शनिबार, वैशाख २९, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • भलिबल लिग समीक्षा : प्रभावहीन न्यु डायमन्ड, छुटेका प्रतीभा र सरस्वती

भलिबल लिग समीक्षा : प्रभावहीन न्यु डायमन्ड, छुटेका प्रतीभा र सरस्वती

राष्ट्रिय महिला भलिबल क्लबको प्रमुख उपधि दावेदारको रुपमा न्यु डायमन्डले आफूलाई विगतदेखि प्रमाणित गर्दै आएको छ। अघिल्लो संस्करणको राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि पनि न्यु डायमन्डले जितेको थियो।
 |  मंगलबार, वैशाख २७, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं– त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा वैशाख १८ गते छैँटौ राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग सुरु भयो। राखेप सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेको लिगमा महिलातर्फ होङ्वाङजी न्यु डायमन्ड, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ र एभरेष्ट भलिबल क्लब गरी पाँच क्लबको सहभागिता थियो। यता पुरुषतर्फ तीन विभागीय क्लबसँगै टिपटप हेल्प नेपाल, गलकोट स्पोर्टस क्लब ,गण्डकी प्रदेश र ढोरपाटन स्पोर्टस क्लबसहित सात टिम सहभागी बने।

triton college

लिगका आधारमा सञ्चालन हुने यस प्रतियोगिताका सबै टोलीले एकआपसमा सिंगल राउन्ड रोबिन शैलीमा खेल्नुपर्ने थियो। र, खेल सकिँदासम्म अंक तालिकाको शीर्ष स्थानमा रहने टिमले उपाधि जित्ने थियो। वैशाख २४ गते प्रतियोगियता सकिँदा दुवैतर्फ शीर्षस्थानमा रहन सफल भयो त्रिभुवन आर्मी क्लब। लिगमा यस्तो पहिलो पटक भएको हो भने आर्मीको महिला टिमले पहिलो पटक लिगको उपाधि जितेको हो।

न्यु डायमन्डको प्रदर्शन 

राष्ट्रिय महिला भलिबल क्लबको प्रमुख उपाधि दावेदारको रुपमा न्यु डायमन्डले आफूलाई विगतदेखि प्रमाणित गर्दैं आएको छ। अघिल्लो संस्करणको राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि पनि न्यु डायमन्डले जितेको थियो। राष्ट्रिय टिमकी कप्तान अरुणा शाही तथा प्रतिभा माली संलग्न यो टिमले एपिएफलाई पराजित गर्दै च्याम्पियनसिपको उपाधि रक्षा गरेको थियो। तर यस पटक दुवै खेलाडीको अनुपस्थितिमा न्यु डायमन्डले राम्रो प्रदर्शन गर्न सकेन।

न्यु डायमन्ड लिगको पाँचौ तथा अन्तिम स्थानमा सीमित हुन पुग्यो। उसले यो लिगमा एक खेल पनि जित्न सकेन। र, अंकविहीन हुँदै लिगको समाप्ति गर्न बाध्य भयो। भलिबल प्रतियोगितामा कमजाेर मानिने गरेको क्लब हो एभरेष्ट। न्यु डायमन्डले एभरेस्टसँग पनि हार बेहोर्यो।

corrent noodles
Metro Mart

सधैजसो न्यु डायमन्डको जर्सीमा देखिने शाही यसपटक एभरेष्टको जर्सीमा देखिइन्। क्लब फरक भए पनि उत्कृष्ट सेटरको अवार्ड चाहिँ उनकै पोल्टामा पर्यो। विगतमा महिला भलिबलमा धेरै उपाधि जितेर आफ्नो विजयी छवि बनाएको डायमन्डले विशेषः खेलाडीहरुको अनुपस्थितिमा प्रभावशाली खेल खेल्न सकेन।

प्रतीभा र सरस्वती अनुपस्थित

नेपाली राष्ट्रिय भलिबलकी स्टार सरस्वती चौधरी र प्रतीभा माली चोटका कारण लिगमा अनुपस्थित भए। यी खेलाडीको उपस्थितिले जहिल्यै पनि नेपाली महिला भलिबलका खेल रोमाञ्जक हुने गर्दछन्। तर दुवै खेलाडीले चोटका कारण लिग गुमाउन पुगे।

जसकारण समर्थकहरुको पनि उपस्थितिमा कमी हुन गएको प्रतित भयाे। दर्शकले भरिभराउ हुने कभर्डहल यसपटक पूर्ण रुपमा भरिएन। यी दुई खेलाडीको क्रेज नेपाली भलिभल प्रेमीहरुमा धेरै देखिन्छ। यी दुवै खेलाडीकै मात्र खेल हेर्न पनि दर्शकहरु कभर्डहल पुग्ने गर्दथे।

