काठमाडौं– क्रान्ति भनेको के हो? परिवर्तन भनेको के हो? यी प्रश्न सुन्दा जति सामान्य लाग्छन्, अर्थ भने त्यति नै फराकिलो र गम्भीर छ। यी प्रश्नको जवाफै पनि लेख्ने हो भने हजारौँ पानाको मोटो पुस्तक बन्न सक्ला।
स्थानीय तहको निर्वाचन संघारमा आइरहँदा वैचारिक प्रवचन दिँदै हिँड्ने नेताहरुको कमी छैन। आफ्नै जीवनमा कार्यान्वयन गर्न नसक्ने तर अरुलाई विचार छाँट्दै हिँड्नेहरुको जमात पनि उत्तिकै छ। तर यो भीडमा धनबहादुर पुन ‘कीर्तिमान’ भने फरक र अपवाद देखिन्छन्। कीर्तिमानसँग खासै ठूला सपना छैनन्। तर उनको सपनामा जनता देखिन्छन्। गाउँ देखिन्छ।
कीर्तिमान कहिले झुपडीहरुमा आगो फुक्दै गरेको अवस्थामा भेटिन्छन्, कहिले किसानहरुको हली बनेको अवस्थामा भेटिन्छन्। कहिले बच्चाहरुसँग खेलिरहेका भेटिन्छन्, कहिले वृद्धाृद्धासँग हाँस्दै गरेका भेटिन्छन्। कहिले उनी बहसमा भेटिन्छन्, कहिले उनी मेलामा भेटिन्छन्।
०००
०२९ सालमा जन्मिएका कीर्तिमानको जीवनमा दुई पुस्तकले महत्वपूर्ण भूमिका खेले। ०५१ सालमा कीर्तिमानले पढेका दुई पुस्तक थिए, ‘झुन्ड्याउँदा–झुन्ड्याउँदै’ (नेपालीमा अनुवाद) र प्रेम सुधाको ‘बेचिएकी चेली’। यी दुई पुस्तकले कीर्तिमानको सोच र विचारमा उथल–पुथल मच्चाए। जसको कारण उनले बुझे, परिवर्तन के हो?
रोल्पाको रोल्वाङ माध्यमिक विद्यालयमा ७ मा पढ्थे कीर्तिमान ०५२ सालतिर। त्यतिबेलै उनी माओवादी विद्यार्थी संगठनमा आवद्ध भए। त्यसको दुई वर्षपछि ०५४ सालमा उनी जिल्ला सदस्य बने। ०५५ मंसिर २५ गते कीर्तिमान भूमिगत भए।
पछि ०५८ सालको वैशाखमा पार्टीले महत्वपूर्ण जिम्मेवारी दिएर कीर्तिमानलाई अर्घाखाँची पठायो। एक वर्षपछि उनकी श्रीमतीलाई पनि पार्टीले प्युठान सरुवा गर्यो। अर्को एक वर्षपछि फेरि उनलाई पार्टीले अर्घाखाँचीमै सरुवा गर्यो।
०२९ सालमा जन्मिएका कीर्तिमानको जीवनमा दुई पुस्तकले महत्वपूर्ण भूमिका खेले। ०५१ सालमा कीर्तिमानले पढेका दुई पुस्तक थिए, ‘झुन्ड्याउँदा–झुन्ड्याउँदै’ (नेपालीमा अनुवाद) र प्रेम सुधाको ‘बेचिएकी चेली’।
कीर्तिमान श्रीमतीसहित बस्दै आएका थिए। तर त्यति नै बेला एउटा दुखद् संयोग आइपुग्यो। ०५९ साल मंसिर ११ गते। रात चिसो थियो। राति दुई बजे उनकी श्रीमतीलाई व्यथा लाग्यो। बिहान ७ बज्दा घर नै घेराबन्दीमा पर्यो सेनाको। कीर्तिमानलाई कठोर मन बनाएर घेराबन्दीबाट निस्कने बाध्यता आइपर्यो।
उनी नजिकैको डाँडामा थिए। घरमा स्थानीयले सहयोग गरेर श्रीमतीको ज्यान बचाइदिए। ती मान्छेहरुलाई आज पनि खुब प्रेम गर्छन्, कीर्तिमान। भन्छन्, ‘उनीहरुले मेरो श्रीमती र बच्चालाई नयाँ जीवन दिए, उनीहरुसँगको मेरो सम्बन्ध अटुट छ।’ त्यो ठाउँ ढाकावाङको साम्मी गाउँ थियो।
०००
०६१ माघ ६ गतेले पनि कीर्तिमानको जीवनमा महत्वपूर्ण अर्थ राख्छ। किनकि त्यसदिन पाँच सेकेन्डको विवेकीले ठूलो दुर्घटना पनि सजिलै टर्यो। पार्टीले कीर्तिमानलाई जिम्मेवारी दिएर सन्धिखर्क पठाएको थियो सहायक सीडीओलाई कब्जा गर्न। पार्टीले यहाँसम्म भनिदिएको थियो कि, भाग्ने प्रयास गरे ‘सुट’ गरिदिनु। त्यतिबेला सहायक सीडीओ थिए, विरेन्द्रनाथ शर्मा।
