मेरा दुःख सुखमा सर्वदा सामेल हुने एक सेट साथीहरु छन्। ती मेरा जीवनका ऊर्जा हुन्,सिर्जनशीलताका स्रोत हुन्। तिनको बेहिसाब हार्दिकता मेरो जिन्दगीको यति विशाल आर्जन हो कि यसले फोब्र्सको सूचीको उपल्ला सिंढीमा विराजमान एलन मस्क र बिल गेट्सहरुमा हीनभावना पैदा गराउन सक्छ। अर्बौं पृथ्वीवासीलाई गरिबीको भड्खालोमा जाकेर समृद्धिको चुली टेकेका ती निर्लज्ज र निर्दयीहरुसँग,मेरा साथीहरुको कदापि तुलना हुन सक्दैन,जो आफ्ना समस्त दुःख र सङ्घर्षसाथ स्वप्नशील जिन्दगी बाँचिरहेका छन्। जो पारिजात पढ्छन् र पारिजातलाई प्रेम गर्छन्।
पारिजात- अपराजित पारिजात। पारिजातका अगाडि प्रायः गाँसिने यो अपराजिता भन्ने शब्द मलाई कसो कसो असहज लाग्छ। कता–कता पारिजातको योद्धापनलाई पितृसत्ताले स्त्रैण कित्तामा धकेली दिएर उनको अवमूल्यन गरेजस्तो। त्यसैले म उनलाई अपराजित पारिजात भन्छु। महिलाका निम्ति आकार वा यस्तै केही थपेर छुट्टै विशेषणहरुको किन इन्तजाम गर्नुपर्ने होला? नायक भने भइहाल्थ्यो, नायिका किन भन्नुपर्ने होला? गायिका, लेखिका किन भन्नुपर्ने होला? विशेषणहरुको महिलाकरण सायद महिलालाई ‘साइज’मा राख्ने बद्राजनीति हो।
पारिजात सिर्जन सम्मानका लागि म कति लायक मान्छे हुँ, कति सही मान्छे हुँ, कति योग्य मान्छे हुँ,म जान्दिनँ। यत्ति जान्दछु,मैले धेरथोर जे लेखेको छु,जीवनवादी आन्दोलनहरुका पक्षमा लेखेको छु,तिनमा सरिक हुन लेखेको छु,तिनमा सरिक भएर लेखेको छु। जसरी पारिजातको लेखन- ‘शिरीषको फूल’लगायत विचलन–पलायन–कुण्ठा–विसङ्गति जनाउकर्ता केही रचनालाई छोडेर- तमसद्वेषी र उज्यालो–अन्वेषी लेखन हो,मेरो लेखन पनि मेरो बुता बमोजिमको तमसद्वेषी र उज्यालो–अन्वेषी लेखन हो। बस्। यस दाबीमा कहीँकतै अहंकार झल्किए म यथोचित विनम्रतापूर्वक भन्छु- हरेक तानाशाही अन्धकारविरूद्ध सडकमा गोली थाप्न निक्लने कविताहरुको जुलुसमा मेरो पनि कविता हिँडेकाले मलाई यति दाबी गर्ने हक छ। र,मेरो यस दाबीमा मेरा एक सेट साथीहरुका तर्फबाट कुनै पृथक मत अभिलिखित छैन।
मैले पारिजात सिर्जन सम्मान पाउने खबर सार्वजनिक भएको एकाध घण्टापछि नै हामी बागबजारस्थित उज्ज्वल पासाको सुप्रसिद्ध नेवार खाजा घरमा भेला भयौं। सुप्रसिद्ध किनभने,त्यहाँ सर्वश्री विमल निभा,नारायण ढकाल,भूपाल राई,श्रवण मुकारूङ,नारायण वाग्ले,राबत,राजु स्याङ्तान,शकुन्तला जोशी,आन्बिका गिरीलगायत ख्यातनाम कवि–लेखकहरु पुगेका छन्। खेदजन्य विषय के छ भने आफ्नो खाजा घरमा नेपाली वाङ्मयका कस्ता हस्तीहरु आइरहेका छन् ?उज्ज्वल पासालाई केही पनि थाहा छैन।
त,हामीले त्यहाँको विशेष खाजा भुटुन–चिउरा खाएर पारिजात सिर्जन सम्मान सेलब्रेट गर्यौं। भुटुन मलाई विशिष्ट परिकार लाग्छ। बडो मेहनतपूर्वक सफा गर,राम्ररी काट,पकाउँदा आँचको सन्तुलनमा हेक्का राख। मानौं,मान्छेका सारा श्रम र शिल्पको भुटुनले परख र परीक्षण गर्छ। जनपक्षीय लेखकको नामसँग जोडिएको सम्मान मैले प्राप्त गर्नु र जनपक्षीय खाजा भुटुन–चिउरा खाएर साथीहरुसँग उत्सव मनाउनु,म पूर्णतः खुसीमा थिएँ।
त्यसपछि बधाईको ओइरो लाग्यो। देशका सातै प्रदेशबाट बधाई आयो,विदेशबाट आयो। कतार,यूएई,अस्टे«लियाबाट आयो। तर,मनबाट एक बित्ताको पनि दूरीमा नरहेको एक जना प्रिय साथीबाट बधाई आएन। सम्मान घोषणाको दुई तीन दिनपछि अचानक फोन आयो,तर बधाई आएन। उसले नसहितसहित भन्यो,“कविहरुले पुरस्कार पाए भने मलाई डर लाग्छ। कुरा त बुझ्यौ होला ?”
