बुधबार, वैशाख २६, २०८१

गोरेटोमा भेटिने एक जोडीको प्रेमकथा : घुमीघुमी

सुजन चापागाईंले मेलोडी बनाएका थिए। त्यो मेलोडीमा शब्दका लागि सुजनले हर्कलाई सम्झिए। हर्कले गाउँ सम्झिए अनि गीत कोरे।
 |  सोमबार, वैशाख ५, २०७९

राज सरगम

राज सरगम

सोमबार, वैशाख ५, २०७९

काठमाडौं– ‘घुमी घुमी’, गीत कोरिरहँदा हर्क साउदले मामाघर खुबै सम्झिएका थिए। स्थायी घर डोटी जिल्ला हो उनको। बाल्यकालमा एक घण्टाको उकालो गोरेटो उक्लिएर मामाघर आउजाउ गर्थे। जाँदा–आउँदा कोही न कोही भेटिन्थे बाटोमा। कोही लेक जाँदै गरेका, कोही सहर झर्दै गरेका, कोही आफन्तलाई भेट्न जाँदै गरेका। या वल्लोपल्लो गाउँका मिल्ने साथीहरूलाई भेट्न जाँदा भेटिएका हुन्थे। कसैले भारी बोकेका हुन्थे। ‘बूढा मान्छेहरू छिट्छिछो हिँड्न सक्दैनन्। उनीहरु लौरो टेकेर बिस्तारै–बिस्तारै जाने हुन्। त्यही दृष्य सम्झिएर घुमीघुमी लेखेको हुँ,’ हर्कले गीत लेखनको सन्दर्भ खुलाए।

triton college

सुजन चापागाईंले मेलोडी बनाएका थिए। त्यो मेलोडीमा शब्दका लागि सुजनले हर्कलाई सम्झिए। हर्कले गाउँ सम्झिए अनि गीत कोरे। आफ्नै उकालो–ओरालो गर्दै हिँडेको गोरेटो सम्झिए। उनले जे सम्झिए, त्यसैलाई अभिनय पनि गरे। 

साउदका सबै गीत हिट छन्। नेपाली सांगीतिक क्षेत्रमा उनको गीत खोज्ने थुप्रै छन्। कोमल र सरस शब्दलाई धागोमा फूलको थुुँगा जोडेझैं शब्द जोड्छन् र गीत बनाउँछन् उनी। ‘चालिस कटेसी रमाउँला’,  ‘के माया लाग्छ र’ ‘बटौली’ जस्ता उनका थुप्रै गीत चर्चित छन्। 

यो गीतमा भने पहिला मेलोडी तयार थियो। गायक सुजनले मेलोडी सुनाएपछि हर्कले शब्द कोरेका हुन्। ‘घुमी घुमी’ मा सुजनले लोक जिन्दगीको पाटो केलाउने कोसिस गरेका छन्। संगीत पनि सुजनकै छ। ‘तीनपाते’ गीतबाट चिनिएका सुजनका पछिल्ला गीत उत्तिकै लोकप्रिय छन्। ‘घुमीघुमी’ अहिले चर्चामा छ। यसमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन्। मिडियासँग बोलेर भन्दा पनि सिर्जनामार्फत बोल्न रुचाउँछन् सुजन। बजारमा ‘घुमीघुमी’ ल्याएर उनी चुपचाप घुम्न निस्किए। ‘भिडियोको बारेमा निर्देशकलाई सोध्दा राम्रो होला’ भनेर पन्छिए। सायद गीतलाई भिडियो मार्फत अझै न्याय गर्न खोजिएको लाग्छ उनलाई। 

०००

corrent noodles
Metro Mart

भक्ते र सरू छिमेकी हुन्। भक्ते (विपिन कार्की) सोझो छ, केटाकेटी पाराको छ। निर्दोष छ। आफूले मन पराएकी युवती सरू (अञ्जना बराइली)सँग मनको कुरा भन्न लाज, डर, संकोच मान्छ। तर लुकीलुकी प्रेम गरिरहन्छ। ऊ एकोहोरो प्रेममा समर्पित छ। सरूलाई थाहा छ भक्तेले आफूलाई मन पराउँछ भन्ने। सरू पनि सोझो भक्तेलाई मन पराउँछे तर भन्न सक्दिन। गाउँको उकालो–ओरालो गर्ने क्रममा आक्कलझुक्कल भेटिने भक्ते र सरूको प्रेम सरूको बालाई मन पर्दैन।

सोझो भक्तेका कारण छोरी बिग्रिने डरले छोरीलाई लिएर अर्को गाउँमा बसाइँ सर्छन्। गाउँमा कि धनीहरु बसाइँसराइ गर्छन् कि गरिब भएर बसाइँ सर्छन्। तर, सरूका बा भने सामाजिक विभेदबाट बच्न छोरी लिएर बसाइँ सर्छन्। यो गीतमा गाउँ छोड्नुको कारण सामाजिक विभेद हो भन्छन् गीतकार साउद। भन्छन्, ‘आफ्नी छोरी प्रेममा बिग्रिने भई, विभेद खेप्नुपर्छ भन्ने मनोदशाबाट ग्रसित भएको परिवारले गाउँ छोडेको हो।’

सुजन चापागाईंले मेलोडी बनाएका थिए। त्यो मेलोडीमा शब्दका लागि सुजनले हर्कलाई सम्झिए। हर्कले गाउँ सम्झिए अनि गीत कोरे।

