धनकुटा- धनकुटा नगरपालिकाका खड्गबहादुर दर्लामी मगर खच्चडमा दूध ढुवानी गर्छन्। धनकुटा नगर क्षेत्रकै भीरगाउँबाट कोशी राजमार्गमै जोडिएको जोरपाटीस्थित चिस्यान केन्द्रमा उनी दैनि दूध पुर्याउँछन्।
दैनिक ६५ देखि ८२ लिटरसम्म दूध ढुवानी गर्ने मगरले यो पेशा गरेको धेरै भयो। गाउँसम्मै सडक छ, दूधचाहीं किन खच्चडलाई ? प्रश्न भुईंमा खस्न नपाउँदै मगरको जवाफ थियो, 'गाडीबाट लाँदा पोसाउँदैन, न दूध बेच्नेलाई, न गाडीवालालाई।' गाडी प्रयोग गर्दा ढुवानी भाडा बढ्ने उनको भनाइ छ।
मगरका अनुसार गाडीमा ढुवानी गर्दा एक पटकमा कम्तीमा पाँच हजार रुपैयाँ खर्च हुन्छ। 'हामी कृषकले त्यो खर्च धान्न सक्दैनौं,' उनी भन्छन्। कोशी राजमार्ग आसपासका कृषकलाई त घरनजिक आउने ट्यांकरसम्म पुर्याउन सहज छ। राजमार्गभन्दा अलि टाढाका बासिन्दाका लागि भने सडक पुगे पनि त्यसमा पहुँच नपुगेको देखिन्छ।
भीरगाउँसम्मै सडक पुगे पनि कृषि उपज बजारसम्म पुर्याउन स्थानीय कृषकले आफ्नै ढाड या खच्चडकै प्रयोग गर्छन्। लामो बाटो हिँडेरै उनीहरू चिस्यान केन्द्रसम्म दूध पुर्याउँछन्।
धनकुटास्थित कोशी राजमार्ग आसपासका बासिन्दा चिस्यान केन्द्र र चिज उद्योगसम्म दूध पुर्याउन आफ्नै ढाड र खच्चडको प्रयोगबाट मुक्त हुन सकेका छैनन्।
विनामाया नेपाली तीमध्ये एक कृषक हुन्। उमेरले ४० पुग्न लागेकी उनी दैनिक दुई घण्टा उकालोमा दूध बोकेर चिस्यान केन्द्र र चिज कारखानामा पुर्याउँछिन्। चुलाचुलीस्थित गाउँबाट विभिन्न कृषकको घर-घरबाट संकलित दूध उनी प्रतिलिटर ६ रुपैयाँका दरले ओसार्छिन्। उनी भन्छिन्, 'दूध बोक्दा केही फाइदा भए पनि दूध बेच्ने अरूलाई ओसार्न समस्या छ। गाडी भए पनि महँगो छ। मैले नभ्याउदाँ र बिरामी हुँदा दूध बोकिदिने अरू छैनन्।'
मिल्क होलिडेदेखि महँगो ढुवानीसम्म
पहाडी क्षेत्रका दुग्ध कृषकहरूले 'मिल्क होलिडे'को मुख्य समस्या बेहोर्नुपर्छ। उद्योगले दूध नलिने दिन तोक्ने गर्छन्, जसलाई मिल्क होलिडे भनिन्छ।
धनकुटा क्षेत्रको दूध इटहरीमा केन्द्रीय कार्यालय रहेको कामधेनु दुग्ध सहकारीले खरिद गर्छ। उक्त उद्योगले मिल्क होलिडे तोकेको दिन कृषकको दूध खेर जान्छ। हरेक साता दुई दिन मिल्क होलिडे पर्छ। उत्पादनले बजार नपाउँदा कहिलेकाहीं त दूध पोखेरै किसानले आन्दोलन गर्छन्।
'सरकारले धेरै कृत्रिम कृषकलाई करोडौं अनुदान दिएको छ। तर, यसरी ढाडमा दूध र अन्य कृषि उपज बोकेर घण्टौं टाढाको बजार जान विवश कृषकका लागि केही गरेको छैन।'
राज्यले दूध ढुवानीमा सहयोग गरे यो समस्या हल हुने सहकारीका कार्यसमिति सदस्य तथा दुग्ध कृषक लोचन पौडेल बताउँछन्। उनी भन्छन, 'तराईमा त सबैतिर सडक छ। सवारी पुग्छन्। दूध किन्ने पनि घर-घरमा पुगेर किन्न सक्ने अवस्था छ। तर, पहाडमा दुःख छ, कृषकहरूलाई।'
पहाडका ट्यांकर गुड्ने राजमार्गबाट टाढा रहेका कृषकको ढुवानी समाधान गर्न सरकारी तवरबाट सहयोग हुनुपर्ने पौडेलको भनाइ छ। उनका अनुसार सरकारले धेरै दूध संकलन हुने क्षेत्रमा गाडी र नहुने स्थानमा खच्चडको व्यवस्था गरेर ढुवानीमा सहयोग गर्नुपर्ने उनको भनाइ छ।
'सरकारले धेरै कृत्रिम कृषकलाइ करोडौं अनुदान दिएको छ। तर, यसरी ढाडमा दूध र अन्य कृषि उपज बोकेर घण्टौं टाढाको बजार जान विवश कृषकका लागि केही गरेको छैन,' पौडेल भन्छन्, 'यस्तो अवस्थामा मान्छे कसरी कृषिमा लाग्छ, कसरी एक निम्न आयको कृषकले राज्यको अनुभूति गर्छ?'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४