विराटनगर- विराटनगर ३ का तुलसी आपागाईँ उमेरले ६६ पुगे। उनका लागि पछिल्ला १८ वर्ष सुखद् रहेनन्। २०६० साल असोज १० गतेपछिका दिनहरु उनका लागि भारी बने। मन हलुका कहिल्यै भएन। २२ वर्षीय छोरा कुबेर आपागाईँलाई तत्कालीन शसस्त्र द्वन्द्वका क्रममा राज्य पक्षले बेपत्ता बनायो। कान्छो छोरा बेपत्ता भएको खबर सुनेदेखि अहिलेसम्म पनि पीरमै चल्दैछ उनको दैनिकी। छोराको खोजीमा धाउन बाँकी पनि सायदै कहीँ राखे होालन्। छोरो फर्किएला, फेला पर्ला की भन्ने उनलाई लागिरह्यो। सास रहुन्जेल आश भनेझैँ उनले पनि आशामै १८ वर्ष बिताए।
तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्ति सम्झौता गरेको १५ वर्ष बित्यो। ६० दिन भित्रमा माओवादी र सरकारले बेपत्ता भएको व्यक्तिहरुको अवस्थाबारे जानकारी दिने विस्तृत शान्ति सम्झौतामा उल्लेख छ। ०६३ पछि द्वन्द्वकालीन घटनाको निरुपणका लागि आयोग पनि बन्यो। आयोगको पटक-पटक अवधि थपिए पनि राजनीतिक इच्छा नहुँदा आयोगले प्रभावकारी रुपमा काम गर्न सकेन। द्वन्द्व पीडितहरुले न्याय पाउने आशा त्यत्तिकै मर्दै गयो। बेपत्ता छोराको अवस्था पत्ता लाग्ला भनेर आपागाईँ परिवार पनि यत्तिका समय आश गरेरै बस्यो।
महेन्द्र मोरङ क्याम्पस विराटनगरमा बीए अध्ययन गर्दागर्दै बेपत्ता भएको छोराको खोजीका लागि धेरैतिर धाए पनि पार नलागेपछि आपागाईँ दम्पतीले आइतबारदेखि काजकिरिया सुरु गरेका छन्। हिन्दु परम्परा अनुसार बेपत्ता भएको एक सय वर्ष पूरा भएपछि काजकिरिया गर्ने परम्परा रहे पनि द्वन्द्वकालीन घटना भएकाले जीवितै रहेको आश मरेपछि किरिया सुरु गरेको आपागाईँ बताउँछन्।
छोराले देशको परिवर्तनका लागि लागेको छु, अब म त्यत्तिकै बस्दिन भनेपछि परिवारले रोक्न सकेन। नेपाली कांग्रेसको तत्कालीन क्षेत्र नम्वर ९ को सभापति समेत भएका तुलसी आपागाईं छोराकै कारण माओवादीमा आए। परिवर्तन र जनताले चाहे जस्तो व्यवस्था आउला भन्ने उनलाई लागेको थियो। तर, केही भएन।
हिन्दु परम्परा अनुसार आइतबार झापाको कनकाईं धाममा कुशको आकृति बनाएर दाहसंस्कार गरिएको आपागाइँले बताए। उनले भने,‘राज्यले जिवित छ-छैन निर्णय दिनुपर्ने नदिएपछि आशै आशमा पर्खन सकिएन।’ जीवित छैन भन्ने देखिएकाले अलपत्र पार्न नसकिएको उनले बताए। पछिल्लो दिनहरुमा छोराको सपना पनि देख्न छाडेपछि अन्तिम संस्कार गर्ने सोच आएको उनले बताए।
०६० साल अघि दुई पटक कुबेरलाई प्रहरीले पक्राउ गरेको थियो। दुवै पटक छोरालाई बाबुले प्रहरीबाट रिहा गराएका थिए। छोरालाई माओवादीमा नलाग भनेर उनले सम्झाए पनि। तर, छोराले देशको परिवर्तनका लागि लागेको छु, अब म त्यत्तिकै बस्दिन भनेपछि परिवारले रोक्न सकेन। नेपाली कांग्रेसको तत्कालीन क्षेत्र नम्वर ९ को सभापति समेत भएका तुलसी आपागाईं छोराकै कारण माओवादीमा आए। परिवर्तन र जनताले चाहे जस्तो व्यवस्था आउला भन्ने उनलाई लागेको थियो। तर, केही भएन।
उनले भने, ‘मेरो छोरो बेकार परिवर्तन गराउँछु भनेर लागेछ।’ पार्टीका नेताहरुलाई छोराको अवस्था पत्ता लगाइदेउ भन्दै ज्यूँ-ज्यूँ गर्दै आफू नहिँडेको उनले बताए। मुलुकमा अहिले धेरै राजा हुँदा देशको अवस्था झन बिग्रदै गएको उनी बताउँछन्। दुई पटक गरी राज्यबाट ५–५ लाख राहत पाएका उनको अहिलेसम्म पनि द्वन्द्व पीडित परिचय पत्र बन्न सकेको छैन।
आपागाईँ परिवारले राज्यले गैरकानुनी पक्राउ, यातना र बेपत्ता बनाएको भन्दै पीडित परिवारले एड्भोकेसी फोरममार्फत उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको छ। गत मंसिरमा मुद्दा दर्ता पछि उच्च अदालतले कारण देखाउ आदेश जारी गर्यो। जिल्ला सरकारी वकिल र जिल्ला प्रहरीले सत्यनिरुपण तथा मेलमिलाप आयोगले हेर्ने भनेर जवाफ पठाए। अदालतले आयोगमा छानबिन गर्न दिएको उजुरी के कुन अवस्था छ भनि लेखेर पठाउनु भनेर पनि आदेश गरेको एड्भोकेसी फोरम प्रदेश १ संयोजक रुक्मिणा दाहालले बताइन्।
बेपत्ता पारिएका कुबेरका दाइ हरि आपागाईँले २०६१ सालमा राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिए पनि आयोगबाट पनि झण्डै १७ वर्षपछि सोधखोज भएको बताए। निवेदन दिएको १७ वर्षपछि आयोगबाट सोधखोज हुँदा दुःख लागेको उनले बताए। उनले भने,‘आयोगले पीडितको मर्म अनुसार काम नै गर्न सकेन।’
तत्कालीन राज्य पक्षबाट बेपत्ता पारिएका कुबेर २०५४ सालदेखि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा संगठित भएका थिए। जनयुद्धमा आवद्ध भएर भूमिगत भएका उनी तत्कालीन समयमा एरिया कमिटी सदस्य तथा मजदुर विशेष जिल्ला कमिटीको सेक्रेटरीको जिम्मेवारीमा रहेर काम गर्दैगर्दा विराटनगरबाट पक्राउ परेका थिए। त्यसपछि उनी कहिल्यै फर्किएनन्।