काठमाडौं– स्पेनिस लिग ला लिगामा आज राति बार्सिलोनाले कडिजविरुद्ध खेल्दैछ। खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा राति १२ः४५ मा सुरु हुनेछ।
पछिल्लो समय घरेलु लिगमा उत्कृष्ट लयमा रहेको बार्सिलोनाले आज कडिजलाई पनि पराजित गर्दै आफ्नो लिगमा अपराजित यात्रा कायमै राख्ने दाउमा रहेको छ। पछिल्लो समय बार्सिलोना आफ्नो घरेलु मैदानमा अपराजित रहेको छ।
३० खेल खेलेको बार्सिलोना ६० अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ। कडिजको भने ३१ खेल खेल्दा २८ अंक मात्र रहेको छ र तालिकाको १८औं स्थानमा छ। सिजनको अन्तिम चरणमा आइपुग्दासम्म बार्सिलोना शिर्ष स्थानको रियल मड्रिडभन्दा १५ अंकले पछाडि रहेको छ। त्यसैले बार्सिलोनाको यस पटक लिग जित्ने सम्भावना गणितीय रुपमा मात्र बाँकी छ।
३१ खेल खेलेको रियलको ७५ अंक रहेको छ। रियलले अब ३ खेल मात्र जिते पनि उपाधिका लागि पर्याप्त हुने छ। उपाधि जित्ने सम्भावना नभए पनि बार्सिलोना दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गर्ने योजनामा छ।