नेपाली राष्ट्रिय टिम र एपीएफकी स्टार खेलाडी सरस्वती चोटका कारण यो प्रतियोगितामा सहभागि हुन पाइनन्। एपीएफमा सरस्वतीको उपस्थितिले सधै खेललाई अर्को स्तरको बनाउने गरेकाे छ। उनले नै त पछिल्लो पटक भएको च्याम्पियनसिपमा एपीएफलाई उपविजेता बनाएकी थिइन्।

सरस्वतीको अनुपस्थितिमा एपिएफले यो पटक तेस्रो स्थान भने हासिल गर्न सफल रह्यो। चौधरी क्लबको स्टार स्पाइकर हुन्। क्लबको मुख्य मेरुदण्डका रुपमा रहेकी उनको अनुपस्थिति दर्शकका लागि समेत खल्लो भयो।

नेपालले सेन्ट्रल जोन महिला भलिबलको उपाधि लगातार दुई पटक जित्यो। ती दुवै प्रतियोगितामा मुख्य स्पाइकर थिइन् सरस्वती। प्रतीभाको भूमिका पनि राष्ट्रिय टिममा सधै प्रभावशाली हुने गर्दछ। काठमाडौं मात्र होइन मोफसलमा भएका प्रतियोगितामा उनको रवाफ नै छुट्टै हुने गर्दछ।

उत्कृष्ट बने संगम र धनबहादुर

व्यक्तिगत अवार्डतर्फ त्रिभुवन आर्मीकै खेलाडीको वर्चस्व रह्यो। लिगमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड संगम महतो र धन बहादुर क्षेत्रीले जिते। दुवै खेलाडी आर्मीका हुन्। महिला तथा पुरुष दुवैतर्फको उपाधि जितिरहँदा उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई च्याम्पियन बनाउन ठूलो भूमिका खेलेका थिए यी खेलाडीले।

लिगमा उत्कृष्ट खेलाडीको अवार्डका लागि योग्य थिइन् उनी। विपक्षीले चालै नपाउने गरी छिटो स्पाइक गर्ने गर्छिन् संगम। भलिबलमा यो एउटा छुट्टै विधा हो।

नेपाली राष्ट्रिय टिमकी संगम उत्कृष्ट खेलाडी सावित भइन्। टिम अपठ्यारो स्थितिमा रहेको समयमा उनको चलाखीपूर्ण स्पाइकले टिमलाई ठूलो मद्दत पुर्यायो त्यसैले त हरेक पटक पछि परेको अवस्थामा पुनरागमन गर्न आर्मीलाई गाह्रो भएन। फिटनेसमा  अन्य खेलाडीको तुलनामा उत्कृष्ट देखिन्छिन् संगम। मैदानको सबै भाग सहजै खेल्ने भएका कारण लिगमा विपक्षीका लागि घातक बनिरहिन्। टिमका अन्य खेलाडीहरुको मनोबल बढाउँदै टिममा उर्जा भर्न सिपालु उनले यसपटक आफूलाई प्रमाणित गरेर देखाएकी छिन्। आर्मीलाई पहिलो पटक उपाधि जिताउने क्रममा उनको विशेष योगदान रह्यो।

धनबहादुरले पनि लिगमा आफूलाई प्रमाणित गरे। टिमका महत्तवपूर्ण सदस्य रहेका धनबहादुर खेलमा आक्रामक देखिए। राष्ट्रिय टिमका खेलाडी धनबहादुरको टिम आर्मी क्लब राष्ट्रिय खेलाडीले भरिपूर्ण टिम पनि हो। मानबहादुर श्रेष्ठजस्ता उत्कृष्ट खेलाडी पनि टिममै छन्। मानबहादुर अघिल्लो लिगका उत्कृष्ट खेलाडी हुन्।

आफ्नो खेल क्षमतालाई निखार्दै गइरहेका धनबहादुर लिगभरी नै खेलमा छाइरहे। आर्मीलाई लिग च्याम्पियन बनाउन उनको स्पाइक कडी थियो। अग्ला कदका धनबहादुरले लिगमा विपक्षीलाई कुनै मानेमा अंक दिएनन्। चाहे स्पाइकमा होस् वा ब्लकमा। त्यो त खेलका क्रममा मुस्कुराइरहने उनको बानी छ। त्यसैले उनलाई खेलमा शान्त रहन र आक्रामक खेल्न मद्दत मिल्दो हो।

