बुधबार, असार ३१, २०८३

पहिलो फिल्म ‘आमा’ले जन्माएकी हिरोइन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौंका गल्ली अहिलेजस्तो बाक्लो थिएनन्। र, मान्छेको चाप पनि पातलो थियो। पातला गल्ली पैदलै छिचोलेर जनसेवा हल (विशाल बजार) पुग्थिन्, भुवन चन्द । र, डबली (वसन्तपुर)मा नाच्थिन्, छम छमी।

राष्ट्रिय नाचघर ०१० सालतिर संस्थान भइसकेको थिएन। ती दिन सम्झँदै उनी भन्छिन्, ‘म डबलीमा नाच्दा राष्ट्रिय नाचघर नै बनेको थिएन।’

होचो कदकी भुवन हँसिलो चेहराकी धनी हुन्। उनका आँखा बडा आकर्षक छन्। नृत्यसँगै अभिनयको रसले रंगमञ्चमा रमाउन थालिन् । त्यसैले त, उनी बाल्यकालदेखि नै रंगकर्मी बनिन्। 

रंगकर्ममा उनले पाइला टेकिन्। डबलीमा उनी नाचिन्। जनसेवा हल अहिले सुपरमार्केट बनेको छ। त्यहाँ पनि नाचिन्। उसो त, उनको परिवार नै कलाकारितालाई मन पराउँथ्यो। उनी भन्छिन्, ‘बालकृष्ण समको अन्धवेग नाटक १० वर्षको उमेरमा बाल कलाकर भएर खेलेकी थिएँ।’

उनका गुरु थिए विष्णुप्रसाद पाण्डेय, कृष्णप्रसाद रिमाल, जसले उनलाई अभिनय सिकाउँथे। तिनै गुरुहरूको हात समाएर उनले आफ्नो अभिनयलाई निखार्दै लगिन्।

त्यहीबेला तत्कालीन श्री ५ को सरकारले कलाकार जन्माउनुपर्छ भन्ने उद्देश्यका साथ कला मञ्चहरू खोल्यो। राजा महेन्द्रकै पालामा संस्थालाई अनुदान दिने निधो गरियो । नेपाल कला केन्द्र, जननाट्य परिषद् र नासा खल स्थापना भए। उनी भन्छिन्, ‘म नेपाल कला केन्द्रमा थिएँ, चैत्यदेवी नासामा थिइन्।’

प्रकृतिको प्रेरणा

उनी नाटकको रसमा भिज्दै थिइन्। ०१८ सालतिर करारमा उनी राष्ट्रिय नाचघरमा जागिरे भइन्। राजा महेन्द्र कलाप्रेमी थिए। उनलाई नाटक हेर्नुपर्थ्यो। त्यहीं नाटक देखाउन नाटककार श्यामदास वैश्णव कस्सिए । श्यामदास लेखे, ‘प्रकृतिको पे्ररणा’ शीर्षकको गीति नाटक। उनी भन्छिन्, ‘प्रकृतिको प्रेरणामा नायकको कल्पनातीत नायिका भएर खेलें।’

नायक थिए, यादव खरेल। नायकले नायिकालाई सम्झिन्थे। नायकको सम्झनामा आउने पात्र थिइन्, भुवन।

त्यो नाटकबाट उनले धेरै ठूलो प्रशंसा बटुलिन्। त्यसपछि उनका दिनहरू नाटकमै बित्न थाले। प्रायः नायिकाकै भूमिका निर्वाह गर्थिन्। उनी भन्छिन्, ‘म होचो कदकी भए पनि मेरो आर्टिस्ट फेसले मलाई थप सहयोग गर्‍यो।’ 

 ‘माइतीघर’मा माला सिन्हाकी छोरीको भूमिका गर्न आएको अफरले भुवन चन्दलाई रोमाञ्चक बनाएको थियो । तर, त्यसभन्दा अगाडि नै ‘आमा’ फिल्म आयो ।


