सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मञ्चमा मेलम्चीको पानी पिउँदै खानेपानीमन्त्रीले भने– केपी ओली विदेशी पानी खानुहुन्छ

मञ्चमा मेलम्चीको पानी पिउँदै खानेपानीमन्त्रीले भने– केपी ओली विदेशी पानी खानुहुन्छ

खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको शुद्ध पिउनयोग्य पानी पुनः वितरणको आइतबार बिहान शुरुआत गरेका छन्।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं– खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको शुद्ध पिउनयोग्य पानी पुनः वितरणको आइतबार बिहान शुरुआत गरेका छन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को बानेश्वर शाखास्थित मिनभवनको ओभरहेड ट्यांकीको पानी धारातर्फ छोडेर र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा रहेको धाराको पानी खोलेर उनले पानी वितरणको शुरुआत गरेका हुन्।

पानी वितरणको शुरुआतपछि पत्रकार सम्मेलनमा मन्त्री चौधरीले पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको शुद्ध पानी खुवाउने सपना लोकतन्त्र दिवसको दिन आफूले पानी वितरणको शुरुआत गरेर पूरा गरेको बताए। मन्त्री चौधरीले गत वर्ष काठमाडौंमा मेलम्चीको पानी वितरण गर्दा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची योजनाको परिकल्पना गर्ने पूर्वप्रधानमन्त्री भट्टराईको नाम समेत लिन नचाहेर आफ्नो पूर्वाग्रही सोच र गलत संस्कार प्रदर्शन गरेको बताए।

मन्त्री चौधरीले ओलीले सायद विदेशबाट मगाएर पानी खाने गरेका कारण यस्तो अभिव्यक्ति दिएको हुनसक्ने भन्दै नत्र मेलम्चीको पानी शुद्ध छ कि धमिलो छ भन्ने अनुभव लिनको लागि एक पटक मेलम्चीको पानी पिउनको लागि आग्रह गरे।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्चीको पानी काठमाडौंमा ल्याउने परिकल्पनाकार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निर्वाचन क्षेत्र रहेको नयाँ बानेश्वरबाटै पानी वितरणको शुरुआत गरिएको जनाउँदै वर्षाको समयमा मेलम्चीमा बाढी आएको खण्डमा सुरुङमा पानी हाल्न रोकिए पनि बागमतिबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा ल्याउन सकिने बताए। काठमाडौं महानगरपालिका १० नम्बर वडाका वडाध्यक्ष रामकुमार केसीले आयोजनाको नाम कृष्णप्रसाद भट्टराई मेलम्ची खानेपानी आयोजना भनेर राख्न प्रस्ताव गरे।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजिव विक्रम राणाले वर्षाको समयमा बागमती नदिबाट १० करोड लिटर पानी उपत्यकामा ल्याउन सकिने जानकारी दिए। आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट उपत्यकाका १० वटा पानी ट्यांकीसम्मको ७० किलोमिटर पाइप विछ्याइसकेको जानकारी दिँदै ४१० किलोमिटर पाइपलाइनको परिक्षण भइसकेको बताए।

प्रकाशित: Apr 24, 2022| 15:44 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्