बुधबार, असार ३१, २०८३

मनुजबाबु मिश्रको चार दशकको एकान्‍तबास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
करीब चार दशकदेखि एकान्तवास बसेका अग्रज आधुनिक चित्रकार मनुजबाबु मिश्र विश्व चित्रकलाको इतिहासका अध्येता र व्याख्याता पनि हुन्।

रेडियो नेपालमा गायन देखि लिएर बालकृष्ण सम र भीमनिधि तिवारीका नाटकमा अभिनय समेत गरेका मिश्रले जीवनका शुरुवाती दिनमा थुप्रै किसिमका कलामा हात हालेको बताउँछन्। पछि गएर उनले निबन्ध र उपन्यासमा पनि कलम चलाए, तर कलाकार बुवाबाट प्रभावित भएर उनले चित्रकला क्षेत्रलाई नै मुख्यतया अघि बढाएका छन्।

बुवाको प्रभाव

बुवासंगै उनी तत्कालिन चर्चित चित्रकारहरु आनन्दमुनि शाक्य र चन्द्रमानसिंह मास्केलाई भेटिरहन्थे र उनीहरुका बारेमा विभिन्न लेख समेत लेखेका छन्। आनन्दमुनि शाक्यले नेपाली शैलीमा बनाएको बुवाको चित्र उनले अझै पनि सम्हालेर राखेका छन्।

"बुवा हरेक कुरा गर्नुहुन्थ्यो। चित्र पनि बनाउनुहुन्थ्यो। मैले मेरो बुवाको बारेमा एउटा लेख लेखें। र लेखिसकेपछि अन्तिममा के भनें भने, बुवाको फोटोकपी हुँ म," उनी आफ्नो प्रारम्भिक जीवनमा परेको बुवाको प्रभावका बारेमा भन्छन्।

एकान्तवास

देशविदेशमा चित्रकला सिकेका र प्रदर्शन गरेका मिश्र करीब ४० वर्षदेखि भने एकान्तवासमा छन्।

उनी घरबाहिर निस्किंदैनन्, अनेक किसिमका कलाकृति, हतियार र पुस्तकले घेरिएर उनी चित्र बनाउनमै व्यस्त रहन्छन्, यतिसम्म कि रेखाचित्र बनाउनका लागि बाँसको कलम पनि आफैं बनाउँछन्।

बहुदल व्यवस्थाप्रति चित्त नबुझेर एकान्तवास रोजेको उनी बताउँछन्। "म आस्था एकमा राख्छु, धेरैमा होइन। त्यसैले यो बहुल व्यवस्था मलाई मन पर्दैन," उनी भन्छन्।

समयसंग संवाद

एक्लो बसेर गर्न सक्ने काम समाजमा बसेर गर्न नसक्ने उनी बताउँछन्। तर एक्लै बसेतापनि समाजको ऐना आफ्नो कलामा उतार्न सक्नेमा उनी विश्वस्त छन्।

"मैले मेरा चित्रमा नेपालका झिना मसिना कुरा हेरेको छैन। मेरो आफ्नो संसार छ। यसको चेतनाले म आफ्नो समयसंग संवाद गर्छु," उनी भन्छन्।

एक्लिएको समाज

आधुनिक समाजलाई व्यक्ति केन्द्रित भन्छन् उनी, र आफ्ना चित्रमा विभिन्न मिथकीय विम्ब र प्रतीकका माध्यमबाट त्यस्तै समाज उतार्न खोजेको बताउँछन्।

उनका चित्रमा अक्सर तीनवटा प्रतीक देखिन्छनः त्रिशुल, सिंग, र रकेट। रकेटले पश्चिमा सभ्यतालाई, त्रिशुलले शक्तिलाई र सिंगले मानिस भित्रको पशुलाई प्रतिनिधित्व गर्ने उनी बताउँछन्।

"त्रिशुललाई महत्व दिनुको कारण के हो भने हाम्रो सबैकुरा तीन बिन्दुमा हुन्छ। सत्व, रज, तम। ब्रह्मा, विष्णु, महेश। र यो हिन्दु सभ्यतामा मात्रै होइन अन्य धेरै सभ्यतामा पनि प्रचलित प्रतीक हो। ग्रीक सभ्यतामा समुद्रका देवता पोसाइडनले पनि त्रिशुल नै बोकेका हुन्छन्। त्रिशुललाई मैले शक्तिको प्रतीक मानेको छु," उनी एउटा प्रतीकको व्याख्या यसरी गर्छन्।

