काठमाडौं– स्थानीय तह निर्वाचनको महत्वपूर्ण दिन आज मतदान भइरहेको छ। देशभर पुगेर शीर्ष नेताहरुले मतदान गरिरहेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रबाट मतदान गरे। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गरे।
मतदान गरिसकेपछि देउवाले ओलीबारे टिप्पणी गरे भने ओलीले कांग्रेस र देउवाबारे। दुई नेताबीच वादप्रतिवाद नै भएको देखियो। देउवा र ओलीबीच वादप्रतिवाद विरलै हुन्छ। तर, शुक्रबार भने दुई नेताबीच फरक–फरक स्थानबाट वादप्रतिवाद भएको छ। मतदान गरेपछि प्रधानमन्त्री देउवाले निर्वाचन विरोधी शक्तिलाई समेत सहभागी गराएर तोकिएकै मितिमा निर्वाचन गराउनु सरकारको सफलता भएको बताए।
‘निर्वाचनविरोधी शक्तिहरू पनि सहभागी भएका छन्। स्थानीय तहको समृद्धि र विकासका निम्ति यो निर्वाचन महत्त्वपूर्ण छ,’ उनले भनेका थिए, ‘अवाञ्छित क्रियाकलाप र तौरतरिका अपनाएर रोक्न खोजियो, हामीले चुनाव गरायौं। आज सबैले भोट हालिरहेको देखिरहनुभएको छ।’ बारम्बार चुनाव हुँदैन भन्ने ओलीले पनि भोट हालेको टिप्पणी देउवाले गरे।
देउवाभन्दा पछि भोट खसालेका ओलीले भने गठबन्धनको प्रयास असफल बनेको बताएका छन्। देउवाले वैशाख ९ गते पनि चुनाव सारौं भनेर आफूसँग प्रस्ताव गरेको खुलासा गर्दै ओलीले त्यो प्रस्ताव आफूले नमानेको बताए। आगामी चैतमा चुनाव गर्ने गरी अहिलेको गठबन्धन नै लागिपरेको भन्दै एमालेका कारण चुनाव सार्न नसकेको उनले दाबी गरे।
‘वैशाख ९ गते उहाँले चुनाव सार्न प्रस्ताव गर्नुभएको थियो। मैले अलोकतान्त्रिक बाटो नहिँड्नुहोस् भनेर खबर पठाएको थिएँ। निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि, कानुनले बाध्यता भएपछि उहाँहरू तयार भएको हो,’ ओलीले भनेका थिए।