शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • बामदेव गौतम, जो स्थानीय निर्वाचनमा मौन बसेर राजनीतिको नयाँ रोडम्याप कोर्दैछन्

बामदेव गौतम, जो स्थानीय निर्वाचनमा मौन बसेर राजनीतिको नयाँ रोडम्याप कोर्दैछन्

नेकपा विवाद उत्कर्षमा पुगेका बेला गौतमले विभाजित भएर निर्वाचनमा गए नेपालमा कम्युनिस्टहरु कमजोर हुने प्रक्षेपण गरेका थिए। नभन्दै कम्युनिस्ट पार्टीहरुको राजनीति उनले भनेझैं अघि बढेको छ। कम्युनिस्ट घटकहरुको शक्ति स्थानीय निर्वाचनमा परीक्षण हुँदैछ।
 |  बुधबार, वैशाख १४, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बुधबार, वैशाख १४, २०७९

काठमाडौं– दलहरुलाई अहिले स्थानीय निर्वाचनको चटारोले भ्याइ–नभ्याइ छ। केही दिन अघिसम्म उम्मेदवार चयनको चटारोमा रहेका दलहरुलाई अहिले प्रचारको हतारो छ। स्थानीयदेखि केन्द्रीय तहका नेताहरु चुनावमा होमिएका छन्। 

triton college

तर, नेपाली राजनीतिका एक चर्चित पात्र बामदेव गौतम भने मौन बसेका छन्। उनका समकालिन नेता र कुनैबेला उनी आवद्ध रहेका दलहरु एजेन्डा सहित दलबल लिएर चुनावी मैदानमा उत्रिएका छन्। तर, गौतम न कतै देखिएका छन्, न सुनिएका नै। उनी राजनीतिक गतिविधिमा निस्क्रिय देखिएका छन्। 

ढुलमुले र अस्थिर पात्रका रुपमा परिचित गौतम कुनै समय राजनीतिको केन्द्रमा हुन्थे। नेकपा विभाजन भएपछि पनि उनले बाम पार्टीहरुबीच एकता गरेर सग्लो नेकपा बनाउने भनेर अभियान नै चलाए। पछि एमाले पनि विभाजनको डिलमा पुगेपछि मध्यमार्गी बाटो अपनाएर उनले पार्टी बचाउनुपर्ने प्रस्ताव राखे। 

तैपनि, नेकपा विवाददेखि एमाले विभाजनसम्म आइपुग्दा उनमा ढुलमुले चरित्र देखिन्थ्यो। प्रायजसो गौतम पार्टीभित्र रहेका सबै गुटको प्रयोगमा परे। कहिले ‘प्रधानमन्त्री कार्ड’मा लोभिएर त कहिले सांसद बनाउने आश्वासनमा परेर उनी प्रयोगको पात्र बनिरहेका थिए। 

नेकपा एकीकरण र एमाले विभाजन हुन नदिने प्रयास असफल बनेपछि अन्ततः उनले एमाले नै छाडिदिए। एमालेबाट राजीनामा दिएर माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा जाने निर्णयसमेत गौतमले गरेका थिए। तर, समाजवादी प्रवेश गर्ने विषयमा पनि उनको कुरा मिलेन। यसरी आफ्ना समकालीन नेताहरुबाटै एक्लिएका बामदेव अहिले के गर्दैछन्, चुनावलाई कसरी नियालिरहेका छन् र उनी के योजना बनाउँदैछन्? चासो स्वाभाविक छ। 

corrent noodles
Metro Mart
ढुलमुले र अस्थिर पात्रका रुपमा परिचित गौतम कुनै समय राजनीतिको केन्द्रमा हुन्थे। नेकपा विभाजन भएपछि पनि उनले बाम पार्टीहरुबीच एकता गरेर सग्लो नेकपा बनाउने भनेर अभियान नै चलाए। पछि एमाले पनि विभाजनको डिलमा पुगेपछि मध्यमार्गी बाटो अपनाएर उनले पार्टी बचाउनुपर्ने प्रस्ताव राखे। 

