आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • लगातार वर्षापछि बीपी राजमार्गसहित काभ्रेका विभिन्न सडक अवरुद्ध

लगातार वर्षापछि बीपी राजमार्गसहित काभ्रेका विभिन्न सडक अवरुद्ध

 |  आइतबार, असोज ११, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०८३

काभ्रे- लगातारको वर्षाका कारण काभ्रेका विभिन्न स्थानमा सडक भासिने, कटान हुने तथा पहिरो खस्ने क्रम बढेपछि बीपी राजमार्गसहित विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।

बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा करिब २५० मिटर सडक बगेको छ। यस्तै, रोशी गाउँपालिका–७ घुमाउनेमा सडक कटान भएको छ भने सोही वडाको चारसयमा पहिरो गएको छ।

रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा ढुंगा र लेदोसहित पहिरो खसेको छ। रोशी–११ कालढुंगामा सडक कटान हुनुका साथै पिप्लेमा पहिरो गएको छ। रोशी–१२ माम्तीमा समेत सडक कटान भएको जनाइएको छ। यसैबीच, धुलिखेल नगरपालिका–८ जिपलाइनस्थित अरनिको राजमार्गमा सडक माथिबाट ढुंगा–माटोसहित पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

काभ्रेभञ्ज्याङबाट नमोबुद्ध जाने भित्री सडकखण्ड करिब २५ मिटर भासिएर अवरुद्ध भएको छ। रोशी गाउँपालिका–७ घुमाउनेमा खोलाको पानी बढेर एकतर्फी सञ्चालनका लागि खोलिएको सडकसमेत कटान गरिरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, पनौती नगरपालिका–१० पाटीखर्कदेखि बेथानचोक गाउँपालिका–४ खहरेखोलासम्मको भित्री सडकखण्डमा ठाउँ–ठाउँमा सडक अवरुद्ध भएको छ। काभ्रेमा आज पनि लगातार पानी परिरहेको र सडक खुलाउने समय निश्चित नभएको जनाइएको छ।

प्रकाशित: Sep 27, 2026| 13:19 आइतबार, असोज ११, २०८३
प्रतिक्रिया दिनुहोस्