बुटवल- रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुख नेपाली कांग्रेसले खोसेको छ। गठबन्धनबाट उम्मेदवार भएका नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्माले २०७४ सालमा आफूलाई पराजित गरेका नेकपा एमालेका चित्रबहादुर कार्कीसँग बदला लिएका हुन्।
शर्माले कार्कीलाई ५ सय ८२ मतान्तरले पराजित गरेका हुन्। शर्माले १५ हजार ६ सय ८६ मत ल्याउदा कार्कीले १५ हजार १ सय ४ मत ल्याए। कार्कीले २०७४ सालमा कांग्रेसका उनै शर्मालाई हराएर मेयरमा निर्वाचित भएका थिए। त्यसबेला कार्कीले शर्माभन्दा २ हजार ७३१ मत बढी ल्याएका थिए।
कांग्रेसले मेयरमा बदला लिएपनि उपमेयरमा भने एमालेकै विना राना दोहोरिएकी छन्। रानाले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका मानबहादुर महत (नारायण) लाई २ हजार ४२ मतान्तरले पराजित गरिन्।
२०७४ सालमा पनि एमालेबाटै उपमेयरमा निर्वाचित भएकी रानाले यसपालि १५ हजार ७ सय ६२ मत पाउँदा महतले १३ हजार ७ सय २० मत पाए।