आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

हिजो परिवारसँग र आज आफैंसँग विद्रोहको चक्रमा शोभिता

किशोर उमेरदेखि नै रंगीन दुनियाँमा लागेकी सोभिताले जीवनमा लामै संघर्ष गरिन्। फेसन शो, र्‍याम्प वाक, मोडलिङ, टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदै फिल्मकी अभिनेत्रीसम्म बनिन् उनी। तर यो रंगीन दुनियाँमा धेरैबेर रमाउन सकिनन्। बिस्तारै यो क्षेत्रदेखि नै टाढा भइन्।
 |  बुधबार, जेठ ११, २०७९
nespernesper

राज सरगम

राज सरगम

बुधबार, जेठ ११, २०७९

काठमाडौं– सन् २००३ को एक हिउँद। फेसन शोमा र्‍याम्प वाक् गर्ने सपना बोकेर अभिनेत्री शोभिता सिम्खडाले एक जोर हिल जुत्ता किनिन् र लिएर घर गइन्। घरमा पुग्नेबित्तिकै आफू सुत्ने कोठाको ढोका लगाइन्। झोलाबाट हिल निकालिन्। केही बेर कोठामा हिल लगाएर हिँडिन्। अनि, र्‍यायाम्पमा जाने दिन सम्झिएर एकदमै उत्साहित भइन्। 

triton college

त्यसपछि अचानक हिललाई कोठामै राखेर केही कामले बाहिर निस्किइन्। साँझ घर पुगिन्। र्‍याम्पमा जाने तयारीका क्रममा बिहान हिल राखेको ठाउँमा हेरिन्। दुवै हिल काटिएको अवस्थामा थियो। 

‘कसले काटिदियो मेरो हिल’, उनले घरै थर्किने गरी कराइन्। उनकै भाइ भिलेन भएर उनको सामु उभिए। शोभिताका आँखामा साउन–भदौ सुरु भयो। 

मन पराएर ११ सय रूपैयाँमा किनेको हिल यसरी घरकै सदस्यले काटिदिएको देखेर उनलाई ऐंठन परेजस्तो भो। ‘त्यो क्षण त मेरो शरीरकै अंग काटिएझैं भो’, हिल चार टुक्रा हुँदाको क्षण सम्झिइन्। 

फेसन शोमा र्‍याम्प वाक् र मोडलिङ गर्ने उनको रहर एकछिनलाई तुहिएझैं भो। कक्षा नौ पढ्ने भाइलाई गाली मात्रै गरिनन्। हिर्काइन्। रोइन्। कराइन्। तर, उनको रूवाइ जंगलको भो। कसैले ‘नरो’ भनेन। 

Metro Mart
vianet

‘तँ र्‍याम्प–स्याम्पमा जानु पर्दैन। मोडल–सोडल बन्नु पर्दैन’, १९ वर्ष अगाडि भाइले यस्तै भनेका थिए उनलाई। मुस्किलले पाएको मञ्चलाई उनले गुमाउन चाहिनन्। तर, घरका सबै सदस्यले उनलाई कुनै सहानुभूति देखाएनन्। बरू घन्टौ‌ केरकार गरे। मोडलिङमा नलाग्न दबाब दिइरहे।

‘आज मात्रै जान्छु, त्यसपछि कहिल्यै जादिनँ, आजचाहिँ जान दिनुस्’, उनले भाइ, बाबा र आमाको अगाडि रूँदै अनुरोध गरिरहिन्। तर, कसैले सुनेनन्।

भोलिपल्ट हिल लगाउन नपाए पनि सधैं लगाउँदै आएको जुत्ता लिएर एभरेष्ट होटलको प्राङ्गणमा पुगिन्। जहाँ र्‍याम्प वाक गर्ने भव्य सेट तयार भइसकेको थियो। अनि पुरानै जुत्ता लगाएर भएपनि उनी त्यहाँ र्‍याम्प वाकमा उत्रिइन्।  

र्‍याम्प वाकबाट फर्किएको साँझ उनले खाना खाइनन्। घरका सबैसँग रिसाइन्। सबैभन्दा बढी भाइसँग रिसाइन्। त्यसपछि सुरु भयो उनको र परिवारसँगको अन्तरद्वन्द्व। 

