ललितपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लोकतन्त्रले सीमा नाघेर अनियन्त्रित क्रियाकलाप हुँदै गएको बताएका छन्।
तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ कार्यक्रममा उनले भने, 'लोकतन्त्र अनियन्त्रित हुँदै जाँदा अराजकता बढ्दै जान्छ।' उनले सरकारमाथि अकारण हमला भइरहेको उल्लेख गरेका छन्।
प्रतिपक्षी दललार्इ प्रधानमन्त्री ओलीले सरकारलाई आरोप-प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्न सुझाव दिएका छन्। उनले भने, 'प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गर्न छाडेर सरकारलाई आरोप लगाउन उद्धत भएको आरोप लगाए।'
प्रधानन्यायाधीश सुनुवाइमा सुनुवाइ समितिलाई संविधानसम्मत काम गर्न प्रतिपक्षले नदिएको भन्दै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्ले प्रस्ताव गरेको नाममा विभिन्न उजुरी वा निवेदनमा सम्बन्धित व्यक्तिले सफाइ दिने व्यवस्था भएको स्मरण गराए। उनले भने, 'समितिलाई काम गर्न नदिएर बोल्ने-बोलाउने र लेख्ने-लेखाउने काम भइरहेको छ।'
जनताले निर्वाचनमार्फत चुनेका जनप्रतिनिधिले संसद्मा खुला छलफल गर्न नपाएको भन्दै प्रधानमन्त्री ओलीले भने, 'संविधानअनुसार पनि संसद्मा नै छलफल गरेर निर्णय हुनुपर्छ।' उनले संसद्को निर्णयभन्दा पनि अरुले गरेको निर्णय मान्नु गलत भएको औँल्याए। संसद्को आदेश नमान्ने भए एक जना प्रधानमन्त्री र एक जना प्रतिपक्षी दलका संसदीय दलका नेता भए पुग्ने भन्दै प्रधानमन्त्री ओलीले संसद्मा सबैले खुला छलफल भएर आफ्नो काम गर्न पाउनुपर्नेमा जोड दिए।
तुलसीलाललगायत स्थापनाकालका नेताका कारण वामपन्थी आन्दोलनले उचाइमा पुगेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, 'उहाँहरुको त्याग, तपस्या र अनवरत बलिदान र संघर्षले आन्दोलनलाई जीवित बनाएको थियो ।”
पहिलो पुस्ताका नेताहरुबाट आफूहरुले पाठ सिकेर अघि बढ्नेमा जोड दिँदै उनले भने, 'पहिलो पुस्ता जीवित हुँदा एकले अर्काेलाई नमान्ने प्रवृत्ति थियो, अहिले त्यो हटेर परिपक्व वामपन्थी आन्दोलनको अवस्था सिर्जना हुँदै गएको छ।'
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिक्रियावादी शक्तिले हमला र घेराबन्दी नरोकेको बताए।
वामपन्थी शक्तिको एकता सिंगो विश्वका लागि असाधारण घटना भएको उल्लेख गर्दै उनले भने, 'यो पहलकदमी विश्वव्यापी महत्वको घटना हो र सबैले ध्यानपूर्वक हामीलाई हेरिरहेका छन्।' विश्वभरका श्रमजीवी र वामपन्थीले अहिले नेपाललाई नियालेको उनले औँलाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४