काठमाडौं- अर्जुन लामाले ट्रक चलाउन थालेको १५ वर्ष बित्यो । राजधानीका सडकमा खाल्डाखुल्डी सधैं उस्तै देख्छन् । खाल्डाखुल्डीकै कारण भएका दुर्घटना उनले आँखै सामुन्ने देखेका छन् ।
बनेपा घर भएका प्रज्वल बोहरा गोंगबुस्थित नयाँबसपार्क नजिक बस्छन् । उनी पनि गाडी चालक हुन्, कुखुरा ओसारपसार गर्छन् । वर्षदिनदेखि गरिरहेको कामबाट भन्दा उनी सडकका खाल्डाखुल्डीका कारण आजित बनेका छन् ।
नयाँ बसपार्कबाट मनमैंजुतर्फ मोडिने बाटोमा तारकेश्वर धाम आउँछ । पछिल्लो समय विष्णुमती करिडोर सडकमा पर्छ, यो धाम । धामनजिक करिब सय मिटरमा अत्यासलाग्दो गरी खाल्डाखुल्डी परेका छन् ।
शुरुमा सडक कालोपत्रे गरियो अनि ढल सानो भयो भनेर भत्काइयो । त्यसपछि माटो र ढुंगा बिछ्याएर माथिबाट पेलियो अनि कालोपत्रे सडक बन्यो ग्राभेल । अर्को दिन पानी पर्यो । शायद, सडकमा खाल्डो पार्ने भूमिकामा कालोपत्रे भत्काउनेहरू परेनन् । ढल सानो हुनुचाहीं कालोपत्रे सडक ग्राभेल हुँदै खाल्डाखुल्डीमा रूपान्तरण हुनुको कारण भएको बताउँदै स्थानीय बासिन्दा व्यंग्य गर्छन् ।
'अब पिच नहुने कुरा छ,' स्थानीय दुर्गा भट्टराई भन्छन् । उनी सडकछेउमा मदिरा पसल चलाउँछन् । पाँच वर्षदेखि काठमाडौं बस्दै आएका उनलाई हिलो, धुलो र सडकका खाल्डाखुल्डीले आजित बनाएका छन् ।
कहिले गाडीको पत्ता भाँचिने त कहिले खाल्टोमा गाडी भासिने समस्या बेहोर्दै आएका छन्, स्थानीय बासिन्दाले । गाडीमा पठाइएका व्यापारिक प्रयोजनका सामान जस्ताको तस्तै पुर्याउन नसकिने उपत्यकाभरिको साझा समस्या हो ।

खाल्टाखुल्टी धेरै हुँदा वर्षामा पानी जम्ने र हिलो हुने समस्या सामान्यझैं बन्न थालेको छ, उपत्यकामा । पैदल यात्रुका लागि त काठमाडौंका सडक कहिल्यै समाधान नहुने यातना स्थलझैं बनेका छन् । बढी मारमा पर्छन्, बालबालिका र वृद्धवृद्धा ।
टोखामा व्यवसाय गर्ने टंकराज कोइराला काठमाडौं बस्न थालेको पाँच वर्ष भयो । कस्मेटिक पसल छ उनको । खाल्डाखुल्डीयुक्त सडकका कारण व्यापार घाटा पाँच गुणाले बढेको उनको भनाइ छ । पटक-पटक वडा कार्यालयको ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ ।
यस्तै अवस्था छ, चाबहिल-बौद्ध सडकको पनि । बौद्ध गेटसँगै अप्टिकल पसल सञ्चालन गर्ने दीपेन्द्र श्रेष्ठ खाल्डाखुल्डी मात्र होइन, सडकको धुलो र हिलोलाई पनि साथीजस्तै मान्न थालेका छन् । नमानून् पनि किन, विस्तार गर्ने बताउँदै भत्काएर लथालिंग बनाइएको बौद्ध सडक कालोपत्रे गर्ने कुनै छाँट देखाएका छैनन्, सरकारी निकायले ।
बौद्ध क्षेत्रका बासिन्दाले किसान दिवस अर्थात् असार १५ सडकमै मनाए । ५० भन्दा बढी कविहरूले सडकमै धान रोप्दै हिलो, धुलो, धुँवा र ट्राफिक जामसम्बन्धी कविता वाचन गरे ।
साउन र भदौमा सडकमा जम्ने हिलो स्थानीय बासिन्दाका लागि सामान्य विषय बन्न थालेको छ । सुख्खायाम शुरु भएपछि गाडीहरूको हुइँक्याइसँगै ढपक्क ढाक्ने धुलो पनि साथीझैं लाग्न थालेको छ, स्थानीय बासिन्दालाई ।
जोरपाटी-नारायणटार सडकको पनि उस्तै बेहाल छ । सडकको दुरवस्थाको शिकार बनेका छन्, दुईपांग्रे सवारी साधन र पैदल यात्रु ।

गत वर्ष यही समयमा काठमाडौंको सामाखुशीमा एक बालिका ढलमा बगिन् । धन्न मुस्किलले उनको ज्यान जोगाइयो । काठमाडौंकै नेपालटारमा भने अर्की एक बालिकाको ज्यान बचाउन सकिएन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र राजधानीका सबै खाल्डाखुल्डी पुरिसक्न सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिए । तर, वर्षदिन बितिसक्दा पनि राजधानीका सडकमा बनेका खाल्डा पुरिएका छैनन् ।
कसले पुर्ने खाल्टाखुल्टी ?
यस वर्ष काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका सडकका खाल्डाखुल्डी पुर्ने योजना बनाएको छ । गत मंसिर पहिलो साता त्यसका लागि टेन्डर भएको थियो ।
असार मसान्तसम्ममा करिब १२ करोडको काम भएको सह-प्रवक्ता नमराज ढकाल बताउँछन् । आठ मिटरभन्दा साना सडक महानगरपालिकाको मातहतमा पर्छन् । तिनै सडक पाँच वटा प्याकेजमा बाँडेर २५ करोडमा खोल्डा पुर्ने ठेक्का लगाइएको थियो ।
ढकालका अनुसार ३५ किलोमिटरको सडकमा ८७ हजार वर्गमिटर टालिएको छ । बाँकी काम आगामी कात्तिकसम्ममा सकिने उनको दाबी छ ।
'साना सडकका खाल्डा पुर्दा जनताले पत्याउँदैनन् । किनभने, ठूला सडकका खाल्डाखुल्डी उस्तै हुन्छन्,' ढकाल भन्छन्, 'ठूला सडक हाम्रो मातहतमा पर्दैनन् । गाली भने महानगरले खानुपर्छ ।'

विभिन्न परियोजना तथा योजनामा रहेका स्मार्ट सिटीबीच समन्वय हुन नसक्दा राजधानका सडकको दुरवस्था अन्त्य हुन नसकेको उनको भनाइ छ । मेलम्ची खानेपानी, ढल निकास र स्मार्ट सिटीका लागि जमिनमुनि तार बिछ्याउनेजस्ता पूर्वाधारका काममा समन्वय हुन सक्दा मात्र विश्वासिलो काम हुने उनको भनाइ छ ।
सडक विभागका इन्जिनियर शिवहरि सापकोटा भने त्यसको दोष नागरिकले निर्माण गर्ने भवन, ढल र पानी निकासको पूर्वाधार निर्माणलाई दिन्छन् ।
ट्राफिक इन्जिनियर आशिष गजुरेल राजधानीका सडकको दुरवस्थाको मुख्य कारण सरकारी निकायहरूको कमजोरी भएको औंल्याउँछन् ।
हुन पनि, मित्र राष्ट्रका सरकार/राष्ट्र प्रमुख भ्रमणमा आउँदा रातारात पुरिन्छन्, सडकका खाल्डाखुल्डी । त्यो पनि, उनीहरूको सवारी चल्ने सडकमा मात्र । उनीहरू फर्किएपछि खाल्डाखुल्डी पुर्ने दायित्वबाट सरकारी निकायहरू पन्छिन्छन् । जस्तो- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २८-२९ वैशाखमा भएको नेपाल भ्रमणका क्रममा उनको सवारी चलाइने सडकका खाल्डाखुल्डी रातारात पुरिएको थियो ।
अब आगामी १४-१५ भदौमा काठमाडौंमा आयोजना हुने चौथो बिमस्टेक बैठकका लागि फेरि खाल्डाखुल्डी पुर्ने काम शुरु हुनेछ । र, यस पटक पनि पहिलेझैं बिमस्टेक सदस्य राष्ट्रका सरकार/राष्ट्र प्रमुखहरू हिँड्ने रुटमा पर्ने सडकका खाल्डा पुरिने निश्चित छ । अरू सडकका खाल्डाखुल्डी जहाँको त्यहीं रहने पनि निश्चित छ ।
