काठमाडौं– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा गठबन्धन आबद्ध दलहरू एक्लाएक्लै चुनाव लड्ने भएका छन्। कृष्णपुरको मेयरमा नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत समाजवादी, राप्रपालगायत दलले मेयरका लागि उम्मेदवारी दिएपछि गठबन्धन नहुने भएको हो।
२०७४ सालको निर्वाचन कृष्णपुरमा एमाले विजयी भएको थियो। तत्कालीन समयमा एमालेका कर्ण हमाल ६ हजार ७०६ मतका साथ विजयी भएका थिए। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हेमराज ओझालाई पराजित गरेका थिए। ओझाले ५ हजार ७६० मत प्राप्त गरेका थिए।
उपप्रमुखमा पनि एमालेकै रमिता कुमारी साना विजयी भइन्। उनले ७ हजार १८ मत ल्याएकी थिइन्। कांग्रेसकी भुवनेश्वरी जोशी ५ हजार ९ सय २८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीमा चित्त बुझाइन्।
कांग्रेस र माओवादीले पुरानै उम्मेदवारलाई मेयर पदका लागि दोहोर्याएको छ। एमालेले लोकराज पन्तलाई मेयर उम्मेदवार बनाएको छ। एकीकृत समाजवादीबाट सुरेन्द्र बम र राप्रपाबाट जगदीश भट्ट मेयरको प्रतिस्पर्धामा छन्।
कृष्णपुरमा अघिल्लो पटक पराजित कांग्रेस उम्मेदवार ओझालाई बलियो प्रतिस्पर्धी मानिएको छ। मेयर उठ्नु अघिपछि उनी समाजसेवामा थिए।स्थानीय पुष्पराज भट्टले पराजित भएपनि सधैँ जनताको माझमा रहेर काम गरेको दाबी गर्छन्।
‘उहाँले सधैँ जनताको माझमा रहेर काम गर्नुभएको छ। कोरोना महामारीको समयमा भारतीय सीमानाका त्रिनगर भन्सार कार्यालयमा निःशुल्क मेस सञ्चालन गुर्नभयो। अक्सिजन अभाव हुँदा आफैँले खरिद गरेर अस्पताल–अस्पताल पुगेर अक्सिजन दिनुभयो,’ उनी भन्छन्। पदमा नरहँदा पनि ओझाले काम गरेका कारण अहिले जनताले उनलाई पदमा पुर्याएर काम गर्न सहज अवस्था सिर्जना गरिदिने भट्टको विश्वास छ। काम गर्ने व्यक्तिको खाँचो छ,’ उनले भने।
उता ओझा पनि आफूले चुनाव जितेपछि जनताको शीर झुक्न नदिने दाबी गर्छन्। उनी आफू सधैँ भ्रष्टाचार र बेथितीका विरुद्धमा उभिने बताउँछन्। ‘मलाई मेरो नगरपालिका बनाउनु छ। राजनीति कमाइ खाने भाँडो होइन। खानलाई मेरो आफ्नै पैत्रिक सम्पति छँदैछ। एउटा स्कुल सञ्चालन गरेको छु। उद्यम, व्यवसायमा आवद्ध छु। मलाई त्यसको आम्दानीले पर्याप्त पुगेको छ। त्यसबाट बचेको रकम सामाजिक क्षेत्रमा पनि खर्चिने गरेको छु। राजनीति समाजसेवाका लागि उत्कृष्ठ नीति भएकाले म कृष्णपुरको मुहार फेर्न चाहन्छु,’ उनी भन्छन्।
उनले आफू मेयरमा विजयी भइसकेपछि सबैभन्दा पहिला जनताको स्वास्थ्यमा केन्द्रित हुने बताएका छन्। गाउँपालिकामा दमकलको व्यवस्थापन गरिने ओझाले बताए। ‘हाम्रो नगरपालिकामा त रगत बैंक पनि छैन। बेला–बेला रगत अभावमा मानिसले ज्यान गुमाउनु परिरहेको हुन्छ। त्यो अवस्थाले मेरो मनमा पीर छ। म रगत अभावमा कुनै पनि जनताले ज्यान गुमाउन नपर्ने अवस्थाको सिर्जना गर्नेछु। एम्बुलेन्स र दमकलको व्यवस्थापन गर्नेछु,’ उनले भने।
शिक्षाको स्तरोन्नति र महिला प्रजनन् स्वास्थ्यलाई पनि आफ्नो कार्यकालमा व्यवस्थित गरिने ओझाले बताए। सामूहिक खेतीलाई प्राथमिकता दिने रणनीति आफ्नो रहेको ओझाले सुनाए। ‘युवाहरू कुलतमा बसेको देख्दा निकै चिन्तित तुल्याउँछ। देशको मेरुदण्डको रुपमा रहेका युवालाई काम गर्ने वातावरण सिर्जना हुनुपर्छ। त्यसतर्फ ध्यान दिनुका साथै निःशुल्क रुपमा नगरपालिकाले व्यवस्थापन गर्ने गरी लागू पदार्थ दुर्व्यसनी सुधार केन्द्रको स्थापना गर्नेछु,’ उनले भने।
