विराटनगर– छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मोरङको लेटाङ–५ का शिक्षक मनोज पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ।
महिला प्रहरीको हत्या भएको लेटाङ घटनामा जोडिएका लेटाङ नगरपालिका–३ का ५६ वर्षीय शिक्षक पौडेललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक पौडेल १४ वर्षीया छात्रालाई चैत ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा चैत ७ गते पक्राउ परेका थिए। प्रहरीले उनीविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धान गरेको थियो। प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन (मिसिल)का आधारमा सरकारी वकिलको कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै पौडेलविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।
जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश दुर्गा खड्काको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी पौडेललाई थुनामा राख्न आदेश दिएको हो। अदालतको आदेशपछि शिक्षक पौडेललाई कारागार चलान गरिएको जानकारी बुढाथोकीले दिए।
जिल्ला अदालत मोरङले सोमबार साँझ उनलाई थुनामा पठाउन आदेश दिएको हो। शिक्षक पौडेलले छात्रालाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि उग्र बनेको आन्दोलन हिंसात्मक झडपमा परिणत हुँदा गत चैत ६ गते महिला प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको थियो। गोली हानेर उनको हत्या गरिएको पत्ता लागेको छ। प्रहरीले भने उत्तेजित भीडबाट प्रहार भएको गोलीले श्रेष्ठको मृत्यु भएको बताउँदै आएको छ। महिला प्रहरीको हत्या भएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका १६ जना नाबालकलाई जिल्ला अदालत मोरङले अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बनाइएका एक र अभद्र व्यवहारको मुद्दा चलाइएका १५ गरेर १६ जना नाबालकलाई अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो। जिल्ला अदालतका सूचना अधिकारी बुढाथोकीका अनुसार इजलासको आदेशअनुसार सबै नाबालकलाई अभिभावकको जिम्मा लगाइसकिएको छ।
लेटाङ घटनामा संलग्न भएको आरोपमा हालसम्म ७२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। महिला प्रहरीको हत्या भएको लेटाङ घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये १५ जनाविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो। मुद्दा दर्ता गरिएकामध्ये १० जनामात्रै पक्राउ परेका छन्।