परिवारका कुनै पनि सदस्य मोडलिङ क्षेत्रमा थिएनन्। न कोही चिनजानका आफन्त नै थिए, र्‍याम्प तथा मोडलिङ बुझ्ने। त्यसैले शोभिताका परिवार उनले रोजेको क्षेत्रप्रति सकारात्मक हुन सकेनन्।  

त्यो समय रंगीन दुनियाँमा लाग्नु भनेको ‘बिग्रनु हो’ भन्ने बुझ्थ्यो समाज। त्यसको प्रभावबाट उनको परिवार पनि अछूत थिएन। त्यसैले उनले इच्छाएको बाटोमा हिँड्न रोक्दै पढाइमा एकाग्र हुन दबाद दिइरह्यो उनको परिवारले। 

त्यतिबेला ११ कक्षामा पढ्दै थिइन् शोभिता। ग्ल्यामर दुनियाँमा उनका पाइलाहरु अघि बढ्दै थिए। तर, छरछिमेक, आफन्त र चिनेजानेकाले गिज्याउन थाले। नमिठो लाग्ने गरी होच्याउन थाले। 

जति परिवारको दबाब बढ्दै गयो, उति नै यो क्षेत्रमा लाग्ने मोह बढ्दै थियो उनको। त्यसैले बरु परिवारसँगै विद्रोह गर्ने सोचमा पुगिन् उनी। अनि अठोट गरिन्– ‘जसरी नै यही क्षेत्रमा लाग्नेछु।’

‘जब परिवारबाटै मोडलिङ क्षेत्र छोड्न दबाब बढ्यो, मलाई त झन् यही क्षेत्रमा लाग्छु भन्ने पो भयो, त्यसैले कसैको सुन्दै सुनिनँ, मात्र आफ्नो मनको सुनेँ,’ उनले सम्झिइन्। 

सोभिताका बुवा उनी पढ्ने स्कुल श्री तामाङ खर्क गुम्दी धादिङका हेडसर थिए। घरदेखि स्कुलसम्म पूरै बुवाको निगरानी हुन्थ्यो । शान्त स्वाभावकी थिइन्, कम बोल्थिन्। घरमा ध्यान गर्ने हल थियो। स्कुल जानुअघि र फर्किएपछि सधैँ उनका बुबाआमा ध्यान गर्थे। सायद त्यसकै प्रभावले होला, उनले पनि ध्यान गर्न थालिसकेकी थिइन्। 

एकपटक उनका बुवा अध्ययनको शिलशिलामा श्रीलंका पुगेका थिए। फर्कि‌दा रजनिश ओशोको अनुयायी भएर फर्किए। गाउँमा शिक्षण पेशा र ध्यानलाई सँगसँगै अघि बढाए उनले। ‘ध्यान त बुझ्थिन त्यतिबेला तर बुबाआमासँग सधै पलेटी कसेर सुरु गरिहाल्थेँ,’ उनले भनिन्। 

एक शनिबार गाउँमै भिडियो फिल्म हेर्ने अवसर पाइन् उनले। भिडियो फिल्म हेरेको दिन रातभरि निदाउन सकिनन् उनी। भिडियोमा देखिएका कलाकारले उनको मथिङ्गल घुमाइदियो। उनलाई त्यो रंगीन दुनियाँमाथि अनेक जिज्ञासा पलाए। अनि त, हरेक शनिबार उनले फिल्म हेर्न थालिन्। घरमा आएर फिल्ममा अभिनेत्रीले गर्ने अभिनयको नक्कल गर्न थालिन्। भन्छिन्, ‘कसैले थाहा पाउँछन् कि भनेर लुकीलुकी अभिनय गर्थें।’

कक्षा दशको अन्तिम दिन थियो त्यो। उनको स्कुलमा एकजना पाहुना आएका थिए। ती पाहुनाले कक्षामा पुगेर विद्यार्थीसँग साक्षात्कार गरेका थिए। यस्तैमा शोभिताको कक्षामा पनि आए। सबै विद्यार्थीको नाम, परिचय र लक्ष्यको बारेमा सोधे। 

