बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधवको अफ दी पोलिटिक्स: बोरा र चटार्इ बोकेर स्कूल जान्थे

माधवको अफ दी पोलिटिक्स: बोरा र चटार्इ बोकेर स्कूल जान्थे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बाबु-बाजे कोही ज्योतिष थिए त कोही पण्डित। धेरैको भाग्य चिनामा उतारिदिए, धेरैलाई पुराण सुनाए। उनका बाबु–बाजेबाट दीक्षा लिनेको संख्या पनि उल्लेख्य थियो। तिनै धार्मिक पुर्खाका सन्तान माधवकुमार नेपाल भने कम्युनिस्ट बने। कम्युनिस्ट अर्थात् भौतिकवादी। 

बाबु मंगलप्रसाद पण्डित र शिक्षाप्रेमी थिए । माधवकुमार नेपालले प्रधानमन्त्रीको सपथ ग्रहण लिएपछि बधाइ दिनेको लाइन लागेको थियो। त्यसमा थिए, मंगलप्रसाद पनि। उनले छोरालाई अभिषेक गर्दै गरेको तस्बिर त्यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको थियो। 

कम्युनिस्ट, माक्र्सवादी या भौतिकवादी । जे भने पनि नेपालको रगतमा अध्यात्मको मिश्रण छ। त्यसैले उनी अध्यात्मका विरोधी होइनन्। र, जडसुत्रवादी कम्युनिस्टले जस्तो कार्ल माक्र्सलाई उद्धृत गर्दै धर्मलाई अफिम पनि मान्दैनन्। भन्छन्, ‘पुर्खाबाट सरेको अध्यात्मले सकारात्मक काम गर्न  मार्गदर्शन गरेको छ।’

पुर्खाको पण्डित्याईंले परिवारमा खान-लाउनको समस्या कहिल्यै भएन। बाबु मंगलप्रसाद नै ‘हेड सर’ भएकाले ‘ट्युसन’का लागि वल्लो टोल, पल्लो टोलको चक्कर काट्नु पनि परेन। बाबुले अरूलाई ट्युसन पढाउँदा उनी पनि कापी, कलम लिएर एकछेउमा बस्थे। 

शिवहरका राजाको पण्डित्याईं

धेरैको बाल्यकाल कठोर र संघर्षपूर्ण हुन्छ। नेपाल भने त्यसबाट टाढा रहे। अर्थात्, उनको बाल्य जीवन सुखदायी थियो। 

रौतहट सदरमुकाम गौरमा उनले पहिलो पटक धर्तिमा पाइला टेके। वागमती किनारस्थित कटहरमा बडाहाकिमलगायत सरकारी कार्यालय थिए। ‘गौर त्यसबेला सरकारी हिसाबमा महत्वपूर्ण थियो, राणाहरू जंगलमा शिकार खेल्न आउँथे,’ उनी भन्छन्। 

आफ्नै पुख्र्याैली घरचाहीं कता हो भन्नेसम्म उनलाई थाहा छैन। ‘हाम्रा पुर्खा कुनै पहाडी इलाकाबाट भारततिर पुगेको हुनुपर्छ,’ उनी अड्कल गर्छन्।
 

आध्यात्मिक पुर्खाका भौतिकवादी सन्तान तर कहिल्यै आकर्षित् भएनन् जजमानीतर्फ। 


भारतमा शिवहर नामक राज्य थियो। नेपालका जिजुबुवाले त्यहाँका राजालाई खुकुरी उपहार दिए। र, राजाले उनका जिजुबालाई त्यतै बसेर आफ्नोमा पण्डित्याईं गर्न आग्रह गरे। राजाको प्रस्ताव उनले स्वीकारे। सुन्दर र उब्जाउ ठाउँ खोजेर बस्न राजाले आग्रह गरे। नेपालका जिजुबाले वागमती र बकैयाको किनार रोजे। 

त्यो पूरै नेपाल परिवारको मौजाजस्तै बन्यो। त्यसबेला नदी किनारका कोठी र गेस्ट हाउसमा पुगेर राणाहरू रात बिताउँथे। 

कालान्तरमा नेपाल परिवार शिवहर छाडेर रौतहट पस्यो। अहिले उनीहरूका जिजुबाले भोगचलन गरेको त्यो जग्गा विहारको सीतामढी जिल्लामा पर्छ। 

