आइतबार, वैशाख २३, २०८१

तीन दशकपछि बुटवल गुमाउने एमालेका तीन 'फ्याक्टर'

२०७० सालमा भएको दोस्रो पटकको संविधानसभा चुनावमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई समेत एमालेका पौडेलले पराजित गरेपछि त बुटवल एमालेकै ‘किल्ला’ का रूपमा परिभाषित भएको थियो। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा त एमालेले यसलाई थप पुष्टि गर्‍यो।
 |  शुक्रबार, जेठ ६, २०७९

विनोद परियार

विनोद परियार

शुक्रबार, जेठ ६, २०७९

बुटवल- प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निर्वाचनअघि भनेका थिए, 'गठबन्धनका पार्टीहरू एक/एक किलाका ढक हुन्, एमाले एक्लै क्विन्टल छ।’ यो अभिव्यक्तिको समर्थन गर्नेमा सबैभन्दा अगाडि थिए बुटवलका एमाले नेता-कार्यकर्ता। 

triton college

उनीहरूको तर्क थियो, ‘ओलीको अभिव्यक्तिलाई बुटवलले पुष्टि गर्छ।’ तर, वैशाख ३० गतेको स्थानीय तहको चुनावी मतपरिणामले एमाले क्विन्टलबाट आफै ढकमा परिणत भएको पुष्टि बुटवलले गरिदिएको चर्चा हुन थालेको छ। बुटवलमा कुनै चमत्कार नभए मेयरमा कांग्रेस उम्मेदवार खेलराज पाण्डेलाई एमालेले हराउन सक्दैन। 

हालसम्म १७ वटा वडाको निर्वाचन परिणाम सार्वजनिक भएको छ। १७ मध्ये ४ वडाध्यक्ष मात्रै एमालेले जितेको छ। यसमध्ये १० वडामा कांग्रेस, गठबन्धनबाट एक वडामा नेकपा माओवादी, एक वडामा नेकपा एकीकृत समाजवादी र एकमा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्। यतिसम्म कि एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेको बुटवल उपमहानगरको वडा नम्बर ८ मा पनि एमाले पराजित भएको छ। यो वडामा २०४९ सालपछि एमाले कहिल्यै हारेको थिएन। 

नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसीको वडा नम्बर १३ मा पनि झिनो मतले कांग्रेसकै वडाध्यक्ष विजयी भए। २०७४ मा बुटवलको मेयरमा निर्वाचित एमालेका केन्द्रीय सदस्य शिवराज सुवेदीको वडा नम्बर ७ मा पनि कांग्रेसले जित्यो। 

एमालेले आफ्नो गढ मान्दै आएको बुटवल वडा नम्बर २ मा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीका सुनिल शाक्यले वडाध्यक्ष जिते। दोहोरिएर उम्मेदवार भएका एमालेका रमेश नेपाललाई शाक्यले पराजित गरेका हुन्। हालसम्म सम्पन्न भएका वडाको परिणाम र मेयरमा आएको मतले एमाले किल्ला नरहने चित्र देखिएको छ। 

corrent noodles
Metro Mart

निर्णायक मानिएको बुटवल ११ र १२ को मात्रै मतपरिणाम आउन बाँकी छ। तर, अव्यवस्थित बसोवासी र सुकुम्वासी रहेको वडा नम्बर ११ बाट एमालेले एकलौटी मत पाउने सम्भावना न्यून छ। सुकुम्वासी र अव्यवस्थितत बसोबासीले लालपुर्जा नपाएको र तिनाउ दानव करिडोरका नाममा विस्थापित हुनुपरेको गुनासो गर्ने मतदाता त्यहीँ छन्।

'संगठित सदस्य हाम्रा धेरै छन्। कार्यक्रम भेला, जुलुस हाम्रै ठूलो हुन्छ। तर, नतिजा फरक आयो। यसमा हामी गम्भीर समीक्षा गर्छौं,' एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी भन्छन्। 

मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसबाट उम्मेदवार खेलराज पाण्डेले एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई ६ हजार बढी मतान्तरले पछि पारेका छन्। उपमेयरमा भने एमालेका उम्मेदवार सावित्रा अर्यालले गठबन्धनबाट उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङलाई पाँच हजार बढी मतान्तरले पछि पारेकी छन्। 

प्राप्त नतिजालाई आधार मान्दा मेयरका लागि कांग्रेस जित नजिक पुगेको छ। ‘यो नतिजा हाम्रो लागि अप्रत्याशित हो, संगठित सदस्य हाम्रा धेरै छन्। कार्यक्रम भेला, जुलुस हाम्रै ठूलो हुन्छ,’ नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी भन्छन्, ‘तर नतिजा फरक आयो। यसमा हामी गम्भीर समीक्षा गर्छौं।’ अध्यक्ष केसीले सदस्यलाई मत दिएको मतदाताले मेयर र वडाध्यक्षलाई नदिएको बताए। फरक र अप्रत्याशित मत आएकाले पार्टीमा गम्भीर छलफल गरिने उनले बताए।

राजधानी दाङ सार्ने निर्णयको विपक्षमा जनमत

 बुटवल पश्चिम नेपालको वाणिज्य ढोका हो। २०४९ सालमा नेपाली कांग्रेसले मेयरसहित १२ वडा जितेको थियो। १५ वडाको बुटवल नगरपालिका त्यतिखेर एमालेले ३ वटा मात्रै वडा जितेको थियो। एमाले २०५४ मा कांग्रेसलाई फेरि ३ वडामा सीमित पार्दै मेयर उपमेयरसहित बुटवल नगरपालिकाको नेतृत्वमा पुग्यो। त्यसयता भने बुटवलमा एमालेले आफ्नो गढ नै बनाएको थियो। 

०५४ सालमा एमालेका भोजप्रसाद श्रेष्ठले नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानलाई हराएर मेयरमा निर्वाचित भएका थिए।  २०५६ को निर्वाचनमा कांग्रेसका प्रधानले एमालेका विष्णु पौडेललाई पराजित गरेका थिए। तर, २०६४ मा भएको संविधानसभा निर्वाचनमा एमालेका विष्णु पौडेलले तिनै प्रधानलाई पराजित गरे। 

२०७० सालमा भएको दोस्रो पटकको संविधानसभा चुनावमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई समेत एमालेका पौडेलले पराजित गरेपछि त बुटवल एमालेकै ‘किल्ला’ का रूपमा परिभाषित भएको थियो। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा त एमालेले यसलाई थप पुष्टि गर्‍यो।

बुटवल उपमहानगरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डे।
कांग्रेस, माओवादीको गठबन्धनलाई जितेर एमालेले मेयर-उपमेयरसहित १६ वटा वडा जित्यो। यसपछि बुटवलमा एमालेसँग भिड्न त्यति सजिलो छैन भनेर राजनीतिक वृत्तमा चर्चा हुन्थ्यो। तर, वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले भने एमालेलाई फेरि ३० वर्षपछाडि धकेल्ने संकेत देखा परेको छ। यसरी एमालेले कमजोर नतिजा निकाल्नेबारे एमाले कार्यकर्ताले नै विभिन्न कोणबाट विश्लेषण गर्न थालेका छन्। 

नेकपा एमाले रुपन्देहीका जिल्ला सचिवालय सदस्य देवराज पोख्रेलले एमालेको पराजयको मूल कारण प्रदेश राजधानी रहेको मान्छन्। उनले सामाजिक सञ्जालमा पार्टीले हार व्यहोरेपछि लेखेका छन्, ‘अनेक कारण होलान् तर, मूल कारण प्रदेश राजधानी हो। राजधानी सार्नै नहुने भन्ने पनि होइन। तर, कुनै पनि कमिटी तथा रुपन्देहीका कुनै पनि संघ, संस्थामा सामान्य छलफलसमेत नगराई, ओली र प्रचण्डलाई सहमत गराएकै कारण, रुपन्देहीको पार्टी पङ्क्ति र आम जनतालाई सम्पूर्ण रुपले उपेक्षा गरी हठात् गरिएको निर्णयले स्वाभाविक परिणाम दिएको छ। तर, दुर्भाग्य रुपन्देही ध्वस्त पारेको राजधानी मुद्दाबाट दाङ पार्टीले समेत लाभ उठाउन सकेन।’