उमेर सानो भए पनि उनको अनुहारलाई कलाकारितामा लागेका आँखाले चिन्ने रहेछन्। उनको ‘आर्टिस्ट फेस’ चिने, श्यामदासले। त्यहीबेला ढोका ढक्ढक्याउन आए, उनी। 

नेपालका चर्चित नाटककारहरू वाशु शशि, विजय मल्ल, रवि शाहलगायतका नाटक उनले खेल्न पाइन्। 

आफैंले कमाउनुपर्थ्यो

सानामा उनले बोर्डिङ स्कुल पढ्न पाइन्। स्वर्गीय उस्ताद भैरवबहादुर थापाकी छोरी भएकाले पनि उनलाई बोर्डिङ पढ्न गाह्रो भएन। अहिलेको र्‍याडिसन होटेलछेउमा स्कुल थियो। तर, उनको पढाइ बीचैमा रोकियो। कारण, उनी आमालाई लिएर अलग्गै बस्न थालिन्। उनी १३ वर्षको उमेरमा आफैंले कमाउन थालेकी थिइन्। 

मैतीदेवीमा डेरा गरेर आमालाई पाल्न थालिन् । १३÷१४ वर्षको उमेरमा उनले राष्ट्रिय नाचघरमा डेढ सय रुपैयाँको जागिर पाइन् । त्यो पैसाले उनलाई थप जिम्मेवार बनायो। उनी भन्छिन्, ‘घरभाडा तिरेर, मासुभात खाएर, तीन जना परिवार पालिन्थ्यो त्यसबेला।’ पैसा महँगो र सामान सस्तो हुने समय थियो त्यो। 

६ महिनाको करारमा उनले काम थालिन् । विमला श्रेष्ठ, चैत्यदेवी, शान्ति मास्केहरू पनि त्यहीं थिए। आफूभन्दा ज्येष्ठ कलाकारसँग उनको उठबस शुरु भयो। 

‘माइतीघर’भन्दा अगाडि ‘आमा’

उनको नाट्य यात्रासँगै नेपालमा फिल्म बन्ने हल्ला चल्यो। त्यसका लागि बीएस थापा नेपाल आएका थिए। माला सिन्हाकी छोरीको भूमिका गर्ने कलाकार चाहिएको रहेछ। बीएस थापाको नजिकको चिनजान थियो, स्वर्गीय उस्ताद भैरवबहादुर थापाको। त्यही सेरोफेरोमा भुवन बीएसको आँखामा परिन् । उनी भन्छिन्, ‘माला सिन्हाकी छोरीको भूमिका गर्न आएको अफरले मलाई रोमाञ्चक बनाएको थियो।’

बीएसले भुवनसँग फोटो मागे। उनले नाटक खेलेको क्रममा खिचेको फोटो दिइन्। केही महिनापछि माला सिन्हाले मन पराएर छनोट गरेको खबर आयो । त्यसबेलाको खुशी सुनाउँछिन्, ‘छनोट भएको वर्षदिनसम्म पनि माइतीघर बनेन।’ 

त्यसबेला कलाकार बन्न गाह्रो थियो, नेपालमा । अझ फिल्म बनाउनु त झनै गाह्रो। ‘माइती घर’ फिल्म नबनेपछि त्यस्तै लाग्यो, उनलाई। 

राष्ट्रिय नाचघरको जागिरे जीवन र ‘ड्रामा’मा रमाइरहेकी भुवनको दुई वर्षको कार्यकालमै फेरि नेपाली फिल्म बन्ने हल्ला चल्यो।

बलिउडबाट राजकुमार, कामिनी कौशल, देवानन्दजस्ता कलाकारसँग काम गरेका निर्देशक हीरासिंह खत्री नेपाल आइपुगे। त्यतिखेर राजा महेन्द्रको सरकारले फिल्म बनाउँदै थियो। नाम राखिएको थियो, ‘आमा’। 

उनी भन्छिन्, ‘हिन्दी फिल्म हेरेकी थिएँ तर नेपाली फिल्म त्यसभन्दा अगाडि बनेकै थिएन।’ 