कीर्तिमान परे सालीन। उनले बन्दुक नै प्रयोग नगरेर कब्जा गर्ने योजना बनाए। त्यो योजना सुनाउँदै कीर्तिमान भन्छन्, ‘हामी दुई जना मूल गेटबाट गयौं, अन्य दुई जना साथीहरु पछाडिबाट गए। तर उनीहरु बाटो अलमलिएर हराए। भित्र त म एक्लै परेँ। उहाँ खाना खाँदै हुनुहुन्थ्यो, उहाँलाई समातेँ। एउटा हातमा माउजर थियो। उहाँ फुत्किन खोज्नुभयो। पार्टीले त गोली हान्ने समेत निर्देशन दिएको थियो। तर मैले हानिनँ। हानेको भए म पनि मर्थें, उहाँ पनि मर्नुहुन्थ्यो। ५ सेकेन्डको विवेकीले सबै बच्यौँ।’
रोचक कुरा त के छ भने कब्जामा परेका सहायक सीडीओ शर्मा कीर्तिमानको घरमै बसे जेल्वाङमा। करिब दुई महिना शर्माले कीर्तिमानकै बुबासँग गफ गरेर बिताए। उनीहरु साथीसमेत भइसकेका थिए। कीर्तिमान त्यो क्षण सम्झँदै भन्छन्, ‘मैले गिरफ्तार गरेर ल्याएको शर्मा सर त छुट्दासम्म मेरो बुबाको प्यारो भइसक्नु भएछ।’
यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय निर्वाचनमा कीर्तिमान माओवादी केन्द्रबाट सुनछहरी गाउँपालिकाको अध्यक्षका उम्मेदवार छन्। उनलाई नेकपा एकीकृत समाजवादीको पनि समर्थन छ। अहिले उनी सुनछहरीको नयाँ मोडालिटी तयार गरिरहेका छन्। चुनाव नजिकिँदै गर्दा अधिकांश उम्मेदवार यतिबेला घरदैलो कार्यक्रममा छन्। तर कीर्तिमानलाई त्यसको खासै परवाह छैन। खराब नियत र जनतामाथि विश्वास नगर्नेहरु मात्र घरदैलोमा अनुहार देखाउँदै हिँडेको उनको तर्क छ। उनी भन्छन्, ‘वर्षमा एक पटक अनुहार देखाउनेहरुले मात्र घरदैलो गरेको सुहाउँछ। म त दिनकै गाउँ–गाउँ हिँड्ने मानिस हुँ। मलाई सहानुभूति बटुल्ने कुनै सोख छैन।’
त्यसो त ०७४ सालको स्थानीय चुनावमा पनि सुनछहरीको नेतृत्व माओवादीकै आशबहादुर पुन रक्तिमले गरेका थिए। रक्तिम यसपटक पनि दोहोरिने चर्चा नचलेको भने होइन। तर, रक्तिमले नै बलियो विश्वाससहित कीर्तिमानको लागि ठाउँ छोडिदिए।
आशबहादुरले २ हजार ५ सय ६१ मत प्राप्त गरेका थिए। त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै पवित्रा घर्तीले २ हजार ३ सय २० प्राप्त गर्दै विजयी भएकी हुन्।
यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय निर्वाचनमा कीर्तिमान माओवादी केन्द्रबाट सुनछहरी गाउँपालिकाको अध्यक्षका उम्मेदवार छन्।
नेपाली कांग्रेसबाट अध्यक्षमा उम्मेदारी दिएका दुर्गे बुढाले १ हजार १ सय ३६ मत पाएका थिए भने उपाध्यक्षमा नेपाली कांग्रेसकै सरु पुनले १ हजार १ सय ४१ मत पाएकी थिइन्।
गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा माओवादीबीच चुनावी गठबन्धन भएको छ।
सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाबाट सो पार्टीका नेता पुस्तमन घर्ती गाउँपालिका अध्यक्षको स्वतन्त्र उमेदवार बनेका छन्। घर्तीले पुतली चुनाव चिन्हबाट चुनाव लड्ने छन्। गाउँपालिकाको उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको छ।
यसअघि पनि माओवादी केन्द्रले नै जितेको सुनछहरीमा कीर्तिमानलाई चुनौती पनि छ, कसरी रक्तिमको योजनालाई सफल पार्ने? कसरी आफ्नो नयाँ योजनालाई कार्यान्वयनमा ल्याउने? वास्तवमा रोल्पाकै सबैभन्दा विकट ठाउँ हो, सुनछहरी गाउँपालिका। अन्य पालिकाको तुलनामा यो ठाउँ भौतिक पूर्वाधार, यातायात, शिक्षा, स्वास्थ्यलगायत विभिन्न पक्षमा कमजोर नै छ। वडा नम्बर २ मा झन् आजसम्म कच्ची मोटर बाटो पनि पुगेको छैन।
