काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको दावी गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफूहरु एमालेको जितका लागि वैशाख ३० गतेको प्रतीक्षामा रहेको पनि बताए।
मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले देश र जनताको हितका लागि पनि अत्यधिक बहुमतका साथ स्थानीय तह निर्वाचनमा जित्नुपर्ने जिकिर गरे। उनले एमालेले जितेमात्रै राष्ट्र निर्माणको अभियानले गति लिने पनि दोहोर्याए। अध्यक्ष ओलीले भने, ‘हामीले जितको तयारी गरिसक्यौं। नेकपा एमालेको जित अनिवार्य छ। यो अवश्यमभावी छ। एमालेले अत्यधिक बहुमतका साथ जित्नुपर्छ। यो व्यक्तिहरुको बीचको वा उम्मेदवारको बीचको मात्रै लडाइँ होइन। को कुन पार्टीबाट उठ्यो त्यो त्यत्रो ठूलो कुरा होइन।’
०७२ सालको नाकाबन्दी सम्झिँदै उनले भने, ‘हामीले नाकाबन्दीको सामना गरिरहेका बेला नाकाबन्दी पनि भन्न सकेनन्। पूर्वपश्चिम राजमार्ग चौडाहा गर्न एमालेबाहेक कसैले सकेन। ठाउँठाउँमा विमानस्थल, हेलिप्याड बनाउन एमाले चाहियो। यतिसम्म कि बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको हेरचाह गर्न एमाले चाहियो। के गर्यौ भनेर अरु पार्टी केही भन्न सक्दैन। के गर्छौ भन्ने कुरा पनि छैन। उनीहरु जम्माजम्मी एमालेको विरोध गर्छन्। किनभने एमालेले विकास गर्यो।’
नेपाली कांग्रेसलाई ‘बिचरा’ भन्दै ओलीले थपे, ‘अब म कसैको चर्चा गर्न चाहन्न, आवश्यक रहेन। नेपाली कांग्रेस विचरा के चर्चा गर्नु? भरतपुर, पोखरा के चिन्ह भनेर सोध्नुपर्छ। दमकमा जाँदा डुँडो बोकेको हलो बोक्नुपर्छ। जसले जतिबेला चुनाव आउँदा आफ्नो चिन्ह्मा त भोट हाल्न पाउँदैन। आफ्नो चिन्हमा भोट हाल्ने त सम्भावना छैन। अर्थोकै बोकेर हिँड्ने ! कोसँग बोकेर हिँड्ने त्यो पनि थाहा छैन। नेपाली कांग्रेस यो हालतमा पुगेको छ।’
ओलीअघि बोलेका काठमाडौं महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले आफूहरु विजयी हुने र एक वर्ष भित्रै काठमाडौंमा रहेको फोहोरको समस्या समाधन समाधान गर्ने आश्वासन दिए। कार्यक्रममा अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका सल्लाहकार पुण्य गौतमलाई पनि पार्टीमा स्वागत गरेका थिए।