काठमाडौं- ०७४ सालको स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकामा विवेकशील र साझा पार्टी मूलधारका राजनीतिक दलहरुलाई चुनौती बनेका थिए। आफूलाई ‘वैकल्पिक शक्ति’ दाबी गरेका यी दलले मतको अंकगणित नै प्रभावित बनाउन सक्ने गरी छाप छोडेका थिए। मतदाताले पनि सम्मानजनक मत दिए। विवेकशीलबाट चुनावी मैदानमा होमिएकी रञ्जु दर्शना र साझाका किशोर थापाले राम्रै चर्चा कमाए। दर्शनाले २३ हजार ४३९ ल्याउँदा थापाले १८ हजार ४१६ मत पाएका थिए।
यी दुई पार्टी एक भएको भए महानगरको नेतृत्वमा चुनिन सक्ने टिकाटीप्पणी त्यसबेला पनि भए। पछि यी दुई दल एक पनि भए। तर, अहिले काठमाडौंको परिणाम ठिक उल्टो देखिएको छ। ०७४ मा राजनीतिक दललाई ‘आच्छुआच्छु’ बनाएको विवेकशील साझा ०७९ सालमा आइपुग्दा गुमनाम छ।
यो सामग्री तयार पार्दासम्म काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन्। उनलाई पछ्याउँदै एमालेका केशव स्थापित दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा छन्। तर, यसअघि काठमाडौंको राजनीति तरङ्गित बनाएको विवेकशील साझा भने धेरै पछाडि देखिन्छ।
साझाकी मेयर उम्मेदवार समीक्षा बाँस्कोटा र उपमेयर कीर्ति तुलाधरले अहिलेसम्म सय मत पनि पाएका छैनन्। यसबाट मतदाताले स्वघोषित ‘वैकल्पिक शक्ति'लाई पत्याएको देखिँदैन। जबकि ०७४ मा प्रदेशसभा चुनावमा यिनै बाँस्कोटा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ को उम्मेदवार थिइन्। त्यसबेला उनले ४ हजार ३ सय ४३ मतसहित तेस्रो हैसियत प्राप्त गरिन्।
यसपटक भने बाँस्कोटाले पहिलाको जति मत पनि ल्याउने छाँट देखिँदैन। चुनावी प्रचारको क्रममा ‘पुरानै दलका उम्मेदवार रोजे काठमाडौं कोमामा जान्छ’ भनेर चेतावनी दिएकी उनलाई मतदाताले पत्याएनन्। रवीन्द्र मिश्रले नेतृत्व गरेको पार्टीलाई मतदाताले विकल्पका स्वीकार गर्न तयार देखिएनन्।
चुनावी प्रचारको क्रममा पनि विवेकशील साझाका उम्मेदवारको चर्चा सुनिएन। पार्टीले २९ जना प्रमुखसहित २ सय ७६ जना उम्मेदवार उठाएको थियो। चुनावमा काठमाडौँ, भरतपुर, पोखरा, ललितपुर र विराटनगर महानगरसहित विभिन्न तहमा प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यलाई उम्मेदवार बनाएको थियो।
देशभरमा गरेर २७६ उम्मेदवार विवेकशील साझाले उठाएको छ। तर, सबैतिर यो पार्टी छायामै देखिन्छ। जबकी स्वतन्त्र उम्मेदवार बालेन शाहदेखि पोखराका गणेश पौडेलसम्म राष्ट्रिय राजनीतिमा चर्चामा देखिए। कतिपय स्थानमा स्वतन्त्रहरुले सम्मानजनक मत पनि पाएका छन्। यसबाट मतदाताले विकल्प चाहेको तर विवेकशील साझालाई ‘वैकल्पिक शक्ति’ मान्न तयार नभएको देखिन्छ।