मानिसभित्रको जनावर

सिंगको प्रतीक भने त्यो भन्दा अलि जटील भएको उनी बताउँछन्। "त्यो हतियार हो, मानिस भित्र लुकेको पशुको प्रतीक हो" उनी भन्छन्।

"तपाईंले मलाई भन्नुहोला यो कस्तो राम्रो मान्छे छ। तर तपाईंले मेरो बारेमा केही नकारात्मक कुरा गर्नुभो भने भित्रको जनावरले तपाईंलाई तुरुन्त आक्रमण गरिहाल्छ। अहिलेको व्यक्ति केन्द्रित समाजले मान्छेलाई मान्छेबाट परपर हटाइरहेको छ। म कति एक्लो भइसकें भनें म यही ठाउँमा जन्में, पुस्तौं बित्यो मेरो। तर मेरै ढोका अघिल्तिरका मान्छेलाई सोध्नुभो भने मेरो नाम जान्दैन। मानिसलाई मात्रै हेरे मान्छेले। मान्छेभित्र भएको जनावरलाई हेरेनन्। त्यही देखाउने कोशिश गर्छु मेरा यी तस्वीरबाट।"

आफ्नो तस्वीर

उनका चित्रमा ती सिंगहरु धेरैजसो उनकै टाउकोमाथि बनाइएका हुन्छन्। कतै शिवको शरीरमा आफ्नो अनुहार, कतै तारापुञ्ज भित्र आफ्नो रेखाचित्र त कतै बिरामी भएर ओछ्यानमा बसेर पानी खाइरहेको आफ्नै पूर्णकदको चित्र।

उनी भन्छन्: "मेरो टाउको भन्दा राम्रो संसारमा अरु कसैको टाउको लाग्दैन मलाई। चौबीसै घण्टा ऐना हेर्छु म। यहाँ स्केचबुकमा हजारौं रेखाचित्र छन्। कुनैमा पनि मेरो टाउको बाहेक अरुको टाउको छैन।"

गैर युरोपेली कला

आफ्नै मात्रै चित्र बनाउने भएतापनि उनले विश्वका कलाको अध्ययन गरेर लेख र पुस्तक लेखेका छन्, र हाल पनि युरोप इतरका देशको कलाको इतिहासको बारेमा पुस्तक लेख्दैछन्।

प्राचीन इजिप्टका कलाबाट आधुनिक युरोपेली कला सबैथोक सिकेको र अझै पनि आधुनिक कला त्यहाँभन्दा अघि बढ्न नसकेको उनको दावी छ। "युरोप जन्मिनु भन्दा हजारौं वर्ष अगाडि इजिप्टमा सभ्यता निकै विकसित भइसकेको थियो," उनी बताउँछन्। "नेफरटिटी भन्ने रानीको मूर्ति छ। अहिले सम्म कसैको ढंग पुगेको छैन त्यस्तो मूर्ति बनाउने!"

तर विगत ५०० वर्षदेखि भने युरोपियनहरुले सबैतिर 'मोनोक्रोमिक वाश' अर्थात सबैथोकलाई एकै रंगको बनाउँदै लगेको र युरोप बाहेकका अन्य इतिहास मेट्दै आएको मिश्र बताउँछन्।

"५०० वर्ष अघि युरोपेलीहरु अफ्रिका पुग्नुभन्दा अगाडि त्यहाँ जुन किसिमको कला थियो, अहिले त्यही कलालाई उनीहरु उत्कृष्ट भनेर त्यसको प्रवर्द्धन गर्न लागिपरेका छन्। विश्वले मनपराउने अफ्रिकाको कला त त्यो हो नि! तर युरोपको प्रभावमा त्यो कला मेटिंदै छ! र ५०० वर्ष पछि उदाएका यी पश्चिमा शैलीका कलाकृति मात्रै देखिन्छन्।"

