अठार वर्षकी थिइन् चुनु गुरुङ। २०५८ साल मंसिर १४ गते कास्की ब्यारेकभित्र उनलाई गोली दागेर मारियो। त्यसको अदृश्य कारण थियो– प्रेम। एउटा यस्तो अद्वितिय प्रेम, जसले परिवर्तनको सपना देख्दछ। र, त्यो अभूतपर्व प्रेम थियो जलजलासँगको। यो प्रेमको एउटा निशान छोडिएको छ।
तिम्रो निम्ति बरु यो ज्यान गए गैजाला
तिमीसँग गहिरो माया बस्यो जलजला।।
यी शब्दहरु उन्ने, संगीतको परिकल्पना गर्ने र आफ्नो मधुर लयद्वारा परिवर्तनको विगुल फुक्ने उनै चुनु गुरुङ थिइन्। चुनु गुरुङले २०५८ सालअघि भनेको, गाएको र बताएको जलजला अहिले कस्तो छ?
यतिबेला जलजलाको पहाड गुराँसको पछ्यौभित्र लुकेर उदाङ्गो आकाश चिहाइरहेको छ। तर यस्तो पनि लाग्छ, प्रत्येक वर्ष मुस्कुराउने गुराँसका पुष्पदलमा चुनु गुरुङजस्तै योद्धाहरुको रगतका छिर्काहरु छन्, दागहरु छन्। धरमपानीको डाँडा भएर अनवरत बगिरहने त्यो हावामा सुसाइरहेको छ जलजला। धरमपानीको उकालो चढेपनि आफ्नै सम्भावनाको अर्को उकालो चढ्न नसकी खुइ...य गरिरहेको छ।
जलजलामा अनेक गुराँसहरुले पैसेँरु नाच्छन्, बुकी फूलहरुको गलैँचामा थवाङ्गी चिसो हावाले परेड खेल्ने पाटन मात्र होइन यो जलजला, हालका उपराष्ट्रपति नन्दबहादुर पुन उर्फ नन्दकिशोर पुन पासाङको कमाण्डमा मौसम रोका मगरहरुले परेड खेलेको मैदान पनि हो। मौसम रोका नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष समेत हुन्।
साँच्चै यो जलजला के हो?
आउनुहोस् म तपाईंलाई जलजलाबारे बताउँछु। जलजलासम्मकोे यात्रामा लैजान्छु।
गुराँसको पहाडमा थाकेका पैतालाहरु म फुक्काफाल घुम्न मन पराउने, चाहने तर नपाउने मानिस हुँ। तर खै कुन संयोग या सम्बन्धले म जलजला दोस्रो पटक पुगेँ। पहिलो यात्रा विछट्टै कष्ट र तीव्र रोमाञ्चकपूर्ण छ। संयोग यस्तो भइइदियो कि दुवै पटक कवि विष्णु सन्यासको साथ लागेर म जलजला टेकेँ।
यसपटकको सन्दर्भ हो ‘जलजला गुराँस मेला २०७९।’ जेलवाङमा रहेको गेमी होमस्टेले आयोजना गरेको एक दिने साहित्यिक कार्यक्रमको निम्तो पाएपछि अघिल्लो दिन बिहानै उदाउँदो सूर्यको पछि लागेर यात्रा सुरु गयौँ।
एउटा जीपले हामीलाई सदरमुकाम लिवाङबाट धाङ्सी खोला, पेवा गाउँ हुँदै स्यार्केसम्म पुर्याएर ओराल्यो। निर्माणाधिन सडक छोड्नुपर्ने भयो र सुरु गर्नुपर्ने भयो, टे«किङ रुट। झोलामा पानीका बोतल राखेर हामी उकालो चढ्यौँ।
यो ट्रेकिङको गाइड थिए पृथिवी पुन र पूर्ण बुढा मगर। पृथिवी पुन भारतका केहि हिमालदेखि नेपालको अन्नपूर्ण बेस क्याम्प क्षेत्रका विभिन्न टे«किङ रुटमा गाइड भएर १२ वर्षदेखि काम गरेका व्यक्ति हुन्।
२५५० मिटरको उचाइको गामधारा पुग्दा नपुग्दै हाम्रो अनुहारमा थकानका रेखाहरु कुद्न थालिसकेका थिए। विश्राम लियौँ। यो गामधारा युद्धको समयमा तत्कालिन माओवादीले गुरिल्ला टे«निङ गरेको ठाउँ हो। यस ठाउँलाई स्थानीय सरकारले जलजला टे«किङ रुटभित्र पारेको मात्र छैन, त्यहाँको अवशेषलाई मर्मत तथा पुनर्निर्माण गरेर गुरिल्ला टे«निङमा आवश्यक पर्ने संरचनाहरु समेत तयार गरेको छ। झट्ट हेर्दा आश्चर्य लाग्छ र युद्धभूमिको झल्को दिन्छ।