बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ज्यानै लिने काठमाडौंका खाल्डाखुल्डी कहिले पुरिएलान् ?

ज्यानै लिने काठमाडौंका खाल्डाखुल्डी कहिले पुरिएलान् ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अर्जुन लामाले ट्रक चलाउन थालेको १५ वर्ष बित्यो । राजधानीका सडकमा खाल्डाखुल्डी सधैं उस्तै देख्छन् । खाल्डाखुल्डीकै कारण भएका दुर्घटना उनले आँखै सामुन्ने देखेका छन् । 

बनेपा घर भएका प्रज्वल बोहरा गोंगबुस्थित नयाँबसपार्क नजिक बस्छन् । उनी पनि गाडी चालक हुन्, कुखुरा ओसारपसार गर्छन् । वर्षदिनदेखि गरिरहेको कामबाट भन्दा उनी सडकका खाल्डाखुल्डीका कारण आजित बनेका छन् । 

नयाँ बसपार्कबाट मनमैंजुतर्फ मोडिने बाटोमा तारकेश्वर धाम आउँछ । पछिल्लो समय विष्णुमती करिडोर सडकमा पर्छ, यो धाम । धामनजिक करिब सय मिटरमा अत्यासलाग्दो गरी खाल्डाखुल्डी परेका छन् । 

शुरुमा सडक कालोपत्रे गरियो अनि ढल सानो भयो भनेर भत्काइयो । त्यसपछि माटो र ढुंगा बिछ्याएर माथिबाट पेलियो अनि कालोपत्रे सडक बन्यो ग्राभेल । अर्को दिन पानी पर्‍यो । शायद, सडकमा खाल्डो पार्ने भूमिकामा कालोपत्रे भत्काउनेहरू परेनन् । ढल सानो हुनुचाहीं कालोपत्रे सडक ग्राभेल हुँदै खाल्डाखुल्डीमा रूपान्तरण हुनुको कारण भएको बताउँदै स्थानीय बासिन्दा व्यंग्य गर्छन् । 

'अब पिच नहुने कुरा छ,' स्थानीय दुर्गा भट्टराई भन्छन् । उनी सडकछेउमा मदिरा पसल चलाउँछन् । पाँच वर्षदेखि काठमाडौं बस्दै आएका उनलाई हिलो, धुलो र सडकका खाल्डाखुल्डीले आजित बनाएका छन् । 

कहिले गाडीको पत्ता भाँचिने त कहिले खाल्टोमा गाडी भासिने समस्या बेहोर्दै आएका छन्, स्थानीय बासिन्दाले । गाडीमा पठाइएका व्यापारिक प्रयोजनका सामान जस्ताको तस्तै पुर्‍याउन नसकिने उपत्यकाभरिको साझा समस्या हो । 

खाल्टाखुल्टी धेरै हुँदा वर्षामा पानी जम्ने र हिलो हुने समस्या सामान्यझैं बन्न थालेको छ, उपत्यकामा । पैदल यात्रुका लागि त काठमाडौंका सडक कहिल्यै समाधान नहुने यातना स्थलझैं बनेका छन् । बढी मारमा पर्छन्, बालबालिका र वृद्धवृद्धा । 

टोखामा व्यवसाय गर्ने टंकराज कोइराला काठमाडौं बस्न थालेको पाँच वर्ष भयो । कस्मेटिक पसल छ उनको । खाल्डाखुल्डीयुक्त सडकका कारण व्यापार घाटा पाँच गुणाले बढेको उनको भनाइ छ । पटक-पटक वडा कार्यालयको ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ । 
 

महानगरका सह-प्रवक्ता भन्छन्, 'साना सडकका खाल्डा पुर्दा जनताले पत्याउँदैनन् । किनभने, ठूला सडकका खाल्डाखुल्डी उस्तै हुन्छन् । ठूला सडक हाम्रो मातहतमा पर्दैनन् । गाली भने हामीले नै खानुपर्छ ।'


यस्तै अवस्था छ, चाबहिल-बौद्ध सडकको पनि । बौद्ध गेटसँगै अप्टिकल पसल सञ्चालन गर्ने दीपेन्द्र श्रेष्ठ खाल्डाखुल्डी मात्र होइन, सडकको धुलो र हिलोलाई पनि साथीजस्तै मान्न थालेका छन् । नमानून् पनि किन, विस्तार गर्ने बताउँदै भत्काएर लथालिंग बनाइएको बौद्ध सडक कालोपत्रे गर्ने कुनै छाँट देखाएका छैनन्, सरकारी निकायले । 

बौद्ध क्षेत्रका बासिन्दाले किसान दिवस अर्थात् असार १५ सडकमै मनाए । ५० भन्दा बढी कविहरूले सडकमै धान रोप्दै हिलो, धुलो, धुँवा र ट्राफिक जामसम्बन्धी कविता वाचन गरे । 