युवा नेता पोखरेलको यो टिप्पणी नेकपा एमालेका महासचिव शंकर पोखरेल लक्षित हो। एमालेले अघिल्लो निर्वाचनमा बुटवललाई प्रदेशको राजधानी बनाउने मुख्य एजेन्डा बनाएको थियो। एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवल राजधानी बनाएरै छाड्ने प्रतिबद्धता गरेका थिए। यतिसम्म कि उनले सार्वजनिक कार्यक्रममा कांग्रेस र माओवादीले बुटवलमा कुनै पनि प्रदेश कार्यालय नराखेकाले उनीहरूले राजधानी बुटवल बनाउँछु भन्दा पत्याउन नसक्ने जिकिर गरे। तर, निर्वाचनपछि भने प्रदेश राजधानी निर्णय गर्ने बेला पौडेलसहित लुम्बिनी प्रदेशसभा सदस्यहरू भूमिश्वर ढकाल, लीला गिरी, भोजप्रसाद श्रेष्ठसमेत विपक्षमा उभिन सकेनन्। 

१७ वडाको मतपरिणाम आउँदा एमालेले ४ वडामा मात्रै जित हासिल गरेको छ। एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडामा कांग्रेसले जितेको छ।

तत्कालीन मुख्यमन्त्री पोखरेलले नेकपाका तत्कालीन अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको सहमतिको हस्ताक्षर देखाएर पार्टी सांसदलाई ह्विप लगाएर प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ राप्ती उपत्यकालाई तोक्ने निर्णय गराएका थिए। यो निर्णयविरुद्ध बुटवलका नागरिक, उद्योगी व्यवसायीले विरोध गरे पनि तत्कालीन समयमा एमालेबाट जितेका पौडेलसहितका नेता र जनप्रतिनिधिले भूमिका नखेलेको भन्दै चर्को असन्तुष्टि पोखिएको थियो। पौडेलले अर्थमन्त्रीसँग राजधानी साटेको आरोप एमालेकै कार्यकर्ताले लगाउने गर्छन्। 

‘तत्कालीन समयमा पोख्ने माध्यम थिएन, तर जनताले जनमतमा पोखिदिए रिस,’ एमालेका जिल्ला एक सदस्यले भने, ‘एमालेको कमजोरी राजधानी मुद्दामा भएकै हो। त्यसको असर यो चुनावमा देखा पर्‍यो।’ 

अहिले निर्वाचन हार बेहोर्नुमा राजधानी प्रमुख कारण रहेको चर्चा एमाले वृत्तमा छ। नेकपा एमालेका केन्द्रीय सदस्य कमल गौतमले पनि राजधानी, बुटवलको सडक निर्माण पूरा नहुनु र तिनाउ दानव करिडोर पनि मूल कारण रहेको बताएका छन्। उनले नेताहरूको कार्यशैलीले पनि चुनाव महँगो पारेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्। 

बुटवल उपमहानगरमा नेकपा एमालेका मेयर उम्मेदवार बाबुराम भट्टराई।
बुटवल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र हो। त्यस्तै एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, पोलिटब्यूरो सदस्य लीला गिरीसहितका नेताको जिल्ला हो। एमालेका नेताहरूले नै चुनाव जितेपछि नेताहरू अहंकारी भएको, जनमैत्री र सबै दलको साझा नभएको बताएका छन्। 

‘स्वाभाविक रूपमा राजधानी बुटवल बनाउन नसक्दा परिणाममा त्यसको असर देखा परेको हो। तर विकासको गतिशीलतामा राजनीतिक उतारचढावले पनि रोक्यो,’ बुटवलका पूर्व मेयर, एमालेका नेता तथा लुम्बिनीका सांसद भोजप्रसाद श्रेष्ठले भने। उनले राष्ट्रिय राजनीतिमा गठबन्धन बन्नु, राजधानी, सडक निर्माण हुन नसक्नु जस्ता समस्यलाई विपक्षी गठबन्धनले क्यास गरेको बताए। विपक्षीले राजधानी सारेको विरोधमा पाएको जनमत बुटवल राजधानी कायम गर्न नसक्दा फेरि उल्टिने तर्क उनले गरे। 

