जनकपुरधाम- महोत्तरीबाट प्रदेशसभा निर्वाचनमा राजपाबाट निर्वाचित अभिराम शर्मा एकसाता अघि प्रदेश २ को समाजिक विकास राज्यमन्त्रीमा नियुक्त भए। राज्यमन्त्री पदको शपथग्रहण गरेको केहि दिन नबित्दै उनलाई पक्राउ गर्न उच्च अदालतले परमादेश जारी गर्यो। उच्च अदालतले असई थमन विक हत्याका अभियुक्तहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा परामदेश जारी गरेको हो।
मधेश आन्दोलनको बेला असई विकको गाडीबाट तानेर हत्या गरिएको थियो। र, नवनियुक्त राज्यमन्त्री शर्मा विक हत्याका अभियुक्त मध्ये एक हुन्। शर्माका साथै अदालतले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र (शंकर शाही) लाई पनि पक्राउ गर्न परमादेश जारी गरेको छ। मिश्रपनि राजपाबाट निर्वाचित भएका हुन्। महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट संघीय समाजवादी फोरमबाट निर्वाचित प्रदेशसभा सदस्य कौशल राय हत्याका मुख्य अभियुक्त हुन्। उच्च अदालतका न्यायधीशद्धय माधवप्रसाद पोखरेल र रवि शर्माको संयुक्त इजलासले परमादेश जारी गरेको हो।
पछिल्लो मधेश आन्दोलनको क्रममा महोत्तरीमा कार्यरत विकको २५ भाद्र २०७२ मा हत्या भएको थियो । आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका विकलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा गाडीबाट तानेर हत्या गरिएको थियो।
‘आफैले अभियोजन गरेको कर्तव्य ज्यान मुद्दाका प्रतिवादी आफ्नै अगाडी खुलेआम रहेको स्थितिलाई नजरअन्दाज गर्नु कानुनको धज्जी उडेको, दण्डहीनताले प्रश्रय पाएको र कानुन सबैको अगाडी समान नरहेको एवम राज्य व्यवस्थाले गति नलिएको अर्थमा समाजले हेर्नेछ,’ अदालतले जारी गरेको परमादेशमा भनिएको छ। यस अघि जिल्ला अदालत महोत्तरीले अभियुक्तहरुलाई पक्राउ गर्न २७ फागुन २०७२ मा आदेश दिएपनि प्रहरीले पक्राउ गरेको थिएन्।
विक हत्याका २८ जना अभियुक्त मध्ये महोत्तरीका संजय साह र प्रदिप साह पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् भने एकजना मोहन ठाकुर तारिखमा रिहा भएका छन्। उच्च अदालत जनकपुरका रजिष्ट्रार मानबहादुर कार्कीले परमादेशको फैसलासहित सबै अभियुक्त पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई चाँडै पत्राचार गरिने बताए।
राज्यमन्त्री शर्मा भन्छन, 'अदालतको सम्मान हुन्छ'
हत्याको अभियोग लागेका राज्यमन्त्री शर्माले आफूहरु अदालतले गरेको निर्णयको सम्मान गर्ने बताएका छन्। आफूहरुमाथि राजनीतिक पूर्वाग्रहले झुठो मुद्दा लगाइएको उनले दाबी गरे। राजनीतिक मुद्दा रहेकोले सरकारले तत्काल फिर्ता लिनुपर्ने शर्माको भनाइ छ।
के भन्छन् महोत्तरीका एसपी?
महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले अदालतको आदेश कुनैपनि हालतमा कार्यान्वयन हुने बताए। नेपाल समयसँग कुराकानी गर्दै उनले भने,‘अदालतको आदेश जसरी पनि कार्यान्वयन हुन्छ। प्रहरी पत्रादेश अनुसार अगाडी बढ्छ।’ अदालतको आदेश आफूहरु समक्ष आइनसकेको बताउँदै कठायतले पत्र आउनासाथ कारबाही अगाडी बढ्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४