काठमाडौं– बहुसंख्यक नेपालीको भान्सामा तरकारी बनाउन जिरा, मरिच, लसुन, खोर्सानीको प्रयोग हुन्छ। यस्ता मरमसला मसिनो बनाउन परम्परागत रूपमै सिलौटा र लोहोरोलाई प्रयोग गरिँदै आएको पाइन्छ। अचेल सहर–बजारमा बिजुलीबाट चल्ने मिक्स्चर आएपनि अचार बनाउन, मसला पिस्न प्रायः सिलौटाकै प्रयोग हुन्छ।
ग्रामीण क्षेत्रमा सित्तैमा पाएने सिलौटा सहरमा भने पैसा तिरेर किन्न खोज्दासमेत हत्तपत्त पाइँदैन। चाबहिलको ओरालोमा भने लहरै बेच्न राखिएका सिलौटाहरू पाइन्छन्। पत्थरकट्टाहरू सडकछेउमै बसेर छिनो, घन हानेर ढुंगा कुँदिरहेका हुन्छन्। साधारण ढुङ्गालाई आकार दिएर बाटुलो सिलौटो बनाउन व्यस्त यी पौरखीहरू दिनभरिको घामपानी नभनी काममा खटिन्छन्।
२७ वर्षीय राम सोहन हरेक दिन बिहान आठ बजेदेखि बेलुकीको सात बजेसम्म त्यही ओरालोमा घन कुटिरहेका हुन्छन्। उनले सिलौटो, लोहोरो, ओख्ली आदि बेच्न थालेकै डेढ दशक भयो। दिनमा चारदेखि छवटा सम्म सिलौटो बनाउँछन् र बाँकी समयमा ओखली बनाउन व्यस्त हुन्छन्। दिनको चर्को घाममा छाता ओढेर पनि ढुङ्गालाई सिलौटाको आकार दिन्छन्। खाना खान कोठामा जाँन पनि भ्याउँदैनन् उनी। खाना होटलमा खान्छन् र आफ्नो काममा पुनः फर्कन्छन्।
‘जति काम गरे पनि महिनाको पन्ध्रदेखि बीस हजार कमाउने हो’ सोहन भन्छन्, ‘खोलाको बगरबाट ढुङ्गा ल्याउन सरकारले रोक लगाएको छ। भारतबाट आएको ढुंगा किन्दा नाफा राख्नै गाह्रो हुन्छ।’