सम्भवतः बाम घटकहरु एक्ला र अन्य दलसँग चुनावमा जाँदा कमजोर बन्ने आकलन उनको छ। सोही कारण उनी यो चुनावमा मौन बसेका छन्। नेकपा विवाद उत्कर्षमा पुगेकै बेला उनले सार्वजनिक रुपमै विभाजित भएर निर्वाचनमा गए नेपालमा कम्युनिस्टहरु कमजोर हुने प्रक्षेपण गरेका थिए। ‘यसपटक विभाजित भएर हामी जान्छौं। त्यसो हुँदा स्वाभाविक रुपमा नेकपाको एकीकृत शक्तिभन्दा धेरै तल हामी झर्नेछौं,’ उनले त्यो बेला भनेका थिए, ‘त्यसबेला उनीहरुले यसको महत्व बुझेर लौन मिलाइदेउ भन्छन्। म बाहेक अर्को व्यक्ति छैन यसरी मिलाउन सक्ने।’

नभन्दै कम्युनिस्ट पार्टीहरुको राजनीति उनले भनेझैं अघि बढेको छ। अब कम्युनिस्ट घटकहरुको शक्ति निर्वाचनमा परीक्षण हुनेछ। त्यसपछि कम्युनिस्ट एकताका लागि बाम घटकहरुले बामदेवको ढोका ढकढक्याउनुपर्ने अवस्था आउँछ वा आउँदैन, त्यो समयक्रमसँगै थाहा हुनेछ। यद्यपि कांग्रेससँगको गठबन्धन सफल नभए बाम एकता हुने विश्लेषण पनि भइरहेकै छन्। कतै गौतम बाम एकतामा आफ्नो भूमिका खोजिरहेका त छैनन्? यसबारे प्रश्न गर्दा उनले विकल्पमा नेकपाको पुनर्मिलनदेखि आफ्नै नेतृत्वमा पार्टी निर्माणसम्मको विकल्पमा काम गरिरहेको जवाफ दिन्छन्।

स्थानीय तहको निर्वाचनपछि राजनीतिमा ‘कमब्याक’ गर्ने सोचिरहेको र त्यसकै गृहकार्यमा व्यस्त रहेको गौतमको दाबी छ। १२ जनाको सल्लाहकार समिति बनाएर राजनीतिको नयाँ नक्सा कोरिरहेको उनले सुनाए। यद्यपि, एमाले वा नेकपा एसबाटै राजनीति गर्ने कि आफ्नै पार्टी खोल्ने भनेर निर्णय गरिनसकेको उनले बताए ।

‘अहिलेको स्थितिमा मैले एमालेबाट राजीनामा गरेर बसिरहेको छु। एकीकृत समाजवादीमा जाने कुरा पनि मिलेन। माओवादी र कांग्रेसमा त जाने कुरै भएन,’ गौतमले नेपाल समयसँग भने, ‘त्यसैले स्थानीय निर्वाचनपछि, अहिले भइरहेका पार्टीमा जाने कि नयाँ पार्टी खोल्ने वा बाम एकताको प्रयत्नमा जोड दिने भन्ने विषयमा मेरा ‘कोर टिम’सँग छलफल गर्दैछु।’

उनले भनेको कोर टिममा १२ जना सदस्य छन्। अहिले एमालेमा रहेका कतिपय नेतासमेत सो टिममा रहेको उनको दाबी छ। ‘मैले सुरु गरेको नेकपा एकता राष्ट्रिय अभियानको कार्यसम्पादन कमिटीमा १ सय ७३ जना हुनुहुन्छ। जो जहाँ जानुभयो, उहाँहरु फर्किएर मैसँग आउने सल्लाह भइसकेको छ,’ उनले भने।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला गौतमले विभाजित भएर निर्वाचनमा गए नेपालमा कम्युनिस्टहरु कमजोर हुने प्रक्षेपण गरेका थिए। नभन्दै कम्युनिस्ट पार्टीहरुको राजनीति उनले भनेझैं अघि बढेको छ। कम्युनिस्ट घटकहरुको शक्ति स्थानीय निर्वाचनमा परीक्षण हुँदैछ।

