बुटवल– सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले बुटवल उपमहानगरको मेयर र उपमेयरमा उम्मेदवारी मनोनयन गरेको छ। आइतबार अपरान्ह बुटवलस्थित निर्वाचन कार्यालयमा मेयरमा सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले मनोनयन दर्ता गरेका हुन्।
सत्ता गठबन्धनमा रहेको जसपाले बुटवल उपमहानगरमा आफ्नो पार्टीको अस्तित्व स्वीकार नगरेकाले बाध्य भएर उम्मेवारी दिनुपरेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमल खनालले बताए। पहिलो दिन मेयर र उपमेयरको मनोनयन गरेको बताउँदै सोमबार १९ वटै वडामा मनोनयन गर्ने बुटवल नगर इन्चार्ज नाराण नागिलाले बताए।
बुटवल उपमहानगरमा सत्तारुढ पाँच दलका बीचमा केन्द्रीय तहबाटै गठबन्धन कायम गर्ने सहमति भएको हो। सहमतिअनुसार बुटवलमा मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादीको भागमा परेको छ।
तर, सत्ता गठबन्धनकै घटकले उम्मेदवारीरी मनोनयन गरेपछि गठबन्धन भत्कन सुरु भएको हो। जसपाबाट बुटवलको मेयरमा उम्मेदवारी दिएका हितानले आफूले युवाहरुको भावनालाई बुझेर काम गर्ने प्रतिबद्धता जनाए। पहिलो दिन रुपन्देहीका स्थानीय तहमा साना दलले मात्रै मनोनयन दर्ता गरेका छन्।