काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी ओली अभियुक्त भएको टिप्पणी गरेका छन्।
यही शुक्रबार हुन लागेको स्थानीय निर्वाचनका लागि मौन अवधि सुरु हुनुअघि आज साँझ असनमा आयोजित चुनावी सभामा उनले ओली न्यायाधीश नभई अभियुक्त भएको बताएका हुन्।
‘चुनाव भनेको नेताले प्रश्न सोध्ने हैन, प्रश्न मतदाताले सोध्ने हो। यहाँ त नेताले न्यायाधीश जस्तो फैसला सुनाएको छ। वैशाख ३० मा हेरौँला, असार १५ मा हेरौंला भनेको छ। नेता न्यायाधीश हैन। यो बेला त झन् नेकपा एमालेका अध्यक्ष ओली न्यायाधीश हैन, अभियुक्त हो। कठघरामा उभिनुभएको बेला हो। फैसला सुनाउने काम जनाताको हो,' थापाले भने।
काठमाडौंका मतदातालाई हेपिएको भन्दै थापाले भने, ‘काठमाडौंबासीले प्रश्न गर्नु पर्दैन? गुठी विधेयकको बारेमा प्रश्न गर्नु पर्दैन? काठमाडौंबासी उठेर नआएको भए, यहाँको समुदाय नउठेर गुठी विधेयक पारित गरेको भए, यहाँको जात्रा पर्व, संस्कृतिको हालत के हुन्थ्यो? त्यसैले म आग्रह गर्न चाहन्छु, प्रश्न गर्ने बेला प्रश्न गरौँ।
काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहलाई पनि अपमान गरिएको भन्दै उनले भने, ‘सिर्जना सिंहले ल्याएको कुरा मन परेन भने भन्नुस्। म रुखमा भोट हाल्दिन भन्नुस्, पाइन्छ। तर, एउटा महिला भएर ठूला कुरा गर्ने? कसैको श्रीमती, भाउजू भएर आएर मञ्चमा उभिने? भन्ने कुरा तमाम काठमाडौंबासी महिलाहरुको अपमान हो कि हैन, सबैले बुझ्न आवश्यक छ।
महामन्त्री थापाले एमालेका मेयर उम्मेदवार केशव स्थापितप्रति लक्षित गर्दै भने, ‘एउटा पुरुष नेकपा एमालेको मेयर हुन्छ। त्यसलाई छोडेर गएर राजाबाट मनोनित मेयर हुन्छ। त्यसलाई छोडेर गएर माओवादीको प्राधिकरणको प्रमुख हुन्छ। त्यसलाई छोडेर गएर प्रजा परिषद् पार्टी खोल्छ। त्यसलाई छोडेर संघीय परिषदको उम्मेदवार हुन्छ। त्यसलाई छोडेर फनफनी घुमेर आएर फेरि एमालेको उम्मेदवार हुन्छ। उसलाई कसैले प्रश्न गर्न पाउँदैन? ऊ हुन पाउने तर एउटा महिलाले चुनाव लड्छु भन्दा उसले चाहिँ जवाफ दिनुपर्ने?’