विराटनगर- स्थानीय निर्वाचनमा उम्मेदवारी दिनका लागि प्रदेश १ का दुई एमाले सांसदले पदबाट राजीनामा दिएका छन्। झापाका एमाले सांसद गोपालचन्द्र बुढाथोकी र इलामका सांसद काजीमान कागतेले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए।
बुढाथोकीले मेचीनगरको नगर प्रमुखमा उम्मेदवारी दिदैछन्। उनी झापा १ को निर्वाचन क्षेत्र नम्बर ख बाट निर्वाचित भएका थिए। इलामका कागतेले पनि सूर्याेदय नगरको मेयरमा टिकट पाएपछि राजीनामा दिएका हुन्। इलाम १ को निर्वाचन क्षेत्र नम्बर ख बाट उनी निर्वाचित भएका हुन।
प्रदेश सभामा एमालेका ४१ सांसद छन्। २ जनाले राजीनामा दिएपछि प्रदेशसभामा एमाले सांसदको संख्या ३९ पुगेको छ। यसअघि एमालेका १० सांसद नेकपा एकिकृतमा गएका थिए।