विश्व नै प्रविधिमा फड्को मारिरहेको अवस्थामा आफूले सधैँ नगरपालिकाभित्रका कार्यालय र विद्यालयहरूको सूचना प्रविधिको विकास तथा पहुँचमा जोड दिने ओझा बताउँछन्। छाडा चौपायाका कारण दिनहुँ हुने दुर्घटना न्यूनीकरणका लागि व्यवस्थापनमा ध्यान दिने ओझाको योजना छ।
‘मैले कोरोना कहरमा आफ्नै पैसाबाट सात सय अक्सिजन सिलिन्डर किनेर वितरण गरेँ। बिरामी पर्दा आफ्नै गाडीमा राखेर जनतालाई अस्पताल ल्याउने लैजाने काम गरेँ। यो मेरो समाजप्रतिको उत्तरदायित्व हो,’ ओझा भन्छन्।
त्रिभुवन विश्वविद्यालयबाट एमए र बीएड गरेका ओझा कृष्णपुर नगरपालिका–६ का बासिन्दा हुन्। उनले कोरोना महामारीमा जनताको ज्यान जोगाउनका लागि पुर्याएको योगदानको कदर गर्दै राष्ट्रपतिद्वारा जनसेवा श्री पदकबाट विभूषित पनि भएका थिए।
एमालेबाट मेयरका प्रत्यासी बनेका लोकराज पन्त भने कृष्णपुरमा एमालेको जित निश्चित भएको बताउँछन्। उनले कृष्णपुरमा एमाले, कांग्रेस र माओवादीबीच चुनावी प्रतिस्पर्धा भए पनि जित आफ्नो निश्चित भएको दाबी गरे। 'हामीले चुनावी अभियानलाई तीव्र बनाएका छौं। जनताको घरमा जाँदा सबैको आत्मीय सद्भाव पाएका छौं। विगतमा हामीले गरेका राम्रा कामले पनि जनता हामीसँग छन्,' उनी भन्छन्।
उनले कृष्णपुरमा सुकुम्वासी समस्या, आरक्ष पीडितको समस्या र न्यून आय भएका दलित समुदायको समस्या समाधानमा विशेष ध्यान दिने बताए। त्यसपछि शिक्षा र स्वास्थ्य आफ्नो प्राथमिकतामा रहने उनी बताउँछन्। 'मैले एमालेबाट नेतृत्व गर्दै सधैँ कृष्णपुरवासीको अनुहार हँसिलो बनाउने छु। नगरपालिकामा आवश्यक कुराहरूको पूर्ति गर्दै जानेछु,' उनी भन्छन्।
यस्तै नेकपा एकीकृत समाजवादीबाट कृष्णपुरको मेयरका प्रत्यासी युवा नेता सुरेन्द्र बम पनि युवामाझ लोकप्रिय छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारको पुनर्स्थापनाका लागि प्रतिवेदन तयार गरेर बमले चर्चा कमाएका थिए। वर्षौदेखि आरक्षपीडितको न्यायिक पुनर्स्थापनाका लागि प्रतिपरिवार १० कट्टा जमिन र जमिन दिन नसके ६० लाख क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव बमले अघि सारेका थिए।
तर, सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गरेको छैन। सामाजिक सेवा गर्दै आएका बमले कृष्णपुर नगरपालिका-२ वाणिस्थित आफ्नै होटलमा पानी प्रशाेधन गरेर आसपास क्षेत्रका स्थानीयका लागि शुद्ध खानेपानी प्रबन्ध गरेर प्रसंशा कमाएका छन्। बमले कृष्णपुर नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने योजना रहेको बताएका छन्।
बमले नगरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य खानेपानी, सञ्चार, रोजगारी, पर्यटन, संरक्षणका योजना ल्याउने भन्दै आफ्नो चुनावी रणनीति अघि सारेका छन्। उनले आरक्षपीडित, भूमिहीन, मुक्त कमैया, हलियाका सबै समस्या समाधान गर्न अग्रगामी भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाएका छन्।
एमाले र समाजवादी दुवै चुनावी मैदानमा हुँदा यसको फाइदा कांग्रेस र माओवादीले लिने स्थानीय जानकारहरु बताउँछन्।