काठमाडौं– मतदान सकिएलगत्तै प्रक्रिया पुर्याएर मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सकिएलगत्तै मतगणना सुरु हुने भन्दै एक साताभित्रमा सबै तहको मत परिणाम सार्वजनिक भइसक्ने जनाए। आज बिहान सात बजे सुरु भएको मतदान साँझ पाँच बजे सकिनेछ।
अहिलेसम्म छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण रुपमा मतदान जारी रहेको आयोगले जनाएको छ। आयोगका अनुसार १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भएको छ।
मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ। दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगले जनाएको छ। ती ठाउँमा पुनः मतदान सुरु गर्न प्रयास भइरहेको पनि आयोगले बताएको छ।