म उसको कुरा बुझ्दछु। उसको डर बुझ्दछु। पुरस्कारले मलाई बिगार्ला भन्ने उसको चिन्ता पनि बुझ्दछु। पुरस्कार आधारभूत रुपमा असल चिज हो कि खराब ?मलाई थाहा छैन। किनभने,यो पुरस्कार विभागमा म नयाँ–नयाँ रिक्रुट हुँ,रिकुटे भन्छन् नि पहाडतिरको भाषामा। त्यो साथीको नाम मैले भनिदिनैपर्छ। नेपाली कविताको राम्रो पाठक हो ऊ। र,उसको नाम उज्ज्वल प्रसाई हो।
ठीक यतिखेर म चौतर्फी सङ्कटमा छु। मान्छेका रुपमा,कविका रुपमा,लेखकका रुपमा। भात–रोटीको आदिम सङ्कट छँदै छ। वैचारिक रुपले आफूलाई जोगाउनुपर्ने सङ्कट छँदै छ। पल प्रतिपल प्रतिगामी बन्दै गइरहेको समाज छ,एकातिर। तर,पारिजातले बेहोरेका संकटहरुका तुलनामा मेरा संकट के हुन् र ?
पारिजात मलाई फिनिक्स चराजस्तो लाग्छ। ‘शिरीषको फूल’को खरानीबाट ‘अनिंदो पहाडसँगै’का रुपमा उनी पुनः जन्मिइन्। अनि,त्यसपछि चैत्र ३ को त्यो अदम्य साहस। कालो पट्टीको हतियारले सत्तासँग भिडेको त्यो दिन,उनले सारा नेपाली वाङ्मयको शिर उँचो बनाइदिइन्।
पारिजातलाई मैले भेट्न पाइनँ। आहुतिको चहकिलो स्मृति–लेख ‘मैले भेटेका नौ बहिनी पारिजात’को आलोकमा यति चाहिं अनुमान गर्न सक्छु,उनी मेरी दिवंगत दिदीजस्तै मायालु थिइन्। यसरी पनि म उनीसँग मनोजगतमा जोडिएँ।
अघि नै भनें,म चौतर्फी सङ्कटमा छु।
त्यसमाथि अब अर्को सङ्कट थपिएको छ- पारिजात सिर्जन सम्मान। पारिजातजस्तो विराट प्रतिभा,उदात्त र भव्य मान्छेको नामसँग जोडिनु मेरा निम्ति सङ्कटसिबाय अरु के हुन सक्ला ?
मेरो समयका गुमनाम चोक र गल्लीहरुका मौखिक इतिहासमा अब मेरो नाम पनि फलामका अक्षरमा उच्चारण गरिनेछन्।
फलामका अक्षरमा किनभने,
मलाई ‘सुन’मा कुनै पनि खालको अभिरूचि छैन।
मेरा साथीहरु हो,अब तिमीहरुका काँधमा पनि एउटा जिम्मेवारी आइपरेको छ। मलाई खिया लाग्नबाट जोगाउने जिम्मेवारी। त्यसका निम्ति तिमीहरुले मलाई सिर्जनशील क्रियाशीलताका निम्ति हर पल दबाब दिइरहनुपर्छ। भुटुन–चिउरालाई साक्षी राखेर यति काम तिमीहरुले गरिदिनैपर्छ। अन्तमा पारिजात स्मृति केन्द्रलाई धन्यवाद।
(२०७९ वैशाख ५ गते पारिजात सृजन सम्मान ग्रहण गरिसकेपछि कवि केसीले व्यक्त गरेको मन्तव्य।)