कीर्तिमानको अबको पहिलो योजना भनेको सुनछहरीका प्रत्येक वडामा जसरी पनि सडक यातायात पुर्याउनु हो। उनी भन्छन्, ‘२ नम्बर वडालाई आजसम्म मोटरबाटोले छोएको छैन। यातायात पुगेका वडाहरुमा पनि सडकको अवस्था निकै कमजोर छ। सबै वडालाई यातायातको पहुँचमा पुर्याउने मेरो पहिलो प्राथमिकता हो।’
सुनछहरीमा अर्को मुख्य समस्या भनेको शिक्षक दरबन्दी हो। ८ वटा माविमध्ये ७ वटा निमाविको दरबन्दीबाट चलिरहेका छन्। जनता निजी स्रोतबाट शिक्षक राखेर सन्तान पढाउन बाध्य छन्। कीर्तिमान भन्छन्, ‘शिक्षक दरबन्दी नहुनु पनि सुनछहरीको मुख्य समस्या हो। मैले नेतृत्व लिएपछि शिक्षक दरबन्दी सिर्जना गर्न संघ र प्रदेश सरकारसँग सक्दो समन्वय गर्नेछु।’
सुनछहरीमा एउटा पशु प्राविधिक शिक्षालय पनि छ, तर आधुनिक व्यवसायीमुखी कृषिको वातावरण भने अझै निर्माण भइसकेको छैन। स्थानीय स्तरमा उत्पादित सामग्रीलाई बजारीकरण गर्न प्रत्येक वडामा कृषि संकलन केन्द्र स्थापना गर्ने योजना रहेको पनि कीर्तिमानले जानकारी दिए। नेपाल समयसँग कुराकानी गर्दै उनले भने, ‘करारमै भए पनि कसैलाई राखेर प्रत्येक हप्ता एउटा वडामा उत्पादन सामग्रीलाई बजारसम्म पुर्याउने व्यवस्था गछौँ।’
सुनछहरीमा अर्को मुख्य समस्या भनेको शिक्षक दरबन्दी हो। ८ वटा माविमध्ये ७ वटा निमाविको दरबन्दीबाट चलिरहेका छन्। जनता निजी स्रोतबाट शिक्षक राखेर सन्तान पढाउन बाध्य छन्।
सुनछहरीमा तरकारी, फलफूल, गेडागुडी उत्पादनको लागि उपयुक्त माटो रहेको पनि उनले जानकारी दिए। भने, ‘यहाँ पर्याप्त मात्रामा सिमी, खुर्सानी, बन्दागोपी, काउली, सिजनको आलु, अफसिजनको आलु, लसुन, प्याज, अदुवा, बेसार, अलैची उत्पादन हुन्छ। कृषकहरुलाई जसरी पनि यी उत्पादित सामग्रीको उचित मूल्य दिलाउँछौँ।’
जलजलासम्मको मार्गबारे भने पुरानै योजनालाई निरन्तरता दिने उनको सोच छ। बरु प्राकृतिक, धार्मिक तथा पर्यटन मार्गको लागि सुनछहरी झरनाबाट गाम, कोठिभीर, तिलाचन दह हुँदै जलजलासम्म गुरिल्ला पदमार्गको लागि डीपीआर तयार गर्ने तयारी उनको छ। विभिन्न ठाउँमा सहिद स्मृति स्मारक पनि बनाइने कीर्तिमानले बताए। उनले भने, ‘सुनछहरीको लागि बलियो आर्थिक आधार बनायौँ भने बाँकी समस्याहरु आफैँ न्यूनीकरण हुँदै जान्छन्।’
०००
पर्यटन विकासको प्रचुर सम्भावना बोकेको जलजलाले ४ वटा स्थानीय तहलाई छोएको छ परिवर्तन, सुनछहरी, थवाङ र रोल्पा नगरपालिका। थवाङीहरुले जलजलालाई आफ्नो भनेर दावी गर्छन्। तर वास्तवमा भूगोलको नक्सालाई आधार मान्ने हो भने जलजला सुनछहरी गाउँपालिकामै पर्छ।
सुनछहरी गाउँपालिकामा ७ वडा छन्। वडा नम्बर १ हो, सेरम। २ नम्बर भित्री गाम। ३ चाहिँ बाहिरी गाम। ४ हो स्युरी, ५ नम्बर जैमाकसला। फगाम ६ नम्बर र ७ नम्बर जेल्वाङ हो। गाउँपालिकामा लगभग साढे १६ हजार मतदाता छन्। तर १० हजारको सेरोफेरोमा मात्र मत खस्छ।
आफूहरुको संगठित मत ६ हजार रहेको कीर्तिमानले दाबी गरे। उनले भने, ‘हाम्रो संगठित मत भनेको ६ हजार छ। त्यसबाहेक थपिएका मतदातालाई जोड्ने हो भने करिब ७ हजार मत हाम्रो पक्षमा खस्छ।’