साउन र भदौमा सडकमा जम्ने हिलो स्थानीय बासिन्दाका लागि सामान्य विषय बन्न थालेको छ । सुख्खायाम शुरु भएपछि गाडीहरूको हुइँक्याइसँगै ढपक्क ढाक्ने धुलो पनि साथीझैं लाग्न थालेको छ, स्थानीय बासिन्दालाई । 

जोरपाटी-नारायणटार सडकको पनि उस्तै बेहाल छ । सडकको दुरवस्थाको शिकार बनेका छन्, दुईपांग्रे सवारी साधन र पैदल यात्रु । 

गत वर्ष यही समयमा काठमाडौंको सामाखुशीमा एक बालिका ढलमा बगिन् । धन्न मुस्किलले उनको ज्यान जोगाइयो । काठमाडौंकै नेपालटारमा भने अर्की एक बालिकाको ज्यान बचाउन सकिएन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र राजधानीका सबै खाल्डाखुल्डी पुरिसक्न सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिए । तर, वर्षदिन बितिसक्दा पनि राजधानीका सडकमा बनेका खाल्डा पुरिएका छैनन् । 

कसले पुर्ने खाल्टाखुल्टी ?

यस वर्ष काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका सडकका खाल्डाखुल्डी पुर्ने योजना बनाएको छ । गत मंसिर पहिलो साता त्यसका लागि टेन्डर भएको थियो । 

असार मसान्तसम्ममा करिब १२ करोडको काम भएको सह-प्रवक्ता नमराज ढकाल बताउँछन् । आठ मिटरभन्दा साना सडक महानगरपालिकाको मातहतमा पर्छन् । तिनै सडक पाँच वटा प्याकेजमा बाँडेर २५ करोडमा खोल्डा पुर्ने ठेक्का लगाइएको थियो । 

ढकालका अनुसार ३५ किलोमिटरको सडकमा ८७ हजार वर्गमिटर टालिएको छ । बाँकी काम आगामी कात्तिकसम्ममा सकिने उनको दाबी छ । 

'साना सडकका खाल्डा पुर्दा जनताले पत्याउँदैनन् । किनभने, ठूला सडकका खाल्डाखुल्डी उस्तै हुन्छन्,' ढकाल भन्छन्, 'ठूला सडक हाम्रो मातहतमा पर्दैनन् । गाली भने महानगरले खानुपर्छ ।'

विभिन्न परियोजना तथा योजनामा रहेका स्मार्ट सिटीबीच समन्वय हुन नसक्दा राजधानका सडकको दुरवस्था अन्त्य हुन नसकेको उनको भनाइ छ । मेलम्ची खानेपानी, ढल निकास र स्मार्ट सिटीका लागि जमिनमुनि तार बिछ्याउनेजस्ता पूर्वाधारका काममा समन्वय हुन सक्दा मात्र विश्वासिलो काम हुने उनको भनाइ छ । 

सडक विभागका इन्जिनियर शिवहरि सापकोटा भने त्यसको दोष नागरिकले निर्माण गर्ने भवन, ढल र पानी निकासको पूर्वाधार निर्माणलाई दिन्छन् । 

ट्राफिक इन्जिनियर आशिष गजुरेल राजधानीका सडकको दुरवस्थाको मुख्य कारण सरकारी निकायहरूको कमजोरी भएको औंल्याउँछन् । 

हुन पनि, मित्र राष्ट्रका सरकार/राष्ट्र प्रमुख भ्रमणमा आउँदा रातारात पुरिन्छन्, सडकका खाल्डाखुल्डी । त्यो पनि, उनीहरूको सवारी चल्ने सडकमा मात्र । उनीहरू फर्किएपछि खाल्डाखुल्डी पुर्ने दायित्वबाट सरकारी निकायहरू पन्छिन्छन् । जस्तो- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २८-२९ वैशाखमा भएको नेपाल भ्रमणका क्रममा उनको सवारी चलाइने सडकका खाल्डाखुल्डी रातारात पुरिएको थियो । 

अब आगामी १४-१५ भदौमा काठमाडौंमा आयोजना हुने चौथो बिमस्टेक बैठकका लागि फेरि खाल्डाखुल्डी पुर्ने काम शुरु हुनेछ । र, यस पटक पनि पहिलेझैं बिमस्टेक सदस्य राष्ट्रका सरकार/राष्ट्र प्रमुखहरू हिँड्ने रुटमा पर्ने सडकका खाल्डा पुरिने निश्चित छ । अरू सडकका खाल्डाखुल्डी जहाँको त्यहीं रहने पनि निश्चित छ । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।