शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • खानेपानीको एजेन्डा लिएर चुनावी मैदानमा उत्रिएका बुटवलका यी स्वतन्त्र उम्मेदवार

खानेपानीको एजेन्डा लिएर चुनावी मैदानमा उत्रिएका बुटवलका यी स्वतन्त्र उम्मेदवार

मुलुकले तीन तहको सरकार पाउँदा पनि बुटवलको खानेपानीको एजेन्डा अझै पनि दलहरुको चुनावी एजेन्डामै छ। २०५२–०५३ देखि चर्चा गरिएको बुटवल खानेपानी आयोजना कहिले पूरा हुन्छ, यसको जवाफ चुनाव ताकामात्रै दलहरुले दिन्छन्।
 |  सोमबार, वैशाख १२, २०७९

विनोद परियार

विनोद परियार

सोमबार, वैशाख १२, २०७९

बुटवल– बुटवलमा पाल्पाबाट पानी ल्याउने योजना सुरु हुँदा बुटवल–७ दीपनगरका प्रकाश क्षेत्री ७ वर्षका थिए। त्यतिखेर बाल मष्तिस्कमा खानेपानीको अभाव के हो भन्ने पत्तो थिएन। उनको उमेर बढ्दै गयो। पाल्पाको सिस्नेखोलाबाट ल्याउने भनिएको खानेपानी झुम्सा आयोजनामा परिणत भयो। तर, त्यो पानी आएन। बरु पाल्पाबाट पानी ल्याउने आश देखाएर २०५४ सालको तत्कालिन स्थानीय चुनाव, त्यसपछि मध्यावधि र ०७० सालको संविधानसभा हुँदै ०७४ सालको स्थानीय, प्रदेश र संघीय तहको चुनावसम्म नै एजेन्डा बन्यो। 

triton college

तर, मुलुकले तीन तहको सरकार पाउँदा पनि बुटवलको खानेपानीको एजेन्डा अझै पनि दलहरुको चुनावी एजेन्डामै छ। २०५२–०५३ देखि चर्चा गरिएको बुटवल खानेपानी आयोजना कहिले पूरा हुन्छ, यसको जवाफ चुनाव ताकामात्रै दलहरुले दिन्छन्। यहि खानेपानीको मुख्य समस्याबाटै पिरोलिएका प्रकाश क्षेत्रीले बुटवल उपमहानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन्।

प्रकाश ७ वर्षको हुँदादेखि चर्चा भएको खानेपानी आयोजना पूरा नहुँदा स्वयं उनले नै वर्षामा धमिलो पानी खानुपरेको छ अनि हिउँदमा पानीका लागि भौंतारिनु परेको छ। ‘वुटबल वडा नम्बर ७ का बासिन्दाले कम्तीमा स्थानीय तहमा जनप्रतिनिधि आएपछि पानी त खान पाउलान् भन्ने आश गरेको थिएँ, तर पानीको समस्या समाधान भएन,’ मनोनयन दर्ता गरेपछि उनले भने।

उनले आफूले बुटवल–७ का बासिन्दाको मुख्य समस्या खानेपानी भएकाले यसलाई प्रमुख एजेन्डा बनाएर वडाध्यक्षमा उम्मेदवारी दिएको बताए। ‘त्यही वडाले ०७४ मा बुटवल उपमहानगरको मेयर पायो, तर आज पाँच वर्षपछि के पाइयो भन्दा केही पनि छैन, त्यहाँका जनताले खोजेको पानी हो, तर खोइ पानी?’ उनले प्रश्न गरे। 

३३ वर्षिय प्रकाश कुनै बेला नेकपा एमालेमा सक्रिय थिए। युवा संघ नगर समितिमा रहेर काम गरेको बताउने प्रकाशले एमालेले बहुमत सहित उपमहानगरको नेतृत्व गर्दा पनि दैनिक रुपमा नागरिकले भोग्ने समस्याप्रति उदासिन भएकाले आफूूले त्यो पार्टी त्यागेको बताए। ‘अघिल्लो निर्वाचनबाटै पार्टीको राजनीति त्यागेको हो, आफ्नै वडाका मेयर हुँदा त कम्तीमा पानीको समस्या हल होला भनेको थिएँ, तर भएन,’ उनले भने।

corrent noodles
Metro Mart

बुटवल वडा नम्बर ७ मै बुटवलका हालका मेयर शिवराज सुवेदीको घर छ। सुवेदी एमालेबाट निर्वाचित भएका हुन्। वडा नम्बर ७ मा पनि एमालेकै उम्मेदवार वडाध्यक्ष भएका छन्। ‘मैलै वडामा केही काम गर्छु भनेर उम्मेदवारी दर्ता गरेको छु,’ उनले भने, ‘बुटवल वडा नम्बर ७ दिपनगर, सुख्खा नगर क्षेत्रमा खानेपानीको समस्या छैन भनेर फेसबुकमा प्रचार गरिएको छ, तर अवस्था त्यस्तो छैन। आकाशबाट पानी पर्दा धमिलो पानी आउँछ, अरु बेला धारोमा पानी कति बेला आउँछ भनेर कुर्नुपर्छ।’