शोभिता एकछिन केही बोलिनन्। बोल्नै डराइन्। ‘हेडसरको छोरी भएर पनि कस्तो लाटी तिमी त’ भनेर जिस्काए  ती पाहुनाले। त्यसपछि शान्त स्वाभावकी शोभिताको मुखबाट एक्कासी फुत्कियो, ‘हिरोइन बन्छु।’ 

सबै विद्यार्थी ट्वाँ भए। त्यो भन्दा बढी शोभिता स्वयम् आश्चर्यमा परिन्। प्रश्न गर्ने पाहुना पनि चुपचाप फर्किए। शोभिता पनि घर फर्किइन्। बाटोभरि साथीहरूले ‘तँ त हिरोइन जस्ती छेस्’ भनेर जिस्काउन थाले। बाटोभरी साथीभाइको हाँसीमजाकमा रमाउँदै घर पुगेकी उनको अनुहार बुवाको अगाडि पुगेपछि भने निराश भयो।  

‘तँ त हिरोइन बन्छु भन्दै थिइस् रे,’ बुबाले थर्काउँदै भने, ‘कहाँबाट आयो दिमागमा यस्तो कुरा, धेरै यताउता सोच्ने होइन, खुरूखुरू पढ्नु।’


पहिलोपटक फेसन शोको र्‍याम्पमा हिँड्दा परिवार रिसाएपछि शोभिताले कहिल्यै घरमा आफ्नो कामबारे भनिनन्। त्यसपछि पनि चारवटा र्‍याम्प वाक् गरिन्, तर परिवारलाई भनिनन्। सँगसँगै नेपाली चलचित्रमा संघर्ष गर्न थालिन्। तीन वर्षजस्तो नायिका हुने सपना बोकेर काठमाडौंको खाल्डोमा भौतारिन्। तर उनी निराश हुनुपर्‍यो। 

सन् २००५ तिर उनलाई एक मदिराको विज्ञापनमा भूमिका गर्ने अवसर आयो। अभिनेता शिव श्रेष्ठको छोरी सोना श्रेष्ठ र मोडल अनुप सक्सेनासँगै विज्ञापन खेल्ने अवसरलाई उनले गुमाउन चाहिनन्। बाल्यकालमा चियापत्ती र साबुनको खोलमा मोडलहरु देखेर खुब डाह लाग्थ्यो उनलाई। ‘यहाँ मेरो तस्बिर हुन पाए’ त्यहाँ आफूलाई राखेर खुब कल्पना गर्थिन् उनी। भन्छिन्, ‘त्यसैले मदिराको विज्ञापनमा अफर आउँदा मैले लत्याउन सकिनँँ। त्यसमाथि १० हजार पारिश्रमिक पनि पाउँदै थिएँ, नकार्ने कुरै भएन।’

विज्ञापनको सुट गरेको दिन पत्रिका र दश हजार पारिश्रमिक बोकेर घर पुगिन् उनी। सबैलाई बाँडिन् त्यो खुशी। तर, आफूबाहेक सबै दुःखीमात्रै भए। उनको जीवनको पहिलो कमाइ थियो त्यो। मदिराको बोतलसहित पत्रपत्रिका र होडिङ बोर्डमा उनको फोटो छाइरहेको थियो। महत्वकाक्षा पनि उत्तिकै चुलिँदै गएको थियो। 

‘यो दुनियाँ त अर्कै दुनियाँ पो रहेछ भन्ने जस्तो भएको थियो’, उनी आज सम्झिन्छिन्, ‘त्यो बेला मैले चर्चा पाउनेछु भनेर कत्ति सोचेकै थिइनँ। तर, नसोचेकै पाएँ। त्यही पनि घरमा कोही खुशी भएनन्।’ 

यद्यपी आफूले सोचेजस्तै हुन थालेको देखेर उनी खुशी थिइन्। त्यसैले रिसाएको परिवारलाई अझै राम्रो काम गरेर देखाउने दृढताले उत्साहित बनाएको थियो उनलाई। तर, यही बेला उनी निराश पनि थिइन्। किनभने सिनेमामा कोही उनलाई हिरोइन बनाउन अफर गरिरहेको थिएन।