उनको दाबीलाई मान्ने हो भने स्थानीय चुनावलाई उनले ध्यानपूर्वक हेरेका भने छैनन्। नयाँ योजनाको तयारीमा लाग्नुपर्ने भएकोले स्थानीय चुनावलाई खासै वास्ता नगरेको गौतमको भनाइ छ। उनका अनुसार अहिले भएका पार्टीहरुसँग विचार नमिलेकोले पनि नयाँ ‘रोडम्याप’ कोर्न उनी बाध्य हुनुपरेको हो। 

तर, उनको दाबी र यथार्थ भने मेल खाँदैन। विचार भन्दा पनि ‘भागबन्डा’ नमिलेकोले नै बामदेव एमाले र एकीकृत समाजवादीसँग टाढिएको उनीसँग नजिकबाट संगत गर्ने नेताहरु बताउँछन्। पार्टीमा विवाद चुलिएको बेला उनले एमालेमा विधान संशोधन प्रस्ताव अघि सारेका थिए। तर, उक्त प्रस्ताव केन्द्रीय कमिटीमा प्रस्तुत गर्न दिइएन। त्यसपछि उनले ०७८ साउन २६ साउनमा बैठक छाडेर निस्किएका थिए। 

त्यसलगत्तै उनले एमाले उपाध्यक्षबाट राजीनामा दिए। र, सार्वजनिक रुपमै नेकपा एकीकृत समाजवादी पार्टीमा जाने घोषणा गरे। नेकपा एसमा उनले सहअध्यक्ष मागेका थिए। तर, कुरा नमिलेपछि उनी नेकपा एसमा नगएको चर्चा राजनीतिक वृत्तमा चल्ने गरेको छ। तर, उनी भने बार्गेनिङ भएको कुरा स्वीकार्न तयार देखिँदैनन्। ‘जनताको बहुदलीय जनवादलाई जस्ताको तस्तै पालना नगर्ने भनेपछि म एसमा नगएको हो। बार्गेनिङ नमिलेर हैन,’ उनी भन्छन्।

स्थानीय तहको निर्वाचनको चटारोमा दलहरु लागिरहँदा आफ्नै सुर र तालमा दिन काटिरहेका गौतम नयाँ ‘रोडम्याप’को खोजीमा छन्। तर, त्यो रोडम्यापको प्रष्ट चित्र भने उनले बाहिर ल्याउन चाहेनन्। नयाँ पार्टी गठन गर्ने, पुरानै पार्टीमा फर्कने र बाम एकताको प्रयास गर्ने तीन विकल्प उनीसँग छन्। तर, तीन विकल्प मध्ये कुन रोज्ने ठ्याक्कै जवाफ उनीसँग छैन। यसअघि भने गौतमले बाम एकता गर्नैपर्छ भनेर अभियान चलाएका थिए, जतिबेला अघिल्लो संसदीय निर्वाचनमा बहुमतसहित सरकारमा आएको नेकपा फुटेर तीन टुक्रामा परिणत भएको थियो। 

नेकपा सग्लो रहँदा भने गौतमले सबैभन्दा अस्थिर पात्रको परिचय बनाए। पार्टीमा विवाद हुँदा कहिले केपी ओलीतिर त कहिले प्रचण्डतिर ‘ढुलमुल’ गरिरहे। नेकपा एकताको मुख्य सूत्रधार मध्येका एक मानिएका गौतमले विभाजनसम्म आइपुग्दा ‘अवसरवादी’को छविसमेत बनाए। आफूमाथि लागेको आरोपलाई स्वीकार्दै उनी भन्छन्, ‘अरु पहिलो कित्ता र दोस्रो कित्ता भन्दै भिडिरहेका थिए। म तेस्रोमा थिएँ। दुवैलाई मिलाउनुपर्छ, एकता जोगाउनुपर्छ भन्थेँ। त्यसैले म पार्टीभित्र सबैको विरोधीजस्तो भएँ।’

त्यसबेला प्रधानमन्त्री बन्ने अभिलाषा उनको थियो। त्यसैले उनी ‘प्रधानमन्त्री कार्ड’ जसले फाल्योे, उसकै पक्षमा देखिन्थे। चुनाव हारेका गौतमलाई पटक–पटक प्रधानमन्त्रीको सपना देखाइयो पनि। कुनै सांसदलाई राजीनामा गराएर भए पनि गौतमलाई प्रतिनिधिसभामा छिराउने योजनासम्म बनेका थिए। त्यो पनि सम्भव नभए राष्ट्रियसभामा लगेर संविधान संशोधन गरेरै भए पनि प्रधानमन्त्री बनाउने आवाश्सन उनले पाएका थिए। यसरी प्रधानमन्त्री पदको लोभमा बामदेव पटक–पटक प्रयोग भइरहे।

स्थानीय तहको निर्वाचनको चटारोमा दलहरु लागिरहँदा आफ्नै सुर र तालमा दिन काटिरहेका गौतम नयाँ ‘रोडम्याप’को खोजीमा छन्। तर, त्यो रोडम्यापको प्रष्ट चित्र भने उनले बाहिर ल्याउन चाहेनन्। 

तत्कालीन नेकपाको सचिवालयको समीकरण पनि त्यस्तै थियो। ९ सदस्यीय सचिवालयमा बामदेव जसको पक्षमा ढल्कियो, उसैको बहुमत पुग्ने अवस्था थियो। जसका कारण विवाद समाधानको सूत्र फर्माउने उनै गौतम हुन्थे। सोही कारण उनलाई अनेक आश्वासन दिइन्थ्यो। 

सर्वोच्चको अदालतको फैसलाले नेकपाको एकता टुटाइदिएपछि एमालेभित्रको विवाद उत्कर्षमा पुगेर विभाजनको अवस्था निम्तिएको थियो। एमाले फुटको दिशामा अघि बढ्दै गएपछि गौतम मध्यमार्गी प्रस्ताव अघि सारेर पार्टी जोगाउन लागिपरेका थिए। गौतम संयोजक रहेको ‘पार्टी एकता राष्ट्रिय अभियान’ले एमालेलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अगाडि बढाउने प्रस्ताव सकारात्मक भएकोे ठहर नै गर्यो। र, गौतमले २ जेठ २०७५ मा कायम रहेको एमालेको स्थायी कमिटी बैठक बोलाएर पार्टीमा देखिएको विवादबारे छलफल गर्ने प्रस्ताव पनि अघि सारेका थिए।

कहिले माधव नेपालतिर लागेर ओलीलाई गाली गर्ने त कहिले तिनै ओलीसँग मिसिन पुग्ने ढुलमुले चरित्रबाट उनी मुक्त हुन सकेनन्। अस्थिर र ढुलमुले चरित्र भनिएकोमा उनले त्यसबेला आपत्ति नै जनाएका थिए। ओलीले बोलाएको बैठकमा गएकोबारे प्रस्टीकरण दिँदै उनले भनेका थिए, ’म कुनै पक्षको होइन। म एमाले हो। एमाले भएको प्रमाण पेस गर्न केन्द्रीय कमिटी बैठकमा गएको हो।’

त्यसबेला २ जेठ २०७५ मा पार्टी फर्काउनुपर्ने मागमात्र गौतमले राखेका थिएनन्। कार्यकारी अधिकारसहित एमालेको सहअध्यक्ष पाउनुपर्ने अडान राखेको समचार समेत बाहिर आएका थिए। तर, ओलीले उनको प्रस्ताव अस्वीकार गरिदिए। त्यसपछि उनी आगामी दिनमा साथ दिन नसक्ने भन्दै मिटिङबाटै हिँडेका थिए। 

त्यसलगत्तै गौतमले माधव नेपाललाई भेटेर नयाँ पार्टी बनाउन उचालेका थिए। ओली एकताको विन्दुमा फर्कन आनाकानी गर्न थालेको भन्दै गौतमले नेपालको समर्थनमा बोले। नेपालले पार्टी फुटाए आफू त्यतै लाग्ने उनले बताएका थिए। जतिबेला तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध संंसदमा अविश्वासको प्रस्ताव दर्ता हुँदै थियो।