गाउँ छोडेर गएकी प्रेमिकाको जीर्ण घरलाई सिँगार्दै बस्छ भक्ते। एकदिन गोरेटो–गोरेटै सरूका बा र सरू फर्किन्छन्। आँगनमा चामल केलाइरहेको भक्तेको अगाडि उभिएकी सरूलाई बस्न ठेउको दिन लाग्दा तिलहरि फिर्ता गर्न खोज्छे सरू। त्यही तिलहरि लगाएर प्रेम विवाहमा परिणत हुन्छ। प्रेममा मिलन हुनछ।

छोरीको बाउको भूमिकामा उनै गीतकार साउदले अभिनय गरेका छन्। गाउँबाट देखिने पहाडको ढिस्को छ। त्यो ढिस्को उक्लिने गोरेटो बाटो छ। गोरेटो प्रेमको प्रतीकका रूपमा साउदले गीतमा टिप्न खोजेका छन्। भन्छन्, ‘चढ्ने र झर्ने त गोरेटो बाटै हो। आउनेजानेसँग भेट हुन्छ। कहिलेकाहीँ एक्लै पनि हिँड्नुपर्छ। त्यो गोरेटो झर्दै गरेको गाउँबाटै देखिन्छ।’

सुस्तै सुस्तै चढ्यो उकालीको बाटो

बोकी आउनु एक मुठी माया रित्तै आउनु साटो

सरू र भक्ते पात्र लेखक सरुभक्त श्रेष्ठको नामलाई सापटी लिएको स्वीकार्छन् गीतकार। यो नामको क्रेडिट पनि दिएका छन् युट्युब च्यानलको तल। हर्क भन्छन्, ‘सरूभक्त नाम प्रेमको बिम्ब जस्तो लाग्यो। यो नामलाई सापटी लिएर कथा भन्दा अझै प्रिय हुने लागेर यसो गरेको हो।’

१७ मिनेट २८ सेकेन्डको म्युजिकल फिल्मलाई निर्देशन गरेका छन् नवीन चौहानले। कथा पनि उनै चौहानको हो। भिडियोमा अभिनेता विपिन कार्की र कलाकार अञ्जना बराइलीको जबर्जस्त अभिनय देख्न सकिन्छ। निर्देशक चौहानसँग विपिनको यो दोस्रो सहकार्य हो। यसअघि चौहानले निर्देशन गरेका गीति भिडियो ‘बटौली’मा विपिनले नै अभिनय गरेका थिए। यस भिडियोमा बारम्बार दोहोरिने दृष्य हो पहाड चढ्ने गोरेटो। त्यो गोरेटो इरानी फिल्म निर्देशक अब्बास कियारोस्तामी फिल्मको दृष्यबाट प्रेरणा पाएको बताउँछन् गीतकार साउद। भन्छन्, ‘अब्बास कियारोस्तामीलाई हामीले क्रेडिट पनि दियौं। इन्स्पायर त हुन पाइन्छ नि।’

०००

भिडियोको कथा लेखेका हुन् निर्देशक नवीन चौहानले। दृष्यमा बसाइँसराइको आन्तरिक पाटा र यसका प्रभावबारे केलाउँदै लोक संस्कृति, लोक विचार, लोक भावनाका कुराहरू भन्न खोजेको बताउँछन् चौहान। भन्छन्, ‘प्रेमको सौन्दर्यलाई कथाले नजिकबाट नियाल्न प्रेरित गरेको छ। मलाई हाम्रो नेपाली समाजको दुईवटा कुराले बिथोलिरहेको थियो। एक– आन्तरिक बसाइँसराइ अनि यसले निम्त्याएका भौतिक पाटा, सामाजिक पाटा अनि भावनात्मक पाटा।

अर्कोचाहिँ हाम्रो लोकजीवन कतै अल्मलिएजस्तो, लोक भाषाले आफ्नो पहिचान गुमाउँदै गरेजस्तो। चलचित्र, गीतहरुले पराइ शैली अँगालिरहेजस्तो अनि लोकविचार, लोक बुझाइ ओझेल पर्दै गएजस्तो। केही खिप्न मन थियो, केही भन्न मन थियो। त्यो बेला म आफैं आवाजको खोजीमा थिएँ। हर्क दाजु र सुजन भाइले दोस्रो लकडाउनमा यो लोक गीतको पहिलो ड्राफ्ट सुनाउँदा मैले सोही आवाज भेटेझैँ भयो अनि हामीलगायत हाम्रो मनमीत समूह लोक सांगीतिक यात्रा  घुमी घुमीको यात्रामा निस्कियौँ।’

निर्देशक चौहानका अनुसार यसपालि निर्माण टिमले ‘एनामोर्फिक लेन्स’ को प्रयोग गरेको छ। विपिन कार्कीको अभिनयले मन छुन्छ। बोल्न डराउने, लजाउने। केटीको अगाडि डराउने। मुख बिगारेर बोल्ने र आफूले मन पराएको युवती गएपछि बाख्राको पाठो समाएर फर्किएको दृष्य मार्मिक छ। साथै बाख्राको पाठा माउ भएसँगै प्रकृति फेरिएको देखाइन्छ। आफ्नी प्रेमिकाले छोडेर गए पनि प्रेमिका बस्ने घरलाई रङरोगन गरेर सुन्दर बनाएको छ। 

म्युजिकल फिल्ममा विपिन र अञ्जनासँगै सम्रान्त थापा र हर्क साउदको पनि अभिनय छ। गीतलाई गंगा थापाले एरेन्ज तथा पार्श्व संगीत गरेका हुन् भने मिक्सिङ–मास्टरिङ कोबिद बज्रले गरेका हुन्। भिडियोलाई महेश पौडेलले खिचेका छन् भने सुरज पौडेलले सम्पादन गरेका हुन्।

प्रकाशित: Apr 18, 2022| 17:07 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।