सोमबार, असोज १२, २०८३

सेयर बजारमा हरियाली, लगानीकर्ता उत्साहित

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ९५.४६ अंकले बढेर २४३०.९१ अंकमा कारोबार बन्द भएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ९५.४६ अंकले बढेर २४३०.९१ अंकमा कारोबार बन्द भएको छ। २३८ वटा कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता सेयर खरिदबिक्री भएको बजामार २ खर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

यसैगरी क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १७.७४ अंकले बढेको छ।

आज सबै समूहगत उपसूचकमा हरियाली छाएको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ४३४.३७ अंकले बढेको छ। यसैगरी बैंकिङ समूह ४२.१२ अंक, व्यापार समूह २२.७९ अंक, होटल तथा पर्यटन ८४.९३ अंक, विकास समूह २६२.३७ अंक, जलविद्युत समूह १८९.०८ अंक, वित्त समूह १४३.६७ अंक, उत्पादन तथा प्रसोधन समूह १५६.४६ अंक, अन्य समूह ८८.७६ अंक, माइक्रोफाइनान्स समूह १७९.४२ अंक, जीवन बिमा समूह ४२३.३७ अंक, सामूहिक लगानी कोष समूह १५.३२ अंक र लगानी समूह ८०.४३ अंकले बढेको छ।

आज १० वटा कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ। यसैगरी २६ कम्पनीको सेयर कारोबार ९ देखि ९.९९ अंकको बीचमा बढेका छन्। सानिमा बैंक लिमिटेडको संस्थापक सेयर सबैभन्दा बढी २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

अर्थतन्त्रका अधिकांश सूचकहरु ऋणात्मक बन्दै गएपछि सेयर पनि निरन्त रुपमा घट्दै गएको थियो। खासगरी बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव र ब्याजदर वृद्धिका कारण नेप्से ३२ सय अंकको बिन्दुबाट घटेर २३ सयमा आएको थियो। नेपाल राष्ट्र बैंकले सेयर बजारका लागि दिइने मार्जिन कर्जामा ४ र १२ करोडको क्याप तोकेपछि बजार निरन्तर रुपमा घट्दै आएको थियो। बढ्दो आयातका कारण भुक्तानी सन्तुलन घट्दा विदेशी मुद्राको सञ्चितिमा दबाब बढेपछि सेयर बजारमा जाने कर्जाको जोखिम भार पुनरावलोकन गरिएको थियो। जसका कारण पनि से‍यर बजारमा जाने कर्जा घटेको थियो। 

पछिल्लो समय स्थानीय निर्वाचनले गर्दा तरलता बैंकिङ प्रणालीमा आउन थालेपछि लगानीकर्ता उत्साहित भएका छन्। यसैगरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारी गरिरहेकाले लगानीकर्तामा उत्साह थपिएको छ। आयातमा गरिएको कडाइले बैंकिङ प्रणालीमा तरलता आउन थालेको बुझाइ लगानीकर्ताहरुको रहेको छ। यसैगरी पछिल्लो समय अर्थतन्त्रमा वैदेशिक लगानी भित्रिन थालेको असर बजारमा देखिएको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन्। 

‘स्थानीय तहको निर्वाचन, मौद्रिक नीतिको तेस्रो समीक्षा, वैदेशिक अनुदान तथा सहायता परिचालन र सरकारले खर्च बढाएकाले सेयर बजारमा लगानीकर्ता उत्साहित भएका हुन्। अर्थतन्त्रमा सुधारका संकेत देखिएकाले लामो समयसम्म घटेको बजारमा रौनक आउने संकेतको रुपमा यसलाई लिन सकिन्छ,’ उनले भने।


प्रकाशित: Apr 24, 2022| 15:34 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्