काठमाडौं– इलामको माई जोगमाई वडा नम्बर १ मा गोला प्रथाबाट अध्यक्ष चयन भएका छन्। गोला प्रथाबाट यामकुमार कार्कीले वडाध्यक्ष पदमा बाजी मारेका हुन्।
माई जोगमाई गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा दुई उम्मेदवारको बराबरी मत आएपछि मंगलबार बिहान गोला तानिएको हो।
वडाध्यक्षका उम्मेदवार टेकबहादुर शाह र यामबहादुर कार्की दुवैले १०८४ मत पाएका थिए। यसै विषयलाई लिएर सोमबार राति सत्ता गठबन्धन पक्षले विज्ञप्ति जारी गर्दै १ नम्बर वडाध्यक्षको निर्क्योल नभएसम्म मतगणना नै स्थगित गर्नुपर्ने माग गरेको थियो। उनीहरुले निर्वाचन कार्यालयमा निवेदन नै दिएका थिए।
त्यसकारण ६ नम्बर वडाको जारी मतगणना सोमबारबाटै रोकिएको छ। तर आज एमालेका कार्कीले कांग्रेसका टेकबहादुर शाहलाई पछि पार्दै अध्यक्ष पदमा जित निकालेपछि स्थगित भएको मतगणना समेत सुरु गरिने निर्वाचन कार्यालय नयाँबजारले जानकारी दिएको छ।