एकातर्फ एमालेले वाचा गरेअनुसार जनप्रतिनिधिले काम गर्न सकेनन् भने लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमालेका महासचिव शंकर पोखरेलले रुपन्देहीका नेताहरूसँग खेलेर विष्णु पौडेललाई कमजोर बनाउँदा पनि परिणाम उल्टो आएको विश्लेषण भइरहेको छ। 

मुख्य राजमार्गको बेहाल, सुकुम्वासी बस्तीको समस्यामा उदासीन, खानेपानी समस्या, फोहोर व्यवस्थापन तथा तिनाउ दानव करिडोरका नाममा नागरिक विस्थापित गराउन खोजेको आरोप एमालेमाथि लागेको छ। यति मात्रै होइन नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रभावशाली नेताहरू लाग्नुले पनि यो पटक एमालेले क्षति भोग्नुपर्‍यो। त्यस्तै मेयरको उम्मेदवार छनौटमा एउटालाई आशा देखाउने तर, निर्णय अर्कै गर्दा पनि त्यसले नतिजामा क्षति पारेको हुनसक्ने विश्लेषण भइरहेको छ। 

यस्तै बुटवल यातायातको हब भए पनि एमाले नेतृत्वको स्थानीय सरकार र संघीय सरकारले यातायात क्षेत्रलाई सिन्डिकेटका नाममा समितिबाट प्रालिमा लगेको असन्तुष्टि पनि पोखिएको एक यातायात व्यवसायीले बताए। पश्चिम नेपाल बस व्यवसायी प्रालिमा मात्रै २४ सय गाडी छन्। यसमा १२ सय परिवार आबद्ध छन्। यी परिवारका ८० प्रतिशत नागरिकले एमालेलाई भोट नहालेको ती व्यवसायीले बताए। स्थानीय सरकारले बढाएको करबाट असन्तुष्ट व्यवसायीले समेत एमालेको प्रचारमा हिँडे पनि मत नदिएको बताइएको छ। 

‘एमालेका लागि नतिजा अप्रत्याशित लाग्यो होला तर एमालेले बुटवल उपमहानगरको नेतृत्व गरिरहँदा जनताको असन्तुष्टि बढिरहेकै थियो,’ लेखक तथा अध्येयता रामचन्द्र श्रेष्ठ भन्छन्। सरकारमा भएकाहरूसँग जनताको प्रत्यक्ष असन्तुष्टि गाँसिने हुँदा बुटवलमा त्यसकै प्रतिबिम्ब निर्वाचनमा देखिएको उनले बताए। ‘चुनावको मुखैमा एमालेका मेयर पदका उम्मेदवारको श्रीमती सुकुम्वासी बस्तीमा भेटिनु, प्रदेशको राजधानी, तिनाउ दानव करिडोरबाट विस्थापित हुने भय, बुटवलको ६ लेन सडकले पाएको सास्ती, यी पनि एमालेका लागि मत कटाउने माध्यम बन्यो,’ उनले भने, ‘पार्टी विभाजन र पार्टीभित्रको गुट अर्को मुख्य कारण हो।’ 

त्यसो त सत्तामा बसेका दलहरूले नेपालमा चुनाव जित्न नसक्ने विगतदेखिकै निरन्तरता रहेको श्रेष्ठको विश्लेषण छ। ‘विगतमा ६४/७० सालको संविधानसभा निर्वाचन, २०७४ कै निर्वाचन हेरौं,’ उनले भने, ‘अहिले पनि जुन दलले नेतृत्व गरेको छ। त्योभन्दा फरक दलकै उम्मेदवारले जितेका छन्।’ उनले जनता परिवर्तनशील हुने भएकाले कसैको पकडमा नहुने बताए।

प्रकाशित: May 20, 2022| 13:04 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...