मौलिक शैलीको खोजी

हाल भने नेपालको परम्परागत शैलीमा चित्र बनाउन सम्भव नहुने भन्दै आफू पनि पश्चिमा शैलीमा चित्र बनाउन वाध्य भएको उनी बताउँछन्। नेपालको मौलिक शैलीको प्रवर्द्धन गर्नका लागि भने मौलिक कलाको खोजी गर्नुपर्ने र त्यसको विद्यालय स्थापना गर्नुपर्नेमा उनी जोड दिन्छन्।

त्यसै उद्देश्यले उनले घरैमा विद्यार्थीहरुलाई बोलाएर कला सिकाउने गरेका थिए, र त्यसमा पनि किराँत कालका कलाको खोजी र प्रवर्द्धनमा उनले विशेष जोड दिएका थिए।

"हुन त नेपालको कलामा लिच्छवि काललाई स्वर्ण युग भनिन्छ," उनी भन्छन्। "तर त्यो भन्दा अघि के थियो त्यसको मूल्यांकन नगरी त्यो कसरी स्वर्ण युग भन्न सकिन्छ? इजिप्टको सभ्यताको समकालीन नेपालको किराँत वंशले २९ पुस्तासम्म राज्य गरेको थियो र त्यस समयमा उत्पन्न भएका कलाकृतिको अझै पनि अनुसन्धान भएको छैन।"

पुनरुत्थान प्रयास

त्यही किराँत कलालाई पुनरुत्थान गर्ने उद्देश्यले उनले प्रतीभा हेरेर किराँत बालकहरुलाई मात्रै कला सिकाउने अठोट गरेका थिए। घरमै कला सिकाउने गरेका थिए। तर पछि धेरै मान्छे सिक्न आएर त्यो काम बन्द गरेको उनी बताउँछन्।

बालकहरुलाई सिकाउने काम होस् वा चित्र बनाउने, जे पनि काम आफ्नो लागि गर्ने गरेको उनी बताउँछन्। अर्थात उनी बेच्नका लगि चित्र बनाउँदैनन्। र घरमा थाकका थाक राखेका आफ्ना चित्र हेर्नलाई दिनभरी समय लाग्ने उनी बताउँछन्।

आफ्नो लागि कला

"नेपालका चित्रकारहरुबाट एक किसिमको चित्रको माग हुन्छ, सुन्दर हिमालको वा सुन्दर संस्कृतिको। त्यस्ता मात्रै चित्र बनाएर बसेको भए म निकै धनी भइसक्थें। र उनी जुन किसिमको चित्र बनाउँछन्, त्यो पनि कसैलाई केही देखाउनका लागि होइन कि आफ्नै अभिव्यक्तिका लागि बनाएको उनी बताउँछन्।

"कलाको परिभाषा बदलिंदै गएको समयमा कला सुन्दर हुनुपर्छ भन्ने छैन," उनी भन्छन्। "पहिले पहिले जे सुन्दर हुन्छ त्यसैलाई राम्रो भनिन्थ्यो, जुन हेर्दाखेरी मान्छेलाई आकर्षण गरोस्। अहिले त्यो स्थिति छैन। युद्धमा पीडित मानिसको चित्कार र कोलाहलले मानिसलाई बढी आकर्षण गरिरहेको हुन्छ।"

अभिव्यक्ति प्रधान

सिंग जस्ता विम्बहरुको प्रयोग गरिएका उनका कलामा पनि सुन्दरता भन्दा अन्य भावनाकै प्राथमिकता देखिन्छ।

त्यस्तो कलाले समाजलाई के दिन्छ भन्ने प्रश्नको उत्तरमा उनी जवाफ दिन्छन्, "कलाकारले कसैलाई केही दिनका लागि केही बनाउँदैन। कलाकारले मात्र आत्मशान्तिका लागि कलाको श्रृजना गर्छ।"

उनी थप्छन्, "मैले कलालाई 'माइ शिट' भन्ने गरेको छु। अर्थात, विकार भने पनि सकार भने पनि निष्काशन कला हो। कला भनेको भित्रबाट उमठ्ठिएर आउँछ, अनि खप्नै नसकेर विस्फोट जब हुन्छ तब मात्रै कलाको श्रृजना हुन सक्छ।" बीबीसी नेपाली सेवाले तयार पारेको
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।