के कारणले आफूलाई सिनेमा क्षेत्रमा लिइरहेका छैनन् भन्ने कुराले निकै पिरोल्यो उनलाई। आफ्नो फोटोहरु फिल्म निर्देशकलाई पठाउँथिन् उनी। भेटेरै अवसर मिलाइदिन अनुरोध गर्थिन्।  तर, सोचेजस्तो अवसर पाउँथिनन्। अनि घरमा गएर एक्लै रुन्थिन्। 

बुवाले ‘ध्यानमा फर्क’ भन्थे। पढेर कुनै जागिर खान र करियर बनाउन सल्लाह दिन्थे। तर, उनलाई हिँडेको बाटोबाट फर्किन कत्ति मन थिएन। 

‘संघर्षका दिनहरूमा कसैले अवसर दिएनन्। साह्रै चित्त दुखेको थियो। काम गर्न चाहनेलाई स्पेस नै कम थियो’, आफ्ना संघर्षका दिन सम्झिँदै उनले थपिन्, ‘परिवारले खासै प्रशंसा गरेनन्। मैले पाएको खुशीप्रति कसैको चासो भएन। सबैले सामान्य लिए। यहाँसम्म कि बुवाले पनि मौन बसिदिनुभयो।’

संघर्षका दिनमा जब काम बन्दैनथ्यो, उनी अत्यधिक रुन्थिन्। सहयोग गर्ने मान्छे पनि थिएनन्। भन्छिन्, ‘यो क्षेत्र मेरा लागि होइन रहेछ, सक्दिनँ म भन्ने नलागेको होइन। तर पनि हार खाइनँ।’ 

यत्तिकैमा एकदिन उनका बुवाले ‘तेरो रहर हो, पूरा गर’ भनेर भनेपछि उनको मन निक्कै हलुका भएको थियो। तर, बुवाले खुशी भएर भन्नुभएको हो भन्ने उनलाई रत्तिभर लागेन। 

चलचित्रमा अभिनेत्रीको भूमिका नपाए पनि उनले म्युजिक भिडियो भने पाइन्। शर्मिला बर्देवाको ‘निलकाँडा झैं मन फुल्यो’ बोलको गीतको म्युजिक भिडियोमा उनले अभिनय गरिन्। यसरी दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिन्। तर चलचित्रमा भूमिका निर्वाह गर्ने हुटहुटीले उनलाई सधैं लोभ्यायो।

यही सिलसिलामा निराश भएर पढाइ अगाडि बढाइरहेकी शोभिता २००५ तिर नेपाल टेलिभिजनमा एक अडिसनका लागि सहभागी हुन गइन्। ‘सरोबर’ भन्ने टेलिभिजन कार्यक्रममा उनले अडिसन दिइन्। पास पनि भइन्। अनि कार्यक्रम प्रस्तोता भएर त्यो कार्यक्रम चलाउने मौका पाइन्। 

‘सरोबर’चलाएको थाहा भएपछि केही समयपछि उनले फिल्म सम्बन्धी कार्यक्रम ‘नमस्ते कलिउड’ का लागि टेन्डर हालिन्। टेन्डर पास भयो। उनले कार्यक्रम चलाउन थालिन्। 

हिजो जुन भाइले हिल काटेर र्‍याम्पमा जान रोकेका थिए, यो कार्यक्रमका लागि उसैले विदेशबाट सात लाख सहयोग गरे। कार्यक्रम राम्रै चल्यो। विज्ञापन पनि राम्रै उठाइन्। 

तर, टेलिभिजन कार्यक्रम चलाउँदा पनि उनका परिवार खुशी थिएनन्। उनको बुवाआमा नियमित ध्यान गर्थे। बिहान बेलुका शोभिता ध्यान गरे पनि दिनभरि फिल्मका कुरा गरेर बित्थे उनका। भन्छिन्, ‘टेलिभिजन कार्यक्रम चलाउँदा पनि परिवारमा कोही खुशी थिएनन्। मेरो कामलाई कत्ति पत्याएनन्।’ 

