काठमाडौं- आगामी ५ वर्षका लागि स्थानीय सरकारका प्रतिनिधि चुन्न मतदान सुरु भएको छ। आज बिहान ७ बजे सुरु भएको मतदानमा मत दिने क्रम जारी छ। स्थानीय सरकारको बागडोर सम्हाल्न विभिन्न ६५ दलका तर्फबाट र स्वतन्त्र गरी एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा छन्।
यो निर्वाचनबाट ७५३ वटै पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र ६ हजार ७ सय ४३ वडाका वडाध्यक्ष चयन हुँदैछन्। यस्तै ६ हजार ७ सय ४३ वडाका लागि दलित महिला सदस्य, त्यति नै संख्याका महिला सदस्य र १३ हजार ४ सय ८६ जना वडा सदस्य (खुला) गरी कुल ३५ हजार २२१ जना प्रतिनिधि चयन हुँदैछन्। उनीहरूलाई मत दिन पाउने अधिकारप्राप्त नागरिकको संख्या १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना छ। कुल निर्वाचित हुनेमध्ये ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन्।
चुनावी प्रतिस्पर्धाबाट चुनिएर आउने जनप्रतिनिधिले ५ वर्षसम्म स्थानीय सरकारको कार्यपालिका, न्यायपालिका, र व्यवस्थापिका सञ्चालन गर्नेछन्।
स्थानीय तहको विकासका विभिन्न नारा र एजेन्डा बोकेर आएका नयाँ र पुराना अनुहारमध्ये ५५ हजार ६९८ जना महिला छन्।
२९३ नगर प्रमुखका लागि ३ हजार ४ सय ६६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। ती नगरमा उपप्रमुखका लागि २ हजार १ सय ३५ जना प्रतिस्पर्धामा छन्। ४ सय ६० गाउँपालिका अध्यक्षका लागि ३ हजार ३ सय ७८ जना र उपाध्यक्षका लागि २ हजार ३ सय ९२ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा जारी छ।
देशका ६ हजार ७ सय ४३ वडामा वडाध्यक्ष पदका ३४ हजार ९ सय ४२ प्रतिस्पर्धामा छन्। खुला वडा सदस्यमा १३ हजार ४ सय ८६ पदका लागि ५४ हजार ६सय ४० जना, महिला सदस्य ६ हजार ७ सय ४३ को पदका लागि २६ हजार ६१ जना प्रतिस्पर्धा गर्दै छन्। दलित महिला सदस्यका लागि २३ हजार ४ सय ६५ जना प्रतिस्पर्धा गर्दैछन्। उनीहरूमध्ये ६ हजार ७ सय ४३ जना निर्वाचित हुनेछन्। केही वडाको दलित सदस्यका लागि उम्मेदवारी नै नपरेको समेत निर्वाचन आयोगले जानकारी दिएको छ।
साँझ ५ बजेसम्म चल्ने मतदानका लागि १० हजार ७ सय ५६ मतदानस्थल तोकिएका छन्। केही मतदानस्थलमा एकभन्दा बढी मतदान केन्द्र तोकिएकाले २१ हजार ९ सय ५५ मतदान केन्द्र छन्। ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र १८३ जना अन्य लिंगका मतदाता छन्।