कहिले माधव नेपालतिर लागेर ओलीलाई गाली गर्ने त कहिले तिनै ओलीसँग मिसिन पुग्ने ढुलमुले चरित्रबाट उनी मुक्त हुन सकेनन्। अस्थिर र ढुलमुले चरित्र भनिएकोमा उनले त्यसबेला आपत्ति नै जनाएका थिए। 

त्यसलगत्तै गौतमले १८ असारमा पार्टी केन्द्रीय कमिटी बैठकमा बोली फेरे। यसअघि नेपालले पार्टी टुक्र्याएको स्थितिमा साथ दिने प्रतिवद्धता जनाएका उनले त्यसबेला भने पार्टीबाट राजीनामा नगरी माधव पक्षले विपक्षी दलका नेतालाई प्रधानमन्त्री प्रस्ताव गर्नु अनैतिक भएको बताएका थिए। अझ अघि बढ्दै गौतमले ४ पुसमा भएको ओली–प्रचण्ड भेटको प्रसङ्ग कोट्याउन थाले। जसमा ओलीको जायज प्रस्ताव पनि प्रचण्डले नमान्दा पार्टीमा समस्या आएको उनको ठहर थियो। ‘त्यो दिन ओलीले म प्रधानमन्त्री छाड्छु। तर, मैले चाहेको व्यक्ति प्रधानमन्त्री हुनुपर्छ भन्ने प्रस्ताव राख्नुभएको थियो। प्रचण्डले त्यो नमानेर अविश्वास प्रस्ताव ल्याउन खोज्दा अहिलेको स्थिति आयो,’ उनले भनेका थिए ।

त्यसो त गौतम पनि पार्टी फुटाउने कुरामा चोखा भने छैनन्। ०५४ सालमा मनमोहन अधिकारी आलंकारिक अध्यक्ष र माधव नेपाल कार्यकारी महासचिव रहेका बेला गौतमले एमाले पुटाएका थिए। यसको कारण पनि रोचक नै छ। ०५१ सालमा तत्कालीन नेकपा एमालेले ठूलो दलको हैसियतमा अल्पमतको सरकार चलाएको थियो। त्यसबेला पार्टीका अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधवकुमार नेपाल प्रधानमन्त्री र उपप्रधानमन्त्री भएर सरकारमा गए। र, बामदेव गौतमलाई उपमहासचिवको हैसियतमा पार्टीका गतिविधि सञ्चालन गर्ने जिम्मेवारी दिइयो।

तर, सरकारबाट एमाले बाहिरिनासाथ गौतमको उपमहासचिव पद खोस्न नेपाल पक्ष लागिपर्यो। त्यसबेलासम्म उनी पनि पार्टीभित्र बलिया भइसकेका थिए। उनकै सहयोगमा झलनाथ खनाल, सीपी मैनाली, राधाकृष्ण मैनालीलगायतका नेताहरुले माधव नेपाललाई महासचिवबाट हटाउने अभियान नै चलाए। नेपालको ठाउँमा एमाले वरिष्ठ नेता झलनाथ खनाललाई महासचिव बनाउने योजनामा उनीहरु लागेका थिए। 

माधव नेपालको विरुद्धमा एमालेका बहुमत सदस्य नै लागिपरेका थिए। पार्टीको केन्द्रीय कमिटीको बैठकमा अल्पमतमा पर्न सक्ने देखेपछि नेपालले निर्णय गर्न दिएनन्। उल्टै पार्टीको माइन्युट बोकेर हिँडे। त्यसबेलादेखि एमालेमा देखिएको विवाद ०५४ मा पार्टी विभाजन हुने स्थितिसम्म पुग्यो। ०५३ असोजमा महाकाली सन्धि संसदबाट अनुमोदन भएपछि त्यही बहानामा बामदेवले ०५४ सालमा नेकपा माले गठन गरेका थिए।

प्रकाशित: Apr 27, 2022| 18:45 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...