नेपालका बाबु मंगलप्रसादले गौरको श्रीजुद्ध हाइस्कुलबाट अध्यापन थाले। नेपालमा त्यतिबेला चार वटा अंग्रेजी हाइस्कुल खुलेका थिए, विराटनगर, गौर, वीरगञ्ज र काठमाडौंको जुद्धोदय स्कुल। ती सबै दरबार हाइस्कुलपछि खोलिएका पाठशाला थिए। 

उनका बुवाहरू सबै पढेलेखेका थिए। ‘मेरो बुवा जेठो हो। अर्को काका गोल्ड मेडलिस्ट हुनुहुन्थ्यो। सबै पढेलेखेका थिए,’ उनी भन्छन्। 

ज्योतिष विद्याले आकर्षित गरेन

नेपाल भने पुख्र्यौली पेशा ज्योतिष र पण्डित्याईंतिर आकर्षित भएनन्। उनको अघिल्लो पुस्ताले बनारसबाट शिक्षादीक्षा लिएको थियो। नेपालले भने गौरमै अध्ययन गरे। 

त्यसबेला सबै भाषा र विषयमा पढाइ हुन्थ्यो, संस्कृत, अंग्रेजी र नेपाली। घरबाटै बोरा र चट्टि बोकेर जान्थे। भुईंमा पलेंटी कसेर लय मिलाउँदै पढ्थे। 

कक्षामा उनका साथीभाइ चकचके र चञ्चल थिए। उनी भने गम्भीर स्वभावका। त्यसैले उनले ‘होम वर्क’ नगरेकामा सजायँ भोग्नु परेन । शिक्षकहरूमाझ अनुशासित विद्यार्थीमा दरिए। 

साँझ लालटिनको उज्यालोमा ‘होम वर्क’ गरेको उनको मानसपटलमा अझै ताजा छ। त्यसैले होला, उनले पहिलो, दोस्रो र तेस्रोभन्दा तल झर्नु परेन । उनी पढ्ने विद्यार्थीमै दरिन्थे। 

दाजुभाइसँगै झगडा

स्कुलमा अरू विद्यार्थीजस्तै माधवकुमार नेपालको पनि झगडा नपर्ने होइन। तर, आफ्नै दाजुभाइसँग। उनी भन्छन्, ‘झगडाको कुनै एजेन्डा हुँदैनथ्यो तर स्वभावगत कारणले हुन्थ्यो।’ 

एक पटक त दाइसँग एक महिनासम्म बोलचाल बन्द भयो। तर, पछि आफैंले फुकाए। ‘दाइ एकदमै झगडालु, केही नसहने। आफ्ना कुरामा अडिएपछि नछोड्ने स्वभावका,’ उनी सम्झिन्छन्, ‘के विषयमा चर्काचर्की परेको थियो भन्ने बिर्सिएँ।’

नेपाल परिवार ठूलो थियो । बुवाका दाजुभाइ मात्र पाँच जना थिए। र, संयुक्त परिवार थियो। माधवकुमार नेपाल तीन छोरामध्ये जेठा हुन्। ‘सबै गरी कति जना थियौं भन्नलाई गन्नुपर्छ तर हामी ठूलो परिवार थियो,’ उनी भन्छन्। 
 

सीतामढीमा विज्ञानको पढाइ छुट्यो। वीरगञ्जमा आईकम, काठमाडौंमा बीकम। भूमिसुधारमा खरिदार र नेपाल बैंकका जागिरे। 


उमेरमा जेठा, पढाइमा कान्छा

उनका दाइहरू उमेरमा जेठा भए पनि पढाइमा कान्छा विद्यार्थी थिए। उनीहरू नेपालभन्दा तल्लो कक्षामा पढ्थे। ‘मभन्दा तीन वर्षदेखि तीन महिना जेठासम्म मभन्दा जुनियर विद्यार्थी थिए।’ 

पढाइमा तेजिला थिए, उनी। त्यसैले उनलाई एकैचोटी दुई कक्षामाथि टपाइदिए। अर्थात्, कक्षा तीनबाट एकैचोटी पाँचमा। तर, परीक्षाको नतिजामा रोल नम्बर यथावत् रह्यो। 

रौतहटमा वाम नेता विष्णुबहादुर मानन्धरका जेठा दाजुको कपडा पसल थियो। त्यो पनि माधवकुमार नेपालको घर नजिकै। त्यो पसलमा बुढाहरू मिलेर तास  खेल्थे । तास खेल्दा बुढापाकाको संख्या कम हुँदा उनलाई बोलाउँथे। 

उनी भन्छन्, ‘त्यसपछि तासमा सहयोगी भूमिकामा हुन्थें। पिसकोट, फँलास र बासादेखि दुवासम्म मिलाउने खेल्थ्यौं।’ 

त्यतिबेला गौरबाट वीरगञ्ज जाँदा भारतको बाटो तय गर्नुपर्थ्यो, सीधा बाटो थिएन। एसएलसी दिन जाँदा उनले पनि त्यही बाटो समाते। गौरबाट तुइन तरेर त्यसपछि रेल चढी सीतामढी पुगे। र, उताबाट वीरगञ्ज भित्रिए। 

गौरमा त्यतिबेला कलेज पढ्ने सुविधा थिएन। कि वीरगञ्ज जानुपथ्र्यो या भारतको सीतामढी पुग्नुपर्थ्यो। नेपालका लागि दोस्रो विकल्प तयार भयो। र, सीतामढीमा विज्ञान विषयमा भर्ना भए। 

तर, कलेज भर्ना भएको वर्षदिन नहुँदै विरामी परे। पटनामा उनको उपचार भयो। र, सीतामढीको पढाइ छुट्यो। 

उपचारपछि उनी घर फर्किए। लगत्तै भूमिसुधार विभागमा खरिदारको जागिर पाए। ‘करिब सय रुपैयाँको जागिरले मलाई धेरै ठाउँ पुग्ने मौका मिल्यो,’ उनी सम्झिन्छन्। 

जागिर खाँदै, पढ्दै

त्यही जागिर खाँदै वीरगञ्जको ठाकुरराम क्याम्पसबाट आईकम उत्तीर्ण गरे । त्यसपछि बीकम पढ्न काठमाडौं आए। बीकम सकेपछि उनले नेपाल बैंकमा नाम निकाले। उनको पोस्टिङ विराटनगर भयो। र, ०३१ सालमा राजनीतिमा होमिनु अघिसम्म उनी विराटनगरमै नेपाल बैंकका कर्मचारी थिए। 
 

झगडालु थिएनन् तर दाइसँगै एक महिनासम्म बोलचाल बन्द।


कक्षा-९ मै पुष्पलालको सम्पर्कमा

रौतहटमा त्यसबेला पुष्पलालले कम्युनिस्ट आन्दोलनलाई भूमिगत तरिकाले सञ्चालन गरेका थिए। र, नेपाल पनि उनको सम्पर्कमा पुगे। कम्युनिस्ट पार्टीका सांस्कृतिक कार्यक्रमहरूमा उनको सहभागिता बढ्यो। 

नाँच्न–गाउन जान्दैनथे, नाटकमा भने भूमिका पाउँथे। कम्युनिस्ट पार्टीले चलाएको भूमिगत पुस्तकालयको सदस्य बनिसकेका थिए। त्यतिबेलै हो, उनले राहुल सांस्कृत्यानका किताबहरू पढेको पनि। ०२६ सालमा पुष्पलालकै पार्टीको सदस्यता पाए। 

जागिरदेखिकै चेस मोह

भूमिसुधार कार्यालयमा जागिर गर्दा नेपालले चेस खेल्न सिकेका थिए। हाकिमको निकै प्यारा थिए। उनको नाम राखेका थिए, सानो खरदार। र, ‘आउनूस् सानो खरदार चेस खेलौं’ भन्थे। 

चेसको बानी अझै छुटेको छैन । त्यतिबेला हाकिमसँग खेल्थे, अहिले कम्प्युटरसँग। फुर्सद भयो कि उनी कम्प्युटरसँग दिमाग लडाउँछन्। र, धेरैजसो कम्प्युटरलाई हराउँछन्। भन्छन्, ‘मेरो ध्यान अन्त गएन भने जहिले पनि जित्छु।’

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।