चितवन- चितवनको भरतपुर महानगरपालिकाको मतगणना बिहान सुरु हुने भएको छ। बिहान ८ बजेदेखि गणना सुरु गर्ने गरी सर्वदलीय बैठकमा सहमति भएको मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीले जानकारी दिए।
राति नै सुरु गर्ने भनिएपनि दल र उम्मेदवारका प्रतिनिधिहरुबीच विवाद हुँदा बिहानका लागि थाती राखिएको हो। मतगणनाअघि भएको सर्वदलीय बैठकमा गणनाकार्यमा उम्मेदवारका प्रतिनिधि कति जना बस्ने र मतपेटिका कसरी राख्ने भन्ने विषयमा लामो विवाद भएको थियो।
भरतपुर महानगरपालिकामा ६७.५९ प्रतिशत मत खसेको छ। महानगरका सबै मतपेटिका गणनाका लागि अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र लगिएको छ। मतगणनास्थलमा तारजाली लगाइएको छ भने सीसीटीभी जडान गरिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
भरतपुरको मेयरमा मुख्यतः गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा हुने मानिएको छ।
गत स्थानीय निर्वाचनमा भरतपुरमा माओवादीका प्रतिनिधिले मतपत्र च्यातेपछि यसपालि देशका अधिकांश स्थानमा तारजाली लगाइएको छ। पछि भरतपुर-१९ मा पुनः भएको मतदानपछिको गणनामा दाहाल नै विजयी भएकी थिइन्।
चितवनकै खैरहनी, कालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा गणना कार्य सुरु भइसकेको छ। खैरहनी नगरपालिकामा ७४.२४, माडीमा ७२.२८, कालिकामा ७८, र इच्छाकामना गाउँपालिकामा ७६.८१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।