‘पढाइ रोकेर दुनियाँदारी काममा भुलेको छ, करियर बनाउनु छैन,’ परिवारबाट सधैँ यस्तै ‘गनगन’ भइरह्यो।। न त आर्थिक सहयोग नै भयो। 

‘जुन काम गरेर तिमी नै पीडामा छौ, त्यस्तो काम किन गर्छौ भनेर सम्झाउनुहुन्थ्यो बाबा’, बुबा यस्तै भनेर सम्झाउँथे उनलाई। २ वर्षजस्तो उनले ‘नमस्ते कलिउड’ कार्यक्रम चलाइन्। यो दुई वर्षमा उनलाई धेरैले फिल्मको सपना देखाइदिए। जुन चिजलाई उनी बिर्सिएर टेलिभिजनतिर आएकी थिइन्, त्यही लक्ष्यले उनलाई पछ्याउन थाल्यो। भन्छिन्, ‘संघर्षका दिनमा भेटौं न भन्दा समय नदिने निर्माता/निर्देशकलाई फिल्मी कार्यक्रम चलाउन थालेपछि पब्लिसिटीका लागि कल गर्न थाले। सिंहदरबार धाउन थाले।’

यहीबीचमा फिल्म खेल्ने ‘मुड’ बनाइन् उनले। पहिलो फिल्म गरिन्, ‘सन्देश ’। यसपछि उनले ‘गंगाजल’मा अभिनय गरिन्। दुई फिल्म गरेपछि उनले ‘नमस्ते कलिउड’ चलाउन छोडिदिइन्। पूर्णकालिन अभिनेत्री भएर काम गर्न थालिन्। 

२०६५ सालमा डेब्यु एक्टर अवार्ड पाएकी शोभिताले ‘गंगाजल’मा एक्सन लेडीको भूमिका गरेकी थिइन्। यो फिल्म हलमा लागेको दिन हजुरआमालाई फिल्म देखाउन लगिन्। चलचित्रमा उनको विद्रोही भूमिका देखेर हजुरआमा खुशी मात्रै भइनन्, घरमा सबैका सामु खुलेरै प्रशंसा गरिन्। तर, उनको परिवारमा बुवाआमा कत्ति खुशी भएनन्। शोभिताले पाएको सफलता देखेर खुशी नभएका बुवाममीले ध्यान गर्न नछोड मात्रै भने।

‘चम्पा चमेली’, ‘मार्‍यो नि माया’ लगायत एक दर्जन चलचित्रमा अभिनय गरेकी शोभिताले विराज भट्ट, राजेश हमाल, निखिल उप्रेती, रेखा थापाजस्ता कलाकारसँग काम गरिन्। 

चलचित्र छायांकनका दिनमा पनि अनिवार्य ध्यान गर्थिन् उनी। हुन् त उनले १२ वर्षमा सन्यासी माला लिएकी थिइन्। ‘ध्यान छोडिस् भने यो माला पनि आश्रममा बुझाएर आउनु’, बुवाले यति भनेपछि उनले कहिल्यै माला छोडिनन् र ध्यान पनि छोडिनन्। 

सिनेमा क्षेत्रमा लागे पनि ध्यान र प्रेम दुवैलाई समय दिएकी थिइन् उनले। निराजन भण्डारीसँग टिभी कार्यक्रम बनाउँदाका दिनमा नै प्रेममा परेकी थिइन्। एक दर्जन चलचित्रमा अभिनय गरेकी शोभितालाई निराजनको प्रेमले नयाँ बाटो देखायोे। प्रेमलाई विवाहमा बदलेपछि परिवारलाई समय दिन थालिन् उनले। भन्छिन्, ‘विवाह गरेपछि मैले फेरि परिवार र ध्यानलाई समय दिन थालें।’ 

माइतीघरको पारिवारिक पृष्ठभूमि नै ध्यानमय थियो। मनोरञ्जन क्षेत्रले चन्चल भएको मनलाई एकाग्र बनाउन ध्यानले सहयोग पुर्‍यायो उनलाई।