आर्मी भर्सेस हेल्प नेपाल

नेपाली भलिबल क्लबहरुमध्ये दुई उत्कृष्ट टिम हुन् त्रिभुवन आर्मी र टिपटप हेल्प नेपाल। विगतदेखि नै एकआपसमा कडा प्रतिस्पर्धीका रुपमा आफूहरुलाई यी दुई टिमले स्थापित गर्दै आएका छन्। विशेषतः लिग र च्याम्पियनसिपका क्रममा।

अघिल्लो वर्ष आयोजना भएको च्याम्पियनसिपमा आर्मीले जितिरहँदा दोस्रो स्थानमा थियो टिपटप क्लब। त्यसभन्दा अघिल्लो संस्करण लिग भने हेल्प नेपालले जितेको थियो।

नेपाली खेलाडी मात्र रहेको त्रिभुवन आर्मी क्लबमा राष्ट्रिय टिमका खेलाडीको वर्चस्व छ भने हेल्प नेपालमा भने विदेशी खेलाडी पनि समावेश हुने गर्दछन्। भारतीय राष्ट्रिय टिमका पूर्व कप्तान विनित कुमारको कप्तानीमा थियो हेल्प नेपालको टिम। तीन जना भारतीय खेलाडीलको उपस्थितिमा टिपटप उपाधि दावेदारकै रुपमा हरेक वर्ष प्रतियोगितामा समावेश हुने गरेको छ। विगत केहि वर्षदेखि नै टिपटपले लिग तथा च्यामपियनसिपमा आफ्नो बलियो प्रदर्शन प्रस्तुत गर्दै आएको हो।

त्यो क्रम यो लिगमा पनि जारी रह्यो। त्यसैले हो कि सायद अन्तिम खेलसम्म पुग्दासमेत लिग विजेताको टुङ्गो लागेन। त्यसअघि यी दुवै टिम अपराजित थिए। खेल जसले जित्थ्यो उपाधि समेत त्यही टिमले जित्ने समीकरण बनेको थियो। तर टिपटपले अन्तिम खेलमा सन्तुलन गुमाउन पुग्यो।

खेलका क्रममा रेफ्रिसँगको विवाद तथा खेलाडीबीच तालमेलको अभावका कारण टिपटपले राम्रो खेल्न सकेन र आर्मीले ३–१ को सेटमा नतिजा आफ्नो पक्षमा पार्दै उपाधि कब्जा गर्यो। अघिल्ला प्रतिपयोगिताहरुमा पनि अधिंकांश शीर्ष दुईमा यी दुई टिमनै हुने गरेका छन्। छैटौ संस्करणसम्म आइपुग्दा यी दुई टिमले आफ्नो दबदबा बनाइरहे। 

यता टिपटपले ल्याएका अनुभवी विदेशी खेलाडीबाट नेपाली खेलाडीले सिक्न पाइरहेका छन्। भारतीय खेलाडीको खेल्ने शैली र मेहनतले नेपाली खेलाडीलाई राम्रो गर्ने हौसला मिलिरहेको छ। यसले गर्दा नेपाली प्रतियोगितामा अन्तराष्ट्रिय क्षेत्रबाट पनि प्रचार भइरहेको छ।

भलिबलका दुई प्रतियोगिता लिग र च्याम्पियनसिप

राष्ट्रिय भलिबल संघले वर्ष दुईवटा भलिबल क्लबहरुको प्रतियोगिता गराउने गर्छ च्याम्पियनसिप र लिग। भलिबल च्याम्पियनसिपमा देशभरिका धेरै क्लबले सहभागिता जनाउन पाउँछन्। यो प्रतियोगिता लिग कम नकआउटको संरचनामा खेलाइने गरिन्छ। पुरुषतर्फ शीर्ष सात र महिलातर्फ शीर्ष पाँच टिम लिगका लागि छनोट  हुने गर्दछन्।

त्यो च्याम्पियनसिपबाट छनोट भएका टिमले आगामी सिजनको लिग खेल्ने टिकट पाउने गर्दछन्। यस प्रतियोगिताबाट धेरै नयाँ राष्ट्रिय खेलाडी जन्मिने गर्दछन्। सबै क्लबले सहभागीता जनाउन पाउने भएकाले यस प्रतियोगितामा धेरै ले मौका पाउँछन्। च्यामपियनसिपमा भने महिलातर्फ शीर्ष पाँच र पुरुषतर्फ शीर्ष सात टिमले सहभागिता जनाएका थिए। यसबाहेक अन्य क्लबले यसमा भाग लिग पाउँदैनन्।

प्रकाशित: May 10, 2022| 20:31 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।