विराटनगर- मोरङको रंगेली नगरपालिकामा नेकपा (एमाले)ले 'क्लिन स्विप' गरेको छ। ९ वडा रहेको नगरपालिकामा एक सदस्यबाहेक ४६ जना प्रतिनिधि नै जित्दै एमालेले 'क्लिन स्विप' गरेको हो।
मेयरमा एमालेका दिलिपकुमार अग्रवाल विजयी भएका छन्। उनले नेपाली कांग्रेसका मोदराज घिमिरेलाई ३ हजार ८ सय मतान्तरले पराजित गरे। अग्रवालले १२ हजार ८६१ मत ल्याउँदा घिमिरेले ९ हजार ६१ मत प्राप्त गरे।
नगर उपमेयरमा एमालेकी भुमाकुमारी पराजुली निर्वाचित भएकी छिन्। उनले ११ हजार ७९० मत ल्याएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका पन्नालाल मण्डलले ५ हजार १७५ मत ल्याएका छन्।
नगरमा एक सदस्य भने नेपाली कांग्रेसबाट निर्वाचित भएका छन्। वडा नम्बर ६ मा एक सदस्य पदबाहेक सबै जितेको हो।
रंगेलीको मेयरमा निर्वाचित अग्रवाल अघिल्लो कार्यकालमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। दिलिप एमाले प्रवेश गरी पुन: मेयर उम्मेदवार बनेका थिए। ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका घिमिरेलाई नै उनले पराजित गरेका थियो। अघिल्लो निर्वाचनमा उनले घिमिरेलाई १ हजार ८८२ मतान्तरले पराजित गरेका थिए। एमाले तेस्रो बनेको थियो।
घिमिरे गठबन्धनका तर्फबाट प्रतिस्पर्धामा थिए। निर्वाचनमा धाँधली भएको भन्दै गठबन्धनले ५ वटा वडापछि भएका गणना बहिस्कार गरेको थियो।
१७ स्थानीय तह रहेको मोरङमा १६ वटाको अन्तिम मतपरिणाम आइसकेको छ। सुन्दरहरैँचामा मतगणना जारी छ। यो नगरमा एमालेले अग्रता कायम गरेको छ। परिणाम सार्वजनिक भएका १६ स्थानीय तहमध्ये कांग्रेस र एमालेले ८–८ स्थानीय तहको प्रमुख पद जितेका छन्।