काठमाडौं- चितवनकी १९ वर्षीया युवती महानगरीय प्रहरी अपराध महाशाखामा प्रमाणसहितको लिखित उजुरी दिँदै थिइन्। अपरिचित व्यक्तिले फेसबुकबाट आफूसँग यौन सम्पर्क नगरे अश्लील तस्बिर सार्वजनिक गरिदिने धम्की दिएपछि उनी महाशाखा पुगेकी थिइन्।
भक्तपुरका एक शिक्षक निवेदनसहित छोरो लिएर महाशाखा आएका थिए। अपरिचित एकाउन्टबाट उनका छोराको तस्बिरसहित 'पैसा ठगेर भागेको र देख्नु हुनेले खबर गर्न' अनुरोध गरी फेसबुकमा पोस्ट भएको थियो।
अर्का १५ वर्षीय किशोर महाशाखाका प्रहरी निरीक्षक लीलाराज डाँगीलाई मोबाइल देखाउँदै भन्दै थिए, 'अंकल, त्यो पैसा लिने ह्वाट्स एपको अनलाइनमा छ।' चिठ्ठा परेको बताउँदै तीन लाख २० हजार रुपैयाँ ठगिएपछि उनी आमासहित उजुरी दिन आएका थिए।
साइबर अपराधका घटना कसरी बढिरहेका छन् भन्ने देखाउँछन्, माथिका तीन घटनाले। सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै अपराधका घटना पछिल्ला चार वर्षमा ४१२.१३ प्रतिशतले बढेको तथ्यांकले देखाउँछन्।
नेपाल प्रहरीका अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले साइबर अपराधका उजुरी बुझ्ने र अनुसन्धान गर्दै आएका छन्। ०७१ सालमा साइबर क्राइम हेर्ने अलग्गै पिलर स्थापना गरी कारवाही अगाडि बढाउँदा पनि अपराध घट्नु साटो बढ्दो क्रममा देखिन्छ।
जस्तो- ०७१ सालमा उक्त अपराधका तीन सय पाँच वटा मुद्दा चलाइएको थियो। ०७२/७३ मा १७२.१३ प्रतिशतले बढेर आठ सय ३० वटा मुद्दा दर्ता भए। ०७३/७४ मा २४.२२ प्रतिशत बढेर ११ सय ९७ र ०७४/७५ मा ८२.२८ प्रतिशतले बढेर १५ सय ७२ साइबर क्राइमका मुद्दा चलाइएको महाशाखाको तथ्यांकले देखाउँछ।
यस्ता अपराधका घटना छानविनका लागि जनशक्ति र प्रविधिको अभाव चुनौतीपूर्ण रहेको प्रहरीले बताउँदै आएको छ। महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेती भन्छन्, 'सामाजिक सञ्जालहरूको कार्यालय नेपालमा नभएका कारण समन्वय गर्न कठिनाइ बेहोर्नुपरेको छ।' सोही कारण पूर्ण नियन्त्रणमा ल्याउन नसकिएको एसपी उप्रेतीको भनाइ छ।
अलग्गै पिलर स्थापना गरी कारवाही अगाडि बढाउँदा पनि अपराध घट्नु साटो बढ्दो क्रममा।
कस्ता-कस्ता आउँछन् उजुरी
श्रीमान-श्रीमती वा प्रेमी-प्रेमिकाबीच सहमतिमा खिचिएका गोप्य तस्बिर र भिडियोलाई 'बार्गेनिङ' या धम्क्याउने माध्यम बनाइने गरेको छ। सम्बन्ध राम्रो हुन्जेल समस्या आउँदैन। जब सम्बन्ध चिसिन थाल्छ, तिनै तस्बिर र भिडियो धम्क्याउने माध्यम बन्छन्।
नचिनेको व्यक्तिसँग सामाजिक सञ्जालमा साथी बन्ने, पैसा माग्ने र अश्लील क्रियाकलापका लागि बाध्य बनाउने प्रवृत्ति अत्यधिक देखिएको छ। फेसबुक र म्यासेन्जरमा लिंक पठाएर धम्क्याउँदै पासवर्ड लिने अनि एकाउन्टको दुरुपयोग गर्ने धम्की दिने प्रवृत्ति पनि देखिएको छ।
सामाजिक सञ्जालमार्फत् चिठ्ठा परेको बताउँदै ठगी गर्ने, 'सोर्स कोड' चोरी गरी बिक्री गर्ने, डाटा मेटाउने, गलत इमेलमार्फत् पत्राचार गरी ठग्ने, वेबसाइट ह्याकिङ गर्ने, एटीएममार्फत् चोरी गर्नेजस्ता उजुरी बढेका छन्।
यस्ता अपराधको उद्देश्य प्रतिशोध, आर्थिक प्रलोभन तथा अर्काको आत्मसम्मानमा ठेस पुर्याउने बढी देखिएको प्रहरी निरीक्षक डाँगी बताउँछन्।
पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत् राजनीतिक तथा ख्यातिप्राप्त व्यक्तिहरूलाई गाली/बेइज्जतीका घटना बढेका छन्। प्रहरीले त्यस्तो प्रवृत्तिमाथि अंकुश लगाउन कारवाही नथालेको होइन। तर, घट्नु साटो बढ्दो क्रममा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४