क्षेत्रीले खानेपानीसँगै बुटवलको सन्तुलित विकास, वडाको आवश्यकता पहिचान गरी दिगो विकासलाई प्राथमिकतामा राख्ने बताए। क्षेत्री फुटबल खेलाडी समेत हुन्। ‘अब राजनीतिक दलको पुच्छर बनेर कति बस्नु, जनताको काम गर्छु भनेर मैदानमा उत्रेको हो,’ उनले भने। क्षेत्रीले खानेपानीको समस्याले आजित भएपछि त्यही समस्या समाधान गर्नका लागि वडाध्यक्षमा उम्मेदवारी दिएका हुन्। 

मुलुकले तीन तहको सरकार पाउँदा पनि बुटवलको खानेपानीको एजेन्डा अझै पनि दलहरुको चुनावी एजेन्डामै छ। २०५२–०५३ देखि चर्चा गरिएको बुटवल खानेपानी आयोजना कहिले पूरा हुन्छ, यसको जवाफ चुनाव ताकामात्रै दलहरुले दिन्छन्।

त्यस्तै बुटवलको अव्यस्थित विकास देखेर वाक्क भएका ४५ वर्षिय दिनेश भण्डारीले बुटवलको सडकको विकास गरेर देखाउन स्वतन्त्र रुपमा वडाध्यक्षमा उम्मेदवार बनेको बताएका छन्। बुटवल वडा नं. ३ का भण्डारीले वडाध्यक्षमा उम्मेदवारी दिँदै भनेका छन्, ‘राजनीतिक दलबाट निर्वाचित भएका जनप्रतिनिधिले वडामा केही गर्न नसकेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हुँ। ५ वर्षमा सडक समेत बन्न सकेन, यही लथालिंग विकासलाई रोक्न मेरो उम्मेदवारी हो।’ भण्डारी ट्याक्सी चालक हुन्। जनप्रतिनिधिले काम गर्न नसक्दा स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएको उनले बताए। उनले थपे, ‘लाशमाथि समेत जनप्रतिनिधिले राजनीति गरेको देख्दा स्वतन्त्र भएर वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएको छु, जित्ने–नजित्ने त जनताको हातमा छ।’

नेकपा एमालेको सक्रिय कार्यकर्ता रहेको बताउने भण्डारीले पार्टीले कारबाही गरे पनि आफू स्वतन्त्र रुपमा वडध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको जानकारी दिए। २५ वर्षदेखि माइक्रो बसका चालक रहेका भण्डारी अहिले आफैंले ट्याक्सी किनेर चलाउन थालेका छन्। उनले स्वतन्त्र उम्मेदवारीबाट बुटवलको हितमा काम गर्ने अठोट सुनाए। 

त्यसो त करिब ३ दशकदेखि कलाकारिता र सञ्चारकर्मीका रुपमा क्रियाशील चिरन बराल पनि स्वतन्त्र उम्मेदवार भएका छन्। रुपन्देहीमा रेडियोमा परिचित बरालले बुटवल–१३ बाट वडा सदस्य पदका लागि मनोनयन दर्ता गराएका हुन्। ‘जीवनमा धेरै अनुभव गरियो, अहिले म आफ्नै गाउँ टोलको विकासमा वडा सदस्य हुँदा धेरै गर्न सक्छु भन्ने देखेर सदस्यमा उम्मेदवारी दिएको हुँ,’ उनले भने। उनले अहिले दलहरुको चुनाव चिन्हले समेत वाक्क बनाएकाले परिवर्तन चाहने मतदाताले आफूलाई भोट दिने दाबी गरे।

उता बुटवल–१६ का दुधनाथ चौधरीले वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। वडा नं. १६ थारु समुदायको बाहुल्य रहेको  बस्ती हो। ‘थारु समुदायबाट वडाध्यक्ष पदको लागि राजनीतिक दलले उम्मेदवार नबनाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हुँ,’ उनले भने। वडामा आफू लोकप्रिय भएकाले चुनाव जितेर देखाउने उनले बताए। 

यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय निर्वाचनका लागि पालिकामा ११ र १२ वैशाखमा मनोनयन दर्ता भएको हो। हिजो आइतबार पहिलो दिन बुटवलमा २ जनाले प्रमुखमा उम्मेदवारी दिएका छन्। त्यस्तै उपप्रमुखमा २, वडाध्यक्षमा ६ जना, दलित महिला २, महिला २ र सदस्यमा ८ जनाको उम्मेदवारी परेको बुटवल निर्वाचन अधिकृत लेखनाथ पौड्यालले जानकारी दिए।

रुपन्देहीमा आइतबार साना दलहरुले उम्मेदवारी मनोनयन गरेका हुन। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार आइतबार १६ वटै स्थानीय तहमा २५ जनाले प्रमुख–अध्यक्ष, २३ जनाले उपप्रमुख–उपाध्यक्ष, ११९ जनाले वडाध्यक्ष, ७२ जनाले दलित महिला सदस्य, ८८ जनाले महिला सदस्य र १७९ जनाले सदस्यमा उम्मेदवारी मनोनयन गरेका छन्। 


प्रकाशित: Apr 25, 2022| 15:43 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।