उनी नाचघरको अँध्यारो हलमा नाटक खेलिरहेकी थिइन् । त्यही बेला हीरासिंह खत्रीलगायत कलाकार हेर्न आएको खबर आयो। अन्तरवार्ताका लागि चैत्यदेवी, विमला श्रेष्ठ र भुवन गए। 

सरकारले बनाउन लागेको फिल्म ‘आमा’का लागि कलाकार खोज्दै आएका लक्ष्मण लोहनीलगायतले उनीहरूको अन्तरवार्ता लिए। तीनै जना छनोटमा परे। भुवनलाई लिड, चैत्यदेवी आमाको भूमिका र विमला साइट रोलमा छनोट भए । 

र, ‘आमा’की हिरोइनमा भुवन चन्द नै छानिइन्। उनी भन्छिन्, ‘त्यो छनोट नै मेरो टर्निङ पोइन्ट भयो।’

फिल्म कस्तो होला ? के होला भन्ने उनलाई धेरै कौतुहल थियो। तर, उनको अभिनयले सबैलाई खुशी बनायो। फिल्म रिलिज भयो। त्यसबेलाका थोरै पत्रपत्रिकाले उनको प्रशंसा लेख्न थाले । 

अहिलेको जमातले इमोसनल अभिनयमा भन्दा फिगरमा हिरोइन खोजिरहेको छ। अहिलेका हिरोइनले पनि भन्न थालेका छन्, कथाले मागेपछि गर्नैपर्‍यो।


उनलाई प्रत्यक्ष भेट्नेले प्रेम देखाउन थाले। हाम्रो नेपालमा पनि कलाकार छन् भन्ने शुरुवात भयो । र, सीमित हलहरूमा हिन्दी फिल्म हेर्दै आएका दर्शकले नेपाली कलाकारको कलाकारिता देख्न पाए। उनी भन्छिन्, ‘राजा महेन्द्रले समेत मुक्त कण्ठले हाम्रो अभिनयको प्रंशसा गरेका थिए।’

उनको अभिनयको चौतर्फी बयान हुन थाल्यो। नेपालकी पहिलो हिरोइन हुने सौभाग्य पाइन्। उनको मिहिनेतले उनलाई एउटा उचाइ दियो। कहिल्यै कल्पना नगरेको उनले देखिरहेकी थिइन्। एक दिन एक कार्यक्रममा राजा महेन्द्रले नै उनलाई चार हजार रुपैयाँ बक्सिस दिए।

भारतको पटनाको एक पत्रिकाबाट समेत आफ्नो अभिनयको खुबै तारिफ गरिएको उनी सम्झिन्छिन्। यसरी उनले गरेको काम चर्चित भयो ।

नेपालको पहिलो फिल्म आमामा हिरो थिए शिव शंकर, आमा बनेकी थिइन् चैत्य देवी। र, पहिलो हिरोइन बनिन् भुवन चन्द। ‘आमा’ बनेको दोस्रो वर्षपछि ‘हिजो आज भोलि’ फिल्म बन्यो, जसमा उनी नै नायिका भइन्।

माइकल चन्दसँगको प्रेम

२६ वर्षको उमेरमा उनको विवाह भयो। उनलाई कहिल्यै विवाह होलाजस्तो लागेको थिएन। उनी कर्ममा बढी विश्वास गर्छिन् । ‘मान्छेको कर्ममा जे लेखेको छ, त्यही हुन्छ,’ उनी भन्छिन्, ‘ऊसँग मेरो लगनगाँठो कस्सिन लेखेको रहेछ ।’

सुदूर पश्चिमको बैतडीबाट पढ्नकै लागि हरिश चन्द राजधानीमा डेरा गरेर बसेका थिए । पढ्नु र पढाउनुपर्ने दैनिकी थियो। प्रज्ञा प्रतिष्ठानको हल बनेको थियो । हरिश चन्दको अंग्रेजी बोली सुनेर रेडियो नेपालका अधिकारीहरूले उनलाई अंग्रेजी समाचार वाचनका लागि बोलाए। उनी गए। 

राष्ट्रिय नाचघरमा एउटा कार्यक्रममा हरिश र भुवनको भेट भएको थियो।  पर्यटकहरू आएका बेला नाचहरू देखाउनुपर्थ्यो। त्यहाँ नेपालीबाट बोल्थे गणेश रसिकले र त्यसलाई अंग्रेजीमा अनुवाद माइकल चन्दले गर्थे। उनी भन्छिन्, ‘पहिलोपटक नाचघरमा उनको अंग्रेजी आवाज सुनेकी थिएँ।’

माइकल चन्द विस्तारै उनलाई पछ्याउन थाले। उनलाई पनि माइकलको शालिनपनमा अलिकति झुकाव बढिरहेको रहेछ । उनी भन्छिन्, ‘विवाह होला भन्नेचाहीं सोचेकी थिइनँ।’ 

नाचघरको सेरोफेरोमा उनीहरूको भेटघाट बाक्लिन थाल्यो। तर, दुवैले मन पराएको कुरा राख्न सकिरहेका थिएनन्। ०३३ सालतिर माइकल चन्द तीन वर्षका लागि जर्मनी जानुपर्ने भयो। त्यहीबेला माइकलले भुवनसँग प्रस्ताव राखे।

भुवन आश्चर्यमा परिछन्। २६ वर्षको उमेरमा उनलाई कसैले प्रेम ‘इजहार’ गरेको थियो। र, त्यो मान्छे विवाह गर्न पनि तयार थियो। त्यो समयमा २६ वर्षको उमेर त महिलाहरू बुढीकन्या भई भन्ने जमाना थियो।

घरमा आमाले पनि भुवनलाई विवाह गर्न आग्रह गरिन्। सबैको खुशीसँगै उनको खुशी पनि फुल्यो। उनी घरबारमा बाँधिइन्। प्रेमले उनको जीवनमा अर्को फड्को मारिदियो। 

फेरिएको नेपाली फिल्म

अहिलेको सिनेमा उदांगो बन्दै गएकोप्रति उनी चिन्तित छिन्। समयको माग भए पनि अति छाडा देख्छिन्। उनी भन्छिन्, ‘हाम्रो पालामा जति छोपियो, त्यति राम्रो भनिन्थ्यो। अहिले त्यस्तो छैन।’

गुन्युचोलीको जमाना हराउँदै गयो। कला र लोक संस्कृतिको उठान हुनुपर्थ्यो। तर, त्यसलाई बिर्सिएर विदेशी संस्कृति हावी भइरहेको छ । उनी भन्छिन्, ‘त्यसबेला हिरोइन प्रधान फिल्म हुन्थ्यो, अहिले छैन।’

उनी यो क्षेत्रलाई पवित्र मान्छिन्। समाजको कथा उठाउनुपर्ने हो। तर, त्यो कथा छुटिरहेको देख्छिन्। कथालाई नचिनेको हो कि अहिलेका फिल्मकर्मीले भन्ने पनि लाग्छ उनलाई। भन्छिन्, ‘त्यसबेलाका फिल्ममा कथा हुन्थ्यो। अहिले कथैबिनाका फिल्म बने।’

फिल्मलाई धेरै मान्छेले ‘हेट’ गर्छन्। फिल्मले विकृति ल्यायो भनिन्छ। तर, उनलाई त्यस्तो लाग्दैन। फिल्मकर्मीहरूले समाजको कथा टिप्छन् । समाज देखाउँछन् । तर, केही फिल्मकर्मीले गलत अथ्र्याएका छन्। उनी भन्छिन्, ‘फिल्मलाई खस्काउने काम केही स्वार्थी मान्छेहरूले गर्दा भएको छ।’

फिल्ममा लाग्ने बिग्रनु हो भन्ने समाज छ अझै पनि। त्यसबेलामा रंगकर्ममा लागेर नेपालको पहिलो हिरोइन भएर देखाइन् उनले। कति संघर्ष गर्नुपरेको होला? त्यो बहसको कुरा भइहाल्यो। उनी निश्वास छोड्दै भन्छिन्, ‘शायद अब फिल्ममा केही सुधार आइरहेको छ।’ 

उनको आशा पनि फिल्ममा सुधार आओस् भन्ने हो। राम्रा फिल्म बनिरहेको ठान्छिन् । अझ कथा टिप्न नसकेको उनको गुनासो छ । उनी भन्छिन्, ‘केही पढेर आएका छन्। शायद अब यिनीहरूले नयाँपन ल्याउँछन् कि।’

हिरोइन कति ग्ल्यामर ?

भुवनसँगै जन्मिएको थियो, नेपाली फिल्मी दुनियाँ। नेपाली महिला हिरोइन पनि हुन सक्छन् भन्ने जिउँदो प्रमाण हुन् उनी। तिनै हिरोइनको आँखामा अहिलेका हिरोइन उदांगिँदै गएका छन्। अहिलेका हिरोइनलाई सम्झँदै भन्छिन्, ‘अहिलेको जमातले इमोसनल अभिनयमा भन्दा फिगरमा हिरोइन खोजिरहेको छ।’ 

उनकै सामुन्ने केही हिरोइनले भनेका पनि छन्, कथाले मागेपछि गर्नैपर्‍यो। यस्तो बेला उनी निर्धक्क भन्ने गर्छिन्, ‘हिरोइनले आफूलाई मात्रै होइन, समाजलाई पनि हेर्नुपर्छ।’

उनी अहिलेका नायिकाहरूप्रति गर्व पनि गर्छिन्। अहिलेका धेरै पढेकाहरू यो क्षेत्रमा आइरहेको देख्छिन्। पहिले कलाकार खोजिन्थ्यो, अहिले कलाकार काम खोजिरहेका छन् । अन्य क्षेत्रका व्यक्तित्वहरू यो क्षेत्रमा आएका छन्। अन्य पेशामा लागेका युवतीहरू सिनेनगरीमा प्रवेश गरिरहेका छन्। उनी भन्छिन्, ‘अब पढेलेखका र अभिनय बुझेका युवतीहरू आइरहेका छन्।’

‘साइनो’ निर्माण गर्दै

फिल्म लाइनमै उनको बचपन बित्यो । जवानी बित्यो। र अब बुढेसकाल पनि बितिरहेको छ। अहिले पनि फिल्ममै सक्रिय भएर लागिरहेकी छन्। आमाकी हिरोइन कहीं आमा, कहीं हजूरआमा बनेर देखिने गर्छिन्। 

सात दशक पार गरेकी भुवन यतिखेर फिल्म निर्माण गर्दैछिन्। उनलाई चिन्नेहरू धेरै पटक सोध्थे, फिल्म बनाउने होइन दिदी ? उनी जवाफ दिन्थिन्, ‘म त एक्टर हुँ फिल्म बनाउने मैले होइन।’

आज साथीहरूले सोधेको कुराको जवाफ दिँदैछिन्, फिल्म ‘साइनो’ निर्माण गरेर। फिल्मको जिउँदो धरोहरको रूपमा उभिएकी भुवनको साइनो दर्शकले कसरी लिन्छन्, त्यो त हेरेपछि नै थाहा होला। 

कथाको पकड बलियो चाहिन्छ भन्ने तर्क राख्ने भुवन साइनोको कथा मन परेर काम गर्न लाग्दैछिन्। नेपाली समाजमा पछिल्लो पुस्तामा नाता÷साइनो कसरी हराउँदै गएको छ भन्ने कथा साइनोमा उठाइएको छ। उनी भन्छिन्, ‘कथा मन परेर काम गर्न थालेकी हुँ।’

साइनोलाई रमेश थापाले निर्देशन गर्दैछन्। भुवन यस फिल्ममा आफ्ना पालाका कलाकार जुराउने सोचमा छिन्। एकचोटी फेरि पुराना कलाकार उदाउने छन्, साइनोबाट।

मान्छे एक जीवन अनेक बाँचेकी पात्र

बाल कलाकर भएर रंगमञ्चमा उदाएकी भुवनले जीवनमा धेरै पात्रको अभिनय गरिन्। कलाकारले अनेक जीवन महशुस गर्न पाउँछन्, उनले पनि महशुस गरिन्। 

थिएटरदेखि रिल लाइफसम्म उनले जीवनलाई डोर्‍याइन्। मानिस भएर जन्मेपछि काममा रमाउन सक्नुपर्छ भन्छिन् । राम्रो काम गरौं, राम्रो सोचौं भन्दै थप्छिन्, ‘मनमा सन्तोष लिन सक्यो भने जीवन सधैं हराभरा लाग्ने हो।’

मान्छेको हेर्ने दृष्टिकोण सफा हुनु पर्छ भन्ने उनको विचार छ । सकेसम्म सबैसँग राम्रा कुरा गर्न पाइयोस् भन्ने आशा पनि हो उनको । उनी भन्छिन्, ‘मान्छेको सोच सकारात्मक भयो भने कहिल्यै दुःख पाइन्न।’

मान्छे एक जीवन अनेक बाँचेकी भुवन भन्छिन्, ‘मृत्यपछि पनि मान्छेले प्रशंसा गर्ने काम गर्नुपर्छ।’


प्रेम के हो त ?

उनका शुरुवाती दिन प्रेमिल पात्र पाइन्। हिरोइन भनेको केवल हिरोसँग प्रेम गर्ने पात्र हो भन्ने हुन्छ। प्रकृतिको प्रेरणामा पनि हिरोले सम्झेर कविता कोर्ने गर्छन्। 

प्रेममा बाँधिनुपर्ने हुन्छ। व्यक्तिगत जीवनमा पनि प्रेमले पछ्यायो। माइकल चन्दको प्रेमले उनलाई २६ वर्षको उमेरमा थप प्रेमिल बनायो। उनी भन्छिन्, ‘प्रेम भनेको सपोर्ट हो, विश्वास हो, जसले मान्छेलाई बाँच्न प्रोत्साहन दिइरहन्छ।’ 

शायद दुनियाँमा विश्वासको आधारमै प्रेम बाँचेको छ। 

आफूले मन पराएको मान्छेको हात समाएर हिँड्ने जमाना आयो । उनी भन्छिन्, ‘हामी दुई मिटर टाढा हिँडेर डेटिङ गर्थ्यौं।’ 

समयले मान्छेलाई परिपक्व बनाउँछ। क्यामेराको अघिल्तिर उभिएर उनका सात दशक बिते। उनका नसा-नसामा नाच छ। अभिनय छ। समयको ठूलो लगानी ठान्छिन् आफ्नो जीवनमा। आफ्नो भागमा परेको समयप्रति उनलाई गर्व छ। उनी आफ्ना हातले स्वयम्लाई स्पर्श गर्दै भन्छिन्, ‘अब मुर्झाएँ, फूल रहेछ मान्छेको जिन्दगी।’

छुटेको खुशी, देखेको खुशी

जिन्दगीको उतारचडाव उनले पनि धेरै भोगिन् । प्रेमको लयमा बग्दै जाने मान्छे हुन्। समयले उनलाई नेपालकी पहिलो हिरोइन बनाए पनि जिन्दगीको यात्रामा बालापन गुमाएको महशुस गर्छिन्।

राधाहरू धेरै चाहिने बाबु पाइन् उनले । बाबुकी दोस्री पत्नीबाट जन्मिएकी थिइन्। पछि बाले थप दुई श्रीमती बटुलेपछि उनले आफ्नी आमाको साथमा डेराबाट संघर्ष गर्न थालिन्। 

बाबुको माया पाउनुपर्ने बालापनमा उनले आमालाई पाल्न थालिन्। बाबुको स्नेह र माया उनीबाट सधैंलाई छुट्यो। 

आफूलाई मन पर्ने रंग क्षेत्रलाई समाउन पनि उनी परिवारबाट अलग्गिइन्। उनी भन्छिन्, ‘सन्तानलाई बाबुको स्नेह र माया कहिल्यै नछुटोस्।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।