बिहीबार, कात्तिक १२, २०८३

'स्वतन्त्र'का नाममा विप्लव नेकपा पनि होमियो चुनावमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशभरका विभिन्न स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशभरका विभिन्न स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएको छ।

तत्कालीन नेकपा माओवादीको आधार इलाका मानिने रोल्पामा पनि उल्लेख्य संख्यामा नेकपाका नेता–कार्यकर्ताले उम्मेदवारी दिएको बताइएको छ। नेकपाका केन्द्रीय सदस्यदेखि स्थानीय नेता–कार्यकर्ताले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको नेकपाका केन्द्रीय सदस्य तथा रोल्पा इन्चार्ज केशबहादुर बाँठा ‘सुवास’ले जानकारी दिए।

उनका अनुसार यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रोल्पाका ६ स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ। ‘अन्य स्थानीय तहमा पनि उम्मेदवारी दिने कुरा थियो, तर साथीहरुले जाँगर गर्नुभएन,’ बाँठाले भने, ‘पार्टीका मान्छे मात्र होइन, देशभक्त र एमसीसी विरोधी व्यक्तिहरुले पनि स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ।’ उनले सबैलाई नेकपाको उम्मेदवार भन्न नमिल्ने बताए।

पार्टीका केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज चूडामणि वली ‘आदर्श’ले गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। ‘स्वतन्त्र’ भने पनि पार्टीका नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका वली नेतृत्वको टोलीले उपाध्यक्षमा सुशीला वलीसहित वडामा समेत उम्मेदवारी दिएको छ। वडा नम्बर २, ३, ४, ५, र ६ नम्बरमा उम्मेदवारी दिएको बताइएको छ। वडा नम्बर २ मा टिकाराम नेपाली, ३ मा लालबहादुर वली, ४ मा नन्दे वली, ५ मा यमन मल्ल र वडा नम्बर ६ मा दिपेन्द्र खत्रीले ‘स्वतन्त्र’ उम्मेदवारी दिएका छन्। वडा ५ बाहेक सबै वडामा महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यमा समेत उम्मेदवारी दिएका छन्।

रोल्पाकै परिवर्तन गाउँपालिका अध्यक्षमा विप्लव नेकपाका जिल्ला नेता लालबहादुर वली र उपाध्यक्षमा मीरा बुढामगरले उम्मेदवारी दिएका छन्। परिवर्तनको वडा नम्बर १ बाहेक सबै वडामा उम्मेदवारी दर्ता भएको छ। वडा नम्बर २ मा विप्लव निकट अखिल क्रान्तिकारी दाङका अध्यक्ष अनिल केसी, ३ मा जिल्ला सदस्य पृथ्वी डाँगी, ४ मा जिल्ला सदस्य चित्रबहादुर बुढा ‘गणेश’, ५ मा खिमप्रसाद घर्ती शाह र ६ मा दिपक थापाले वडाध्यक्षको रुपमा उम्मेदवारी दर्ता गराएका छन्। 

तत्कालीन नेकपा माओवादीको आधार इलाका मानिने रोल्पामा पनि उल्लेख्य संख्यामा नेकपाका नेता–कार्यकर्ताले उम्मेदवारी दिएको बताइएको छ।

थबाङ गाउँपालिका अध्यक्षमा पनि विप्लव निकटकै अमित घर्ती र अजय घर्तीले उम्मेदवारी दिएका छन्। दर्जित रोका र महेश बुढामगरले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्। 

उपाध्यक्षमा रायबहादुर पुनमगरको उम्मेदवारी परेको छ। वडा नम्बर १ को अध्यक्षमा फर्के झाँक्री, २ मा तीर्थनारायण मिजार र वडा नम्बर ५ मा डुकमन रोकाले ‘स्वतन्त्र’ उम्मेदवारी दिएका छन्। 

सुनिल स्मृति गाउँपालिका अध्यक्षमा विप्लव नेकपाका कमल थापा र उपाध्यक्षमा जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका दिपेश विष्टले उम्मेदवारी दिएका छन्। वडा नम्बर २ मा बेगमध्वज थापा र ६ मा सन्तोष सुवेदीले वडाध्यक्षका रुपमा उम्मेदवारी दिएका छन्। सुवेदी नेकपाका विशेष कमिटी सदस्य हुन्।

लुंग्री गाउँपालिका अध्यक्षमा विप्लव नेकपाका भूपेन्द्र खड्का क्षेत्री र उपाध्यक्षमा ज्ञानु माया विकले उम्मेदवारी दिएका छन्। त्यस्तै लुंग्रीको वडा नम्बर १ मा धनबहादुर खत्री, २ मा जितमान खड्का, ३ मा लिलाबहादुर घर्ती क्षेत्री, ४ मा टेकबहादुर विष्ट र ५ मा श्रवण कुमार रोकामगरले वडाध्यक्षको रुपमा उम्मेदवारी दिएका छन्।

रोल्पाको सुनछहरी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका नेकपाका नेता पुस्तमन घर्तीमगरलाई नेकपा एमाले र नेपाली कांग्रेसले समेत सहयोग गर्ने सहमति भएको बताइएको छ। घर्तीले एमालेको सूर्य चिन्हबाटै चुनावमा भाग लिएको बताइएको छ। तीन दलीय गठबन्धनबाट उपाध्यक्षमा नेपाली कांग्रेसका कोमबहादुर बुढामगरले उम्मेदवारी दिएका छन्। 

सुनछहरीमा नेकपाका केन्द्रीय सदस्य अमर झाँक्री ‘सञ्जीवकुमार’ अध्यक्ष हुने गरी तीन पार्टीबीच गठबन्धन गर्ने सहमति भएको थियो। तर सहमतिपछि सञ्जीवकुमारको मतदाता नामावलीमा नामै नभेटिएपछि पुस्तमन घर्तीलाई अध्यक्षमा अघि सारिएको स्रोतले जानकारी दिएको छ। 

प्रकाशित: Apr 26, 2022| 11:57 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...