यसअघि पाएको लोकप्रियता र मतपरिणामलाई पार्टी नेतृत्वले बुझ्न नसक्दा विवेकशील साझामा वर्तमान अवस्था आएको बताउँछन्, प्रा. कृष्ण खनाल। उनका अनुसार पार्टी एकतापछि नै विवेकशीलले अधोगतिमा जान थालेको हो। साझा र विवेकशीलको एकतापछि यो पार्टी झन् भताभुंग भएको उनको टिप्पणी छ।
यद्यपि, कहिलेकाहीँ चुनावको मतपरिणाम पार्टीगतभन्दा पनि उम्मेदवारको व्यक्तिगत प्रभावका कारण फरक पर्ने खनाल बताउँछन्। तर, यसपटक समीक्षा बाँस्कोटाले रञ्जु दर्शनाको जस्तो मतदाताको ध्यान खिच्न सकिनन्। दर्शनाको प्रस्तुति फरक रहेकोले त्यसबेला विवेकशीलले सम्मानजनक मत ल्याएको खनालको भनाइ छ।
‘विवेकशीलको उद्देश्य के हो? कहाँ पुग्ने हो? किन स्थापना भएको हो भन्ने नै देखिएन। अर्को कुरा, पार्टी आफ्नो मत पाउन अरुजस्तो लामो इतिहास बोकेको पार्टी पनि हैन,’ खनालले नेपाल समयसँग भने, ‘त्यसैले अस्तित्व नै नभएको यस्ता पार्टीले हिजो आयो भन्दै सधै भोट खरर्र आउँछ भन्ने कुरा पुष्टि गरेन। यो दुईचार वर्षमा पार्टीको जुन अवस्था देखियो, त्यसैको परिणाम हो यो।’
हुन त यसबीचमा विवेकशील साझाका नेतृत्वकर्ता रवीन्द्र मिश्रले संविधानको मर्मविपरीत प्रश्न उठाउन सुरु गरे। उनी खुलेरै संघीयता, धर्मनिरपेक्षतामाथि जनमत संग्रह हुनुपर्छ भनेर लागिपरे। ‘विचारभन्दा माथि देश’ भनेर अहिलेका उपलब्धिमाथि नै पुनःविचार गर्नुपर्ने मत व्यक्त गर्न थाले। उनको मिश्रको ‘विचार भन्दामाथि देश’ नारा नै विवादित बन्न पुग्यो। यसले पार्टीभित्र थप फाटो ल्यायो। यी सबैको कारण पनि अहिले विवेकशील साझाले अपेक्षाकृत मत ल्याउन नसकेको संकेत खनालको थियो।
त्यस्तै, ०७४ को चुनावमा विवेकशील र साझाले पाएको मत उनीहरुको आफ्नो मतभन्दा पनि अन्य दल र राज्यप्रतिको असन्तोष पोखिएको मत रहेको राजनीतिक विश्लेषक राजेन्द्र महर्जन बताउँछन्। महर्जनका अनुसार जनतामाझ मुद्दाविशेष कुनै काम नगरेको र लामो इतिहास पनि नभएकोले सो पार्टीको आफ्नो जनाधार पहिला पनि थिएन। खाली मिडिया हाइप र व्यक्तित्वले चमत्कार गर्छ भन्ने मानसिकताका कारण नै काठमाडौंमा राम्रो मत पाएको उनको भनाइ छ। यसपटक बालेनलगायत अन्य स्वतन्त्र उम्मेदवारको हकमा पनि त्यस्तै मानसिकताले काम गरेको उनी बताउँछन्।
‘काठमाडौंले विगतमा पनि यस्ता चमत्कार गरेको छ। कहिले नानीमैया दाहालको नामबाट कहिले बालेनको नामबाट चमत्कार गरिन्छ। जबकी त्यस्ता उम्मेदवारको कुनै ठोस जनाधार नै हुँदैन,’ महर्जनले भने, ‘त्यसैले यिनीहरुले आफ्नो मत पाएको भन्दापनि राजनीतिक दलप्रतिको असन्तोष आलोपालो यस्ता पात्रहरुमा पोखिएको जस्तो लाग्छ। यस्तो मत भनेको पात्रविशेष यताउता भइरहन्छ।’