काठमाडौं- सरकारले खानेपानी क्षेत्रको लागि ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले खानेपानी क्षेत्रका लागि उक्त रकम विनियोजन गरिएको बताएका हुन्।
विभिन्न सहरी क्षेत्रका ढल निकासको उचित प्रबन्ध गर्न २ अर्ब ४४ करोड बजेट विनियोजन गरिएको छ। सहरी खानेपानी तथा सरसफाई आयोजनाको लागि ४ अर्ब ४४ करोड विनियोजन गरिएको छ।
सहरी सरसफाई तथा खानेपानी अन्र्तगत सुर्खेतको सुबाघाट, काभ्रेको पाँचखाल, दार्चुलाको खलङगा, भक्तपुरको ददीकोट, चितवनको सारगानगर खानेपानी आयोजनाहरु आगामी आर्थिक वर्षमा सम्पन्न गरिने छ। यी आयोजनाबाट करिब १ लाख ९ हजार जनसंख्यालाई पानी उपलब्ध हुने सरकारको ठम्याइ छ ।
दोस्रो चरण्को काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना अन्र्तगत चक्रपथ बाहिरका थप क्षेत्रहरुमा मेलम्ची खानेपानी वितरणका लागि पाईपलाईन बिछ्याउने कार्य सुरु गर्न १ अर्ब ९२ करोड बजेट विनियोजन गरिएको छ।
मेलम्ची खानेपानी विकास समिति र ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति खारेज गरिएको छ। यी समितिबाट सम्पादन हुँदै आएका कामहरु खानेपानी तथा ढल व्यावस्थापन विभाग मार्फत सञ्चालन गरिने शर्माले बताए।
काठमाडौँ उपत्यकामा सिस्नेरी र ठोस्ने खोलाबाट खानेपानी आपुर्ति गर्न अध्ययन कार्य अगाडी बढाउनुका साथै नगरकोट, दक्षिणकालि, रामकोट र गोदावरी क्षेत्र गरी काठमाडौँ उपत्यकाका ४ दिशामाका खाने पानीपोखरीसहितको जलाधार क्षेत्र निर्माण गर्न अध्ययन गरिने बताए। यस्ता जलाधार खानेपानी आपुर्तिको वैकल्पीक स्रोतको रुपमा विकास गरिने शर्माको भनाइ छ।
यी क्षेत्रमा जलशययुक्त विद्युत आयोजनाको बहुउपयोग गरी खानेपानी आपुर्ति गर्न आवश्यक पूर्वाधार र प्राविधिक क्षमता विकास गरिने छ। याङग्री र लार्के खोलाबाट मेलम्ची खानेपानी वितरण प्राणालीमा पानी आपुर्ति गर्ने योजना कार्यन्वयन गरिने छ। सबै स्थानीय तहको सरसफाई गुरु योजना तयार गर्ने नीति अनुरुप आगामी आर्थिक वर्ष थप सय वटा स्थानीय तहको सरसफाई गुरुयोजना तयार गरिएका छ।
एकीकृत खानेपानी तथा ढल व्यावस्थापन आयोजना अन्र्तगत देशका विभिन्न १२ वटा सहरहरुमा एकिकृत खानेपानी तथा फोहोर पानी प्रशोधन आयोजनाहरुको विस्तृत अध्ययन सम्पन्न गरिने छ।