काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब तीनै तहको सरकार कांग्रेसले चलाउने उद्घोष गरेका छन्।
मंगलबार भक्तपुरको चाँगुनारायणमा आयोजित चुनावी सभामा उनले भने, ‘अब पाँच वर्ष कांग्रेसले स्थानीय, प्रदेश र संघीय सरकार चलाउँछ। नेकपाले सरकार चलाउन सकेन, हामी सक्छौं।’
चुनाव सकिएलगत्तै कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई तालिम दिने र जनताको सेवक बन्न सिकाउने उनले बताए। महामन्त्री थापाले पार्टीले बनाएको ११ वटा सूत्रभित्र रहेर काम गर्नेगरी पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने बताएका हुन्। कांग्रेसका जनप्रतिनिधिले भ्रष्टाचार नगर्ने दाबी गर्दै उनले भने, ‘जनताको पैसा खानु आफ्नै परिवारका सदस्यको रगत चुसेजस्तो हो।’
मौन अवधि सुरु हुनु अघिल्लो दिन आयोजित सभामा गगनले भने, ‘मध्यरातसम्म खटिऔँ, भोलि दुई दिन थप मेहनत गरौं। किनकी दुई दिनमा जे पनि हुनसक्छ। हामीले नेपालका कम्युनिस्ट पार्टीको चरित्र राम्रोसँग बुझेका छौँ। हामीले जम्मा गरेको मत फेरि रातारात कता लिएर जान बेर छैन। त्यसैले ध्यान पुर्याएर यसलाई सम्हाल्ने काम गरौँ।’
०४८ सालमा जस्तो आन्तरिक कलहका कारण पार्टी फुट्ने स्थिति नआउनेमा उनले आश्वस्त पारे। थापाले भने, ‘हामीबाट पनि कमजोरी भएका छन्। त्यसबाट सच्चिएर अबको दिनमा काम गर्नेछौँ। आन्तरिक कलहकै कारण पार्टी टुक्रने वा काम गर्न नसक्ने स्थिति आउँन दिन्नौँ।’