि उनको केही जोर चलेन । उमेर नपुगी विवाह भइरहेको महिला अधिकारकर्मी र बाल क्लबका सदस्यहरूले सुइँको पाए । र, उनीहरूको पहलमा रुबिनाको विवाह रोकियो । उनी एसईई उत्तीर्ण गरेर अहिले कक्षा-११ पढ्दैछिन् ।

यस्तै घटना जनकपुर-२२ कुर्थामा पनि भयो । त्यहाँ पनि एक स्कुले छात्राको विवाहको तयारी थियो । अधिकारकर्मी र बाल क्लबका सदस्यहरूले बालविवाह कानूनी अपराध भएको सम्झाइ-बुझाइ गरेपछि बिहे रोक्न परिवार तयार भयो ।

प्रदेश २ मा बाल विवाहको समस्या विकराल रहेको माथिका घटनाले पुष्टी गर्छन् । आर्थिक रूपले कमजोर र शिक्षाको अभावमा प्रायः बालविवाहले प्रश्रय पाउने गरेको हो । 

प्रदेश सरकारले छोरीलाई प्राथमिकतामा राखेर 'बेटी पढाऊ, बेटी बचाऊ' अभियान नै चलाएको छ । छोरीलाई शिक्षादीक्षा दिएर सक्षम बनाउने उद्देश्यले प्रदेश सरकारबाट ल्याइएको कार्यक्रमका बावजुद बालविवाह रोकिन सकेको छैन । प्रदेश सरकारले प्राथमिकता साथ ल्याएको यो कार्यक्रमले प्रचार-प्रसार पाए पनि बालविवाह न्यूनीकरणमा खासै प्र्रभावी बन्न नसकेको जानकारहरू बताउँछन् ।
 

प्रदेश सरकारले 'बेटी पढाऊ, बेटी बचाऊ' अभियान चलाएको छ । तर, सरकारी कार्यक्रमका बावजुद बालविवाह रोकिन सकेको छैन ।



आर्थिक विपन्नता र शिक्षाको अभावमा बालविवाह हुने गरेको यसको रोकथाममा संलग्न महिला अधिकारकर्मी उर्मिला यादव बताउँछिन् । आफूहरूले कतिपय विवाह रोक्न सफल भएको उनको भनाइ छ । 'बालविवाह हुनुका पछाडि आर्थिक विपन्नता नै प्रमुख कारक देखिएको छ । यसलाई रोकथाम गर्न सरोकारवाला गम्भीर हुनु जरुरी छ,' उनी भन्छिन् । 

उमेर नै नपुगी बिहे गर्दा बालिकाले विभिन्नखाले शारीरिक र मानसिक समस्या झेल्नुपर्छ । यसबारे अभिभावकलाई जानकारी नहुँदा बालविवाह रोकिन नसकेको यादवको विश्लेषण छ । यो समस्याले शहरी क्षेत्रभन्दा ग्रामीण भेगलाई बढी जकडेको उनी बताउँछिन् । 

शहरभन्दा ग्रामीण क्षेत्रमा बालविवाहको अनुपात धेरै रहेको र जानकारी पाएपछि सम्बन्धित गाउँमै पुगेर रोक्न आफूहरू सफल भएको उनको अनुभव छ ।

साक्षरता दर बढ्दै जाँदा केही अभिभावकमा चेतना पनि नदेखिएको होइन । तर, गलत सामाजिक परम्परा र मूल्य-मान्यताका कारण नाबालक अवस्थामै अभिभावकले छोराछोरीको विवाह गरिदिने चलन उस्तै छ । पछिल्ला दिनमा इन्टरनेट, टेलिभिजन र मोबाइलको सहज पहुँचका कारण पनि दुरुपयोग बढेर आफूखुशी बालविवाहका घटनासमेत हुने गरेका छन् । 

सामाजिक कुरीति, अन्धविश्वास, दाइजो, छोराछोरीमा भेदभाव, शिक्षाको कमी, बेरोजगारी, गरिबीलगायत कारणले बालविवाह रोकिन नसकेको यादव बताउँछिन् । 

बालविवाह अन्त्य राष्ट्रिय सञ्चालको तथ्यांकअनुसार प्रदेश-२ मा उमेर नपुग्दै विवाह हुने छोरीहरूको संख्या सबैभन्दा बढी छ । प्रदेशका आठ जिल्लामध्ये सप्तरीमा सबैभन्दा बढी ८२ प्रतिशत बालिकाहरूको कलिलो उमेरमै विवाह हुने गरेको तथ्यांकमा उल्लेख छ । यसैगरी, रौतहटमा ६१ प्रतिशत बालिकाहरूको शिक्षा पाउने उमेरमै विवाह हुने गरेको छ । 

बालविवाहको तेस्रो सबैभन्दा बढी समस्या धनुषामा देखिएको छ । सञ्जालका अनुसार नेपाल विश्वमै सबैभन्दा बढी बालविवाह हुने देशहरूमा दोस्रो स्थानमा छ । यहाँ ३९.५ प्रतिशत बालविवाह हुने गरेको छ, जसमा तराईमा ९६ र पहाडमा ८९ प्रतिशत बालविवाहको दर रहेको सञ्जालको तथ्यांकमा उल्लेख छ ।

सन् २०३० सम्ममा नेपालबाट बालविवाह अन्त्य गर्ने सरकारी लक्ष्य छ । यसको सफल कार्यान्वयनका लागि सबैभन्दा बढी समस्या देखिएको प्रदेश-२ सरकारले ठोस रणनीति तयार गरी स्थानीय तहसँग समन्वय गर्नु आवश्यक रहेको सञ्जालका महासचिव श्याम पोखरेल बताउँछन् । बालविवाह अन्त्य गर्न आकर्षक र लोकप्रिय भाषणभन्दा पनि ठोस रणनीति र दृढ इच्छाशक्तिको आवश्यकता रहेको उनको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।