नेपालले गत चैत अन्तिममा एएफसी फुटसल एसियन कप छनोट खेल्यो। प्रतियोगितामा १४ खेलाडीसहित २३ जनाको टोली २०७८ चैत २३ गते किर्गिस्तानको राजधानी बिस्केक लाग्यो।
म पनि मिडिया अफिसरको रुपमा टोलीमा सहभागी थिएँ। पहिलो विदेश यात्रा भएकाले उत्साहित थिएँ तर जिम्मेवारीको भारले थिचेको पनि थियो। प्रेम मात्रै होइन, पहिलो पटक गरिएका धेरै कुरा जीवनमा यादगार हुन्छन्।
नेपाल खेलकुद पत्रकार मञ्चका कोषाध्यक्ष अञ्जन खड्काले यात्राको लागि आवश्यक सहयोग गर्नुभएको थियो। उहाँले एक लाख रुपैयाँ बराबरको डलर साट्न भन्नुभएको थियो। नेपाली टोलीका म्यानेजर विनोद गुरुङबाट भिसा र टिकट पाएपछि चैत २२ गते डलर साट्न गएँ। तीन बजिसकेछ। बैंक बन्द। काम भोलिपल्टलाई सर्यो।
फुर्सदको समयमा मोबाइलमा किर्गिस्तानको मौसम हेरेँ। त्यहाँ गर्मी लागिसकेछ। १० दिनअघिसम्म त्यहाँको मौसम कठ्याङ्ग्रिने चिसो थियो। तापमानको डिग्री झरेर एक, दुई (सेल्सियस) सम्म पुगेको थियो। अहिले ह्वात्तै बढेको रहेछ।
फेरि चिसो भयो भने? दिमागको एउटा कुनाले शंका जतायो। ज्यानलाई न्यायो पार्न एउटा हुडी/ज्याकेट त बोक्नुपर्छ होला भन्ने लाग्यो।
पहिलो विदेश यात्राको लागि जोहो गरेको नयाँ सुटकेसमा पहिल्यै कपडाको थुप्रो लगाइसकेको थिएँ। कपडाको चेपमा भेज वाईवाईका पोका ‘उल्लेख्य संख्या’मा कोचेको थिएँ। फेरि आफू परियो 'भेजी पार्टी', कहाँ के पर्ला? अनिकालको जोहो त गर्नुपर्यो। किर्गिस्तान मांसाहारीका लागि प्रिय मुलुक रहेछ। त्यहाँ भेज खाना पाइएन भने? सोचेँ भेज खानै नपाइने देश त कहाँ नै होला!