किशोर उमेरदेखि नै रंगिन दुनियाँमा लागेकी शोभिताले जीवनमा लामै संघर्ष गरिन्। फेसन शो, र्‍याम्प वाक, मोडलिङ, टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदै फिल्मकी अभिनेत्रीसम्म बनिन् उनी। तर यो रंगीन दुनियाँमा धेरैबेर रमाउन सकिनन्। बिस्तारै यो क्षेत्रदेखि नै टाढा भइन्।  

सुन्दरताको आफ्नै दृष्टिकोण हुन्छ भन्ने शोभिता ध्यानमै मग्न हुन चाहन्छिन्, अहिले। भन्छिन्, ‘पहिला पहिला घरपरिवारले मलाई बुझिदिएनन् भन्ने लाग्थ्यो। अहिले आफूलाई नै बुझ्न सकेको छैन भन्ने लाग्छ। त्यही बुझ्नलाई आश्रममा छु।’

३९ वर्षिय शोभिताले विवाह गरेको १२ वर्ष भयो। उनीहरु दुईदेखि तीन भएका छैनन्। त्यसैले यो १२ वर्षमा परिवारले उनको विवाह सम्बन्धलाई लिएर धेरै प्रश्न गरे।

‘सन्तान किन नजन्माएको ?’, ‘आमा हुनु पर्दैन’? ‘बेलैमा सन्तान पाउ है, के समस्या छ र’ आफन्त र नजिकका साथीहरुले अहिले पनि उनलाई यस्तै प्रश्नमात्रै गर्छन्। तर, उनी सधैँ हाँसेरै टारिदिन्छिन्। कतिलाई चित्त बुझाउन गाह्रो पनि हुन्छ। तर, उनका श्रीमान् भने खुशी नै छन्। भन्छिन्, ‘सन्तान भए मायामोहमा परिन्छ। लोभ र लालचमा परिन्छ त्यसबाट मुक्त हुनका लागि पनि सन्तान नजन्माएको हो।’

आचार्य रजनीशको उदात्त भक्त बनेकी शोभिता ध्यानका लागि अहिले ओशो तपोवनकै आश्रममा बस्छिन्। 

पहिले बुबाले भनेजस्तै भएको छ अहिले। ‘जे रहर छ पूरा गर, एकदिन यहीँ फर्किन्छेस्। त्यो दलदलमा शान्ति छैन। यस्तैयस्तै भनेर सम्झाउनुहुन्थ्यो। त्यस्तै भयो मेरो जीवनमा पनि’, उनका बुवाले भनेको सम्झिन्छिन् उनी।  

शोभिताको परिवार त्यतिबेला उनको मर्जीको खिलाफ थिए र पनि आफ्नो मर्जीलाई सदर गर्न उनले कुनै कसर छाडिनन्। आफूले चाहेको काम गर्न पछाडि हटिनन्। भन्छिन्, ‘मेरो जीवन मेरो मर्जी भनेर हिँडे पनि परिवारलाई आँच आउने काम गरिनँ। बरू, काम गरेरै मन जित्ने कोसिस गरें। तर, कामले भन्दा पनि ध्यानले परिवार खुशी भए।’ 

समाजले लगाउने गरेको विभिन्न खाले आरोप, लाञ्छना र अपशब्द उनले बालापनमै सुनेकी थिइन्। तर त्यस्ता आरोप तथा चुनाैतीलाई सहजै चिर्दै अघि बढिन्। 

तीन वर्ष लगाएर ‘वारङ्गना’ उपन्यास लेखेकी शोभितालाई कतिपय प्रशंसक ‘वनदेवी’ पनि भन्छन्। तर, जसले जे भने पनि सन्यासिनी बनिसकेकी उनी भन्छिन्, ‘मानिस सुख–शान्ति चाहन्छ, तर भौतिक साधनाबाट मात्रै त्यो प्राप्त हुँदैन, त्यसैले अध्यात्मतिर लागेको हुँ।’

रजनिश ओशोलाई अत्यधिक पढ्न रूचाउने शोभिताले कला क्षेत्रमा लाग्न परिवारसँग जसरी विद्रोह गरिन्, अहिले मनको शान्तिका लागि आफैसँग विद्रोह गरिरहेकी छिन्। 

प्रकाशित: May 25, 2022| 12:27 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्