काठमाडौं– शुक्रबार भएको स्थानीय तहको निर्वाचन अन्तर्गत देशभरका १७ वटा स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ।
राजनीतिक दलहरुबीच भएको विवाद र वर्षाका कारण २८ मतदानस्थलका ४४ वटा मतदान केन्द्रमा मतदान सम्पन्न हुन नसकेको हो। ‘कतिपय ठाउँमा अप्रिय घटनासमेत भए, आज हामीले सबै ठाउँमा एकै चरणमा मतदान सम्पन्न हुने अपेक्षा गरेका थियौं। तर, दलहरूको बीचमा उत्पन्न विवादले उग्र रुप लिएको र वर्षाका कारण समेत सबै स्थानीय तहमा मतदान सम्पन्न हुन सकेन,’ आयोगले भनेको छ।
मतदानका लागि अर्को मिति भने तोकिएको छैन। स्थगन गरिएका मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र त्यहाँको वस्तुस्थिति समेतको अध्ययन गरेर पुनः मतदानको मिति तोकिनेछ।
मतदान सम्पन्न भइसकेका ठाउँमा मतपेटिका संकलन भइसकेपछि आज रातिदेखि नै मतगणनाको तयारी आयोगले गरेको छ।