काठमाडौं- केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने अनुमान गरेको छ। बिहिबार पत्रकार सम्मेलनको तयारी गरेको विभागले आधार मूल्यमा भने ५.५ प्रतिशत मात्र आर्थिक वृद्धि हुने अनुमान गरेको छ। विभागले बिहीबार पत्रकार सम्मेलनले गरेर आर्थिक वृद्धिदरको तथ्यांक सार्वजनिक गर्दैछ।
सरकारले बजेट मार्फत चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य हासिल हुने अनुमान गरेको थियो। चालु आर्थिक वर्षमा जलविद्युत क्षेत्रको वृद्धिदर ३६ प्रतिशत देखिएको छ भने होटल तथा पर्यटन क्षेत्र पनि ११ प्रतिशतले बढीरहेको देखिएकोले आर्थिक वृद्धि ५.८ प्रतिशत हुने सम्भावना रहेको विभागको दाबी छ।
विभागले गत वर्ष तामाकोशी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिनुलाई आर्थिक वृद्धिको मुल कडीको रुपमा चित्रित गरेको छ।
स्वदेशी लगानीमा बनेको ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजना गत वर्ष निर्माण सकिएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। गत आर्थिक वर्षमा केन्द्रीय तथ्यांक विभागले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो। तर, गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि १.८ भएको विश्व बैंकले अनुमान गरेको थियो।
गत आर्थिक वर्षमा वैशाखदेखि सुरु भएको निषेधाज्ञाले विभागले प्रक्षेपण गरे अनुसारको आर्थिक वृद्धिदर भने प्राप्त भएन। विश्व बैंकले गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत रहेको अनुमान सार्वजनिक गरेको थियो।
विश्व बैंकले चालु आर्थिक वर्षमा ४.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ। तर केही दिन अगाडी मात्र अन्तराष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले भने ६.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ।