जनकपुरधाम- धर्म र संस्कृतिका साथै बुद्धिजीवीहरुको शहरको रुपमा आफ्नो पहिचान बनाएको छ, जनकपुरले। त्रेतायुगमा तत्कालीन मिथिलाका राजा जनकले समस्या आइपरेको बेला यहाँका बुद्धिजिवीहरुसँग गहन छलफल गरेर निष्कर्षमा पुग्ने गरेको मान्यता अझै कायम छ। अष्टाबक्र, गार्गीजस्ता विद्धानहरु पनि यसै भूमिमा जन्मेका थिए।
नाम कमाएका डाक्टर, इञ्जिनियर, प्राध्यापक, राजनीतिज्ञजस्ता बुद्धिजीवीहरु ठुलै संख्यामा छन, जनकपुरमा। तर, बुद्धिजीवीहरुको शहरको रुपमा चिनिने जनकपुरले अझै स्तरीय पुस्तकालय पाउन सकेको छैन्। पुस्तकालयलाई ज्ञानको भण्डार भनिन्छ। र, त्यहाँ पुगेर थरीथरीका पुस्तक अध्ययन गर्ने अवसरबाट बञ्चित छन् यहाँका स्थानीय।
रामस्वरुप रामसागर क्याम्पसबाहेक जनकपुरमा दुईवटा पुराना पुस्तकालयहरु भएपनि स्तरोन्नतितर्फ राज्यको ध्यान पुग्न सकेको छैन्। जनकपुर-४ स्थित गंगासागर पोखरीको डिलमा २०१२ सालमा स्थापना भएको सार्वजनिक पुस्तकालय आफ्नो अस्तित्व जोगाउन अहिले संघर्ष गरिरहेको अवस्था छ। पढाई लेखाईको संस्कार बसाउन जनकपुर–१० का युगेश्वर लाभ, कुशेश्वर लाभलगायतका केहि व्यक्तिहरुले निजी पहलमा सार्वजनिक पुस्तकालय स्थापना गरेका थिए। स्थापनाको ६२ वर्ष पुरा गरिसक्दा समेत त्यहाँ भौतिक पूर्वाधारका साथै पर्याप्त पुस्तकहरुको अभाव रहेको छ।
एउटा हल र दुई स्टोर कोठा रहेको सार्वजनिक पुस्तकालय सञ्चालनको लागि राज्यबाट कुनै सहयोग प्राप्त नभएको सञ्चालक समितिका कोषाध्यक्ष बलिराम मण्डल बताउँछन्।
केहिवर्ष पूर्व भारतीय दूतावासले सहयोग गरेको पुस्तक तथा अखबारको भरमा पुस्तकालय सञ्चालन हुँदै आएको मण्डलको भनाइ छ। कठिनाइपूर्वक चलि रहेको सार्वजनिक पुस्तकालय भित्रै वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले गंगासागर पोखरी सौन्दर्यीकरणको क्रममा सिमेन्टलगायतका निर्माण सामग्री थुपारेपछि किताबहरु नै नष्ट भएको उनले बताए।
दिउँसो साढे दुईदेखि साँझ साढे सात बजेसम्म सञ्चालन हुने पुस्तकालयमा बत्ति जाँदा अध्ययन गर्ने अन्य कुनै विकल्प समेत छैन् । बत्ति गएपछि त्यहाँ पुगेकाहरु हल बाहिर आउन वाध्य हुन्छन्।
समान्य इन्भर्टर र खानेपानीको समेत स्थानीय तहले सहयोग गर्न नसकेको भन्दै मण्डलले भने,‘पुस्तकालयको विकासतर्फ यहाँका बुद्धिजीवीहरुको पनि ध्यान पुग्न सकेको छैन्। हामी केहि व्यक्तिहरुले जेनतेन सञ्चालन गरेका छौँ।’ प्रदेश २ का समाजिक विकासमन्त्री नवलकिशोर साहले पुस्तकालय स्तरोन्नति गर्न ५लाख रुपैया मन्त्रालयको तर्फबाट सहयोग गर्ने आवश्वासन दिएको उनले सुनाए।
जनकपुर–७ का इञ्जिनियर रामबाबु साहले तीन साढे तीनलाख जति खर्च गरेर पुस्तकालयको भवन मर्मत सम्भार गराइ दिएका छन्। र, पुस्तकालयमा पुग्ने अखबारहरुको खर्च समेत साहले व्यहोर्दै आइरहेको मण्डलले जानकारी दिए।
पुस्तकालयको स्तरोन्नति भएको हेर्न चाहन्छन् अध्ययनका लागि नियमित पुग्ने राराब क्याम्पसमा बीएससी पढ्दै गरेका दिलिककुमार सिंह। पुस्तकालयमा पुस्तकहरुको अभाव रहेको उनको अनुभव छ।
त्यसैगरी जनकपुर-९ मा पूर्व गर्भनर सत्येन्द्रप्यारा श्रेष्ठ, अम्बिका कोइराला, शहीद सरोज कोइराला लगायतका व्यक्तिहरुले आफ्नौ निजी पहलमा २०१६ मा सुहिद नाम राखेर पुस्तकालय स्थापना गरेका थिए।
तर, पुरानो भएपनि स्तरोन्नतितर्फ सरोकारबला निकायको ध्यान पुग्न नसकेको नेपाली काँग्रेसका युवा नेता स्थानीय सुरेश कोइराला बताउँछन्। २१ औँ शताब्दीमा ई-पुस्तकालयले व्यापकता पाइरहेको बेला धरोहरको रुपमा रहेको सुहिद पुस्तकालयको स्तरोन्नतितर्फ स्थानीय तहको ध्यान पुग्न नसक्नु दुखद रहेको उनले बताए।
पुस्तकालय विकासको लागि स्थानीय सरकारले सोच्नु पर्ने प्राध्यापक भोगेन्द्र झाले बताए। उपमहानगरपालिकाले वैदेशिक सहयोगबाट भएपनि पुस्तकालय विकासतर्फ केन्द्रीत हुनु पर्ने उनको भनाइ छ।
ज्ञानको अभावमा मानिस नकारात्मक दिशातर्फ बढ्दछ उनले भने,‘जनकपुरमा पढ्ने संस्कार खस्किदै गएको छ। र, यसका दोषी यहाँका बुद्धिजीवीहरु पनि छन् । विभिन्न मञ्चमा कुरा गरेपनि पुस्तकालय विकाससम्बन्धी कुरा कसैले गरेका छैनन्। मैलेपनि गरेको छुइन्।’
पुस्तकालयमा पाठ्यपुस्तकका आलावा अन्य सहयोगी पुस्तकहरु उपलब्ध हुने र पढ्ने संस्कारको विकास हुने भएकोले स्तरी पुस्तकालय नहुनु दुखद रहेको नेपाल समयसँगको कुराकानीमा झाले बताए। प्रदेशको अधिकारसम्बन्धी संविधानको अनुसूची ६मा प्रदेश सरकारलाई पुस्तकालय सञ्चालनगर्न अधिकार दिइएको छ। तर, प्रदेश सरकारले समेत यसतर्फ ध्यान दिन सकेको छैन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४