काठमाडौं– आफूलाई सरकारले गरेको निलम्बनविरूद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि आजबाट सर्वोच्च अदालतमा सुनुवाइ सुरू हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा आज पहिलो सुनुवाइ हुन लागेको हो।
अधिकारीको पक्षमा वरिष्ठ अधिवक्ताहरूले बहस गर्ने भएका छन्। वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, शम्भु थापा, हरिहर दाहाल, तुलसी भट्ट, सुशील पन्त, सतिशकृष्ण खरेल, सुरेन्द्र थापा, हरि उप्रेती र कृष्णप्रसाद भण्डारीले उनको पक्षमा बहस गर्ने बताइएको छ। अधिवक्ता टीकाराम भट्टराईले पनि अधिकारीको पक्षमा बहस गर्नेछन्।
सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको भन्दै गभर्नर अधिकारीले आइतबार रिट दायर गरेका थिए। उनको रिट हिजो दर्ता भएर आज